Classified Ads
कोभिड-१९ अपडेट

बजारमा विषालु स्यानिटाइजर छापछापती, छालामा नियमित दल्दा आँखालगायतका अङ्गहरुमा जोखिम

Posted in राष्ट्रिय / सङ्घ, अर्थ / बजार, कोभिड-१९ अपडेट on Apr07,2020


कोरोना भाइरसको संक्रमणबाट जोगिन ‘ह्याण्ड स्यानिटाइजर’को प्रयोग गर्दै हुनुहुन्छ? होस गर्नुस्, बजारमा छापछापती उपलब्ध भइरहेका विषालु स्यानिटाइजरले ज्यान नै जोखिममा पार्न सक्ला ।

फर्मास्यूटिकल कम्पनीहरुले उत्पादन गर्दै आएका गुणस्तरिय स्यानिटाइजरहरुको यतिखेर मौज्दात सकिएपछि विषालु तत्वहरुको सम्मिश्रणबाट बनाइएका स्यानिटाइजरहरु औषधि पसल र कस्मेटिक पसलहरुमा जताततै पाइन थालेको छ ।

औषधि व्यवस्था विभागले हालै जारी गरेको ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर(अल्कोहलबेस्ड) स्तर, २०७६ मै नभएको सक्रिय तत्व राखेर बनाइएको स्यानिटाइजर बजारमा खुल्लेआम बिक्री भइरहँदा जनस्वास्थ्यक्षेत्रमा कार्यरत विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।

‘बजारबाट एक बोतल स्यानिटाइजर लिएर हाम्रो विभागमा एक जना उपभोक्ता आउनु भयो । यहाँको चासो यो स्यानिटाइजर गुणस्तरिय हो कि होइन भन्ने थियो’, काठमाडौ विश्वविद्यालय(केयु), स्कूल अफ साइन्सेज, फार्मेसी विभागका उपप्राध्यापक अनुप लुइँटेलले भने, ‘बोतलमा उल्लेख लेबल र सक्रिय तत्व हेर्दा हामी झसङ्ग भयौं । किनकी त्यसमा मेथानोल(मिथाइल अल्कोहल) थियो । मेथानोललाई विषालु मानिन्छ र यो स्यानिाइजरमा प्रयोग हुन्छ भनेर कुनै स्ट्याण्डर्ड एवं गाइडलाइनमा उल्लेख छैन’, उनले थपे ।

केयुको फार्मेसीको प्रयोगशालामा उपभोक्ताले ल्याएका इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको उत्पादन हो । सो कम्पनीले लेबुलमा अल्कोहल(मेथानोल ६८%) उल्लेख गरेको छ । नीलो र सेतो लेबुलमा ब्याच नम्बर ३, उत्पादन मिति मार्च २०२० र १ सय मिलीकाे खुद्रा मूल्य २ सय ९५ रुपैंया कम्पनीले ग्लोरिया ड्यू कस्मेटिकलाई मार्केटिङका लागि बनाएको देखिन्छ ।

यसैगरी, फरक ब्याचमा कायाकल्पले आफूले रिप्याकिङ गरेर प्यानसिया लाइफ साइन्सलाई मार्केटिङका लागि हरियो र सेतो लेबुलमा बनाएको देखिन्छ । काभ्रेको बजारमा दुई हजारभन्दा बढी बोतल यो ह्याण्ड स्यानिटाइजर भित्रिएको एक व्यापारीले बताए ।

दुबै बोतलको लेबुलमा नेपालकै पुरानो औषधि तथा केमिकल, खाद्य र माइक्रोवायोलोजिकल विश्लेषक कम्पनी जेष्ट ल्याबोराटरी एण्ड रिसर्च सेन्टरको नामसमेत उल्लेख रहेको छ । ‘कायाकल्प र उसको अर्को कम्पनी परेली आयुर्वेदले दुई प्रकारका ह्याण्ड स्यानिटाइजरको नमूना विश्लेषणका लागि ल्याबमा ल्याएको थियो । मेथानोल भएको स्यानिटाइजर विषालु हुने भन्दै विश्लेषण नगरि फिर्ता पठाएका थियौं । तर, बजारमा मेथानोल भएकै स्यानिटाइजरमा हाम्रो ल्याबको समेत नाम उल्लेख गरेर ल्याएको सुन्दा अचम्म भएँ’, ल्याबकी प्रबन्ध निर्देशक शोभा बस्नेतले भनिन् ।

बजारमा भेटिएको दुबै ब्याचका स्यानिटाइजरहरु औषधि व्यवस्था विभागले जारी गरेरको स्तर(स्ट्याण्डर्ड) र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको लोकल ह्याण्ड स्यानिटाइजरको फर्मूलेसनसँग मेल पटक्कै खाँदैन । उपप्राध्यापक लुइँटेल भन्छन्, ‘मेथानोल भएको यो स्यानिटाइजरलाई छालामा लगातार लगाउन पनि हुँदैन किनकी मेथानोलले शरीरभित्रसम्म विषालुपना ‘सिस्टेमिक टक्सिसिटी’ फैलाउँछ । यसबाट आँखा र अन्य अङ्गहरुमासमेत गम्भीर समस्या ल्याउँछ’, उनले थपे ।

मेथानोल भएको ह्याण्ड स्यानिटाइजरलाई हातमा नियमित प्रयोग गर्दा शरीरमा अत्यन्तै विषालुपना(क्रोनिक टक्सिसिटी) भित्रने भएकाले आँखालगायत शरीरका अन्य अङ्गहरुमा प्रतिकूल प्रभाव पार्ने तथ्यलाई अनुसन्धानलेसमेत पुष्टि गरेको छ । द यूनिभर्सिटी अफ हङकङका प्राध्यापक डा. थोमस वाइके चान र हङकङकै प्रिन्स अफ वेल्स हस्पिलका अनुसन्धानकर्ता अलान पिएल चानले जुलाई २०१८ मा गरेका अध्ययनमा समेत मेथानोलबाट बनेको ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न सुझाएका छन्, ‘मेथानोलयुक्त स्यानिटाइजर पटक पटक हातमा या छालामा प्रयोग हुँदा यसले ‘क्रोनिक टक्सिसिटी’ हुन्छ । आँखा नदेख्ने र अन्य अङ्गहरुमा समेत प्रतिकूल असर हुने भएकाले जनस्वास्थ्यलाई नकारात्मक असर पार्ने मेथानोलका स्यानिटाइजरलाई प्रयोग नगर्नू’, इन्टरनेसनल जर्नल अफ इन्भाइरोमेन्टल रिसर्च एण्ड पब्लिक हेल्थमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनले स्थानीयस्तरमै बनाउन सकिने ह्याण्ड स्यानिटाइजरका लागि इथानोल(इथाइल अल्कोहल) या आइसोप्रोपानोल(आइसोप्रोपाइल अल्कोहल) हुनपर्ने मापदण्ड तोकेको छ । यस्तै, औषधि व्यवस्था विभागको इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर(अल्कोहलबेस्ड) स्तर २०७६ ले पनि विश्व स्वास्थ्य सङ्गठनकै मापदण्ड हुनुपर्ने तोकेको छ । नेपालका फर्मास्यूटिकल कम्पनीहरु, फार्मेसी पढाइ हुने विश्वविद्यालयहरु र नेपाल विज्ञान तथा प्रविधि प्रत्रा प्रतिष्ठान(नाष्ट)ले समेत विश्व स्वास्थ्य सङ्गठनकै मापदण्डलाई अनुसरण गरिरहेका छन् ।

नोबल कोरोना भाइरसको संक्रमण विश्वव्यापी नहुँदासम्म नेपालमा ह्याण्ड स्यानिटाइजरको दर्ता र नियमन कसले गर्ने भन्ने कुनै नीति नहुँदा जोसुकैले आयात र फर्मूलेसन गर्दै आएको औषधि व्यवस्था विभागका सूचना अधिकृत एवं वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीको भनाई छ, ‘विभागमा दर्ता भएका औषधि उत्पादक र आयातकर्ताहरुबाहेकका अन्यले यही ‘ग्याप’को फाइदा उठाएर जथाभावी ह्याण्ड स्यानिटाइजर बनाउने र बजारमा ल्याउने गरेको उजूरीका आधारमा हामीले इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (अल्कोहल बेस्ड)को स्ट्याण्डर्ड, २०७६ जारी गरिसकेका छौं । अब यो स्ट्याण्डर्डविपरित हुने गरी कसैले पनि ह्याण्ड स्यानिटाइजर उत्पादन, आयात र बिक्री वितरण गर्न पाउँदैन’, उनले भने ।

बजारमा हाल विक्री भइरहको विषालु ह्याण्ड स्यानिटाइजरको बारेमा हालसम्म कसैले पनि विभागमा उजूरी नगरेको केसीको भनाई छ, ‘पहिलो पटक गलत फर्मूलेसनमा स्यानिटाइजर बनेको र बजारमा विक्री भइरहेको बल्ल थाहा भयो । यसबारेमा विभागले आवश्यक अनुसन्धान गर्छ साथै यसमा उपभोक्ता संरक्षण ऐनसमेत आकर्षित हुने भएकाले स्थानीय प्रशासनलेसमेत कारवाही अघि बढाउन सक्छन्’, उनले थपे ।

यसैवीच विभागले एक सूचनामार्फत ह्याण्ड स्यानिटाइजर उत्पादन, पैठारी, निकासी र विक्री वितरणमा संलग्न हुन चाहने व्यवसायी तथा फर्महरुलाई तीन महिनाभित्रमा आवश्यक अनुमति पत्र लिनका लागि निर्देशन जारी गरेको अवस्था छ ।

यो पनि पढनुहाेस:

https://kavrenews.com/1586337057389 स्यानिटाइजर बनाउन सिकाउँदै पनौती निवासी वैज्ञानिक


Tweet