Classified Ads
कोभिड-१९ अपडेट

छोरी बीमा सप्ताह:पोहोरदेखि जन्मिएका छोरीको एक लाख रूपैयाँको बीमा

Posted in प्रदेश, प्रदेश २ on Jan15,2020


प्रदेश नम्बर २ सरकारले 'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान' अन्तर्गत सुरू गरेको 'छोरी शिक्षा बीमा शिविर' सप्ताह सुरू भएको छ।

योजनाको गत वर्ष फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अभियान उद्घाटन गरेकी थिइन्। वीरगंजको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उद्घाटन भएको कार्यक्रम प्रदेश २ का आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा एकैसाथ सुरू भएको छ।

शिविरको पहिलो दिन पर्सामा ६५, बारामा १ सय ४०, रौतहटमा ६५, सर्लाहीमा २ सय ४६, महोत्तरीमा ७४, धनुषामा ५२, सिरहामा ४० र सप्तरीमा १ सय ७ गरी बिहीवार ७ सय ८४ जनाको बीमा भएको छ। प्रदेश २ का आठ जिल्लामा महानगरमा चार दिन, उपमहानगरमा तीन दिन, नगरपालिकामा दुई दिन र गाउँपालिकामा एक दिन बीमा गर्ने काम हुनेछ।

शिविर चलेको स्थानमा २०७५ माघ १ पछि जन्मेका छोरीको जन्मदर्ता प्रतिलिपी र अभिभावकको नागरिकता लगे शिविरस्थलमै फोटो खिचेर २० वर्षका लागि एक लाख बीमांक रकमको बीमा खोल्ने काम सुरू भएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले बीमा शिविर सप्ताहको उद्घाटन गर्दै भने, ‘वर्षमा २५ हजार छोरीहरूको जन्म हुने भएतापनि गत वर्ष मात्र ९ हजारको हाराहारीमा बीमा भएको छ।’

उनले बीमाले छोरीको बालविवाहलाई रोक्ने र उसको उच्च शिक्षाको लागि सहयोग गर्ने बताए। कार्यक्रमका बोल्दै पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले अगामी दिनमा प्रदेश सरकारलाई बीमाको रकम बढाएर ५ लाखदेखि ७ लाखसम्म पुर्‍याउन सुझाव दिए।


Tweet