Classified Ads
कोभिड-१९ अपडेट

बहसमा काठमाडौं–पाँचखाल विद्युतीय रेलमार्ग

Posted in पाँचखाल, विविध on Feb06,2019


Source: nayapatrikadaily.com

उचाइ र गहिराइको भूधरातल नमिलेर केरुङ–काठमाडौं रेलमार्ग नबन्ने भयो भने बनाउनैपर्ने रेलमार्ग काठमाडौं–पाँचखाल हाे

नेपालमा अहिले विकासका शब्दचित्र कोर्ने काम भइरहेको छ । पत्रपत्रिकामा यस्ता चित्र छ्याप्छ्याप्ती आइरहेका छन् । केहीले बोलेर व्यक्त गरेका छन् भने केहीले लेखेर । केरुङबाट रसुवागढी र त्रिशूली उपत्यकाको विदुर हुँदै शिवपुरीको फेदीमा सुरुङ खोपेर फुत्त टोखामा निस्कने चिनियाँ रेल कोरिसकिएको चित्र हो । त्यस्तै टोखाबाट धादिङको बैरेनी हुँदै पोखरा र बैरेनी हुँदै लुम्बिनी, यो पनि कोरिसकिएकै चित्र हो । मेची–महाकाली, रक्सोल–काठमाडाैं, जनकपुर–बर्दिवास यी पनि कोरिसकिएका चित्र हुन् । बाँकी चित्र कोरिँदै जालान् । यो आलेख भने काठमाडौं उपत्यकाबाट पूर्वतर्फको यात्रामा लक्षित छ ।

केन्द्र केन्द्रकै रूपमा विकसित भइरहन उसले आफूवरिपरिका क्षेत्र र उपक्षेत्र जोड्नुपर्छ । त्यो पनि द्रुत वेगका सवारी–साधनमार्फत । स्थलमार्गमा रेल नै छिटोछरितो साधन हो । सुनिन्छ, जापान र चीनमा एक घन्टामा चार सय किमि गतिका बुलेट ट्रेन दौडन्छन् । काठमाडौंले आफ्ना वरिपरिका चार ढोका खोल्न ढिला भइसकेको छ । ती ढोका उत्तरमा नुवाकोटको त्रिशूली, पश्चिममा धादिङको बैरेनी, दक्षिणमा मकवानपुरको हेटौंडा र पूर्वमा काभ्रेको पाँचखाल हुन् । जनसांख्यिक चाप, माग र आपूर्तिको सन्तुलनका लागि माथिका चार बिन्दुहरू रेलमार्गले जोडिन आवश्यक छ ।

समुद्री सतहबाट १३ सय मिटर उचाइमा रहेको काठमाडाैं उपत्यका, १३५० मिटर उचाइमा रहेको बनेपा उपत्यका र ८८५ मिटर उचाइमा रहेको पाँचखाल उपत्यकालाई जोड्ने यो रेलमार्ग काठमाडौं उपत्यकाका लागि पूर्वको ढोका हो । काठमाडौ देशको राजधानी हो भने काभ्रे दूध र तरकारीको राजधानी हो । टोखाबाट सुरु हुने यो रेलमार्ग बौद्ध, जोरपाटी, मध्यपुर ठिमी, भक्तपुर र बनेपा सहरको उत्तरी भेग हुँदै चण्डेश्वरी मन्दिरको आसपासबाट ओरालो सुरुङमार्ग हुँदै पुर्वपट्टि रविगाउँ निस्कनेछ ।

यो सुरुङ करिब एक किलोमिटरको हुनेछ । रविगाउँबाट झरेको रेलमार्ग दोभानापाटीमा अग्लो पुल हाली अनेकोट टाँकेडिही तर्नेछ । त्यसपछि तीनकुने, तामाघाट र श्रीरामपाटीको उत्तरी भेग हुँदै पाखैपाखा आँपघारीआसपास पुग्नेछ । यसरी टोखादेखि पाँचखाल आँपघारीसम्मको दुरी करिब ४० किमि हुनेछ ।

यस रेलमार्गको बनेपाबाट एउटा शाखा धुलिखेल हुँदै दक्षिणतिर पनौती र खोपासीसम्म लम्बिनेछ । अर्को शाखा पाँचखालबाट कुन्ता, सिपाघाट हुँदै मेलम्चीसम्म पुग्नेछ । इन्द्रावतीको दक्षिणी किनारामा सडकमार्ग छ भने उत्तरी किनारा हुँदै रेलमार्ग जानेछ । भविष्यमा पाँचखालको रेल्वे स्टेसनबाट दुईवटा रणनीतिक महŒवपूर्ण रेलमार्ग दुई दिशातर्फ लाग्नेछन् । एउटा मार्ग उत्तरपूर्व दिशातिर सिन्धुपाल्चोकको चौताराआसपास हुँदै तातोपानी नाका पुग्नेछ ।

पहाड आउँदा सुरुङभित्र पस्नु र नदी आउँदा किनाराबाट हिँड्नु रेलमार्गको भौगोलिक बाध्यता हो । यो रेलमार्ग केरुङ–काठमाडौं रेलमार्गको विकल्प पनि हो । यदि उचाइ र गहिराइको भूधरातल नमिलेर सो रेलमार्ग नबन्ने भयो भने बनाउनैपर्ने रेलमार्ग यही हो । अर्को रणनीतिक महत्वको शाखा भने पाँचखाल–बर्दिवास रेलमार्ग हो । यो रेलमार्ग ८८५ मिटरको उचाइबाट करिब १०० मिटर गहिराइमा झर्नेछ ।

सुनकोसी नदीको एकापट्टिको किनारबाट बिपी राजमार्ग गएको छ भने अर्कोपट्टिबाट यो रेलमार्ग बनाउन सकिन्छ । यो रेलमार्ग पाँचखाल उपत्यकाको दक्षिणपूर्व हुँदै अगाडि बढ्नेछ । भकुन्डे, रोसी किनार, सुनकोसी किनार हुँदै अगाडि बढ्ने यस मार्गमा महाभारत पर्वत र चुरेमा भने सुरुङ खोपिनेछ । सिन्धुलीको खुर्कोटबाट रामेछापको मन्थलीसम्म भने अर्को शाखा बन्नेछ ।

पूर्वीतराई र मध्यतराईलाई पाँचखाल उपत्यका हुँदै काठमाडौं जोड्ने हुँदा यो रेलमार्ग आर्थिक र सामाजिक विकासका लागि कोसेढुंगा सावित हुनेछ । काठमाडौं–पाँचखाल रेलमार्ग सञ्चालनपछि पाँचखालको आँपघारी रेल स्टेसनआसपासबाट माथि पलाञ्चोक डाँडासम्म केबलकार निर्माण गर्न सकिन्छ । त्यस्तै दोलालघाटबाट पलाञ्चोकसम्म पनि केबलकार निर्माण गर्न सकिन्छ । यसरी पलाञ्चोक भगवती क्षेत्रलाई धार्मिक पर्यटकीय हब बनाउन सकिन्छ ।

यसरी यस रेलमार्गका शाखा–प्रशाखा सञ्चालनपछि काठमाडौं, खोपासी, मेलम्ची, तातोपानी, बर्दिवाससम्मका यात्रु पलाञ्चोक भगवतीको दर्शन गर्न सजिलै आइपुग्नेछन् । पलाञ्चोक क्षेत्रका होक्से, साठीघर, खरेलथोक र कोसीदेखामा होमस्टे र होटेलको विकास हुनेछ । जलविहारमा रुचि राख्नेहरू भने भगवतीको दर्शनपछि केबलकारमार्फत दोलालघाट झर्नेछन् । दोलालघाटबाट सुनकोसी नदीमा जलविहार गर्दै बोहोरेदोभान वा खुर्कोटसम्म पुग्नेछन् ।

जापानले जमानामा रेलमार्ग निर्माण गर्दा जर्मनीको सहायता लिएको थियो । टोकियोबाट करिब २५ किमि टाढासम्म निर्माण गरिएको सो रेलमार्ग निर्माणमा आधा जर्मनी र आधा जापानी मानव संसाधन प्रयोग गरिएको थियो । यसरी जापानले पनि रेलमार्ग निर्माणसम्बन्धी अनुभव काम गर्दै सिकेको थियो । नेपालले पनि करिब ४० किमिको यो रेलमार्ग निर्माण गर्दा आधा विदेशी र आधा नेपाली मानव संसाधन प्रयोग गरी सिक्न सकिन्छ । रेलमार्गको राम्रो अनुभव भएका मित्रराष्ट्र जर्मनी, जापान वा चीनको सहायता लिन सकिन्छ ।

सीताराम सिपखान

२०७५ माघ २२ मंगलबार


Tweet