Classified Ads
कोभिड-१९ अपडेट

टाेक्याे ओलम्पिक २०२० स्थगित गर्ने सहमति

Posted in अन्तर्राष्ट्रिय, खेल, कोभिड-१९ अपडेट on Mar24,2020


कोरोना भाइरसको आतङ्‌क दिनानुदिन बढ्दै गएको अवस्थामा जापानी प्रधानमन्त्री अबे शिन्जो र अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)का अध्यक्ष थोमस बाच आगामी जुन २४ बाट सुरु हुने तय भएको टोकियो ओलम्पिक २०२० स्थगित गर्न सहमत भएका छन्।

मङ्‌गलबार बिहान आइओसी अध्यक्ष र जापानी प्रधानमन्त्री शिन्जोबीच भएको कन्फरेन्स कल छलफलमा यस्तो सहमति भएको आइओसी र टोकियो २०२० आयोजक कमिटीद्धारा जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा जनाइएअनुसार कन्फरेन्स कल छलफलमा टोकियो २०२० आयोजक कमिटीका अध्यक्ष मोरी योशिरो, ओलम्पिक मन्त्री हाशिमोतो सेइको, टोकियो सरकारका प्रमुख कोइके युरिको, आइओसी संयोजक कमिसनका प्रमुख जोन कोट्स, आइओसीका निर्देशक क्रिस्टोफ डी केपर र आइओसी ओलम्पिक गेम्सका कार्यकारी निर्देशक क्रिस्टोफ डुबीको पनि सहभागिता थियो।

छलफलका क्रममा आइओसी अध्यक्ष बाच र जापानी प्रधानमन्त्री शिन्जोले चीनको उहानमा पहिलोपटक देखिए पनि विश्वभर फैलिएर महामारीको रूप लिएको कोरोना भाइरस सङ्‌क्रमणको विषयमा चासो राखेका थिए। दुवै नेताले संसारभरका खेलाडीले यसको धेरै असर भोग्नुपरेकोमा दुःख व्यक्त गर्दै विश्वभरका मानिसहरूको सुस्वास्थ्यको कामना गरेका थिए।

‘अत्यन्तै मैत्रीपूर्ण वातावरणमा भएको छलफलमा दुवै नेताले टोकियो २०२० आयोजक कमिटीको कामको उच्च मूल्याङ्‌कन गर्दै कोभिड १९ विरुद्ध जापानले गरेको लडाइँको पनि प्रशंसा गर्नुभयो,’ विज्ञप्तिमा लेखिएको छ।

कोरोना भाइरसको अनपेक्षित विस्तार र विश्वले भोगिरहेको स्वास्थ्य सङ्‌कटकालको विषयमा हिजो विश्व स्वास्थ्य सङ्‌गठनका महाप्रबन्धक टेड्रोज एडहानोमले सोमबार आइओसी तथा जापानी आयोजकका अधिकारीहरूसँग कुरा गरेका थिए। उनले कोरोना भाइरसको महामारी रोकिने सङ्‌केत देखिनुको साटो यो झन् बढ्दै गएको अवस्थामा टोकियो ओलम्पिक रोक्नुपर्ने सल्लाह दिएका थिए।

विश्व स्वास्थ्य सङ्‌गठनको उक्त सल्लाहलाई मनन गर्दै जापानी प्रधानमन्त्री शिन्जो र आइओसी अध्यक्ष बाच ओलम्पिक सार्न सहमत भएका हुन्।

‘वर्तमान अवस्था र विश्व स्वास्थ्य सङ्‌गठनबाट प्राप्त सुचनाका आधारमा आइओसी अध्यक्ष र जापानी प्रधानमन्त्री टोकियो ओलम्पिक सार्न सहमत हुनुभएको छ। तर यो खेलकुद २०२१ को समरभन्दा पछि हुन नहुनेमा पनि सहमति भएको छ। खेलाडी, खेलकर्मी तथा ओलम्पिकमा सहभागि हुने सबैको स्वास्थ्य सुरक्षाका लागि यस्तो सहमति गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।


Tweet