Classified Ads
कोभिड-१९ अपडेट

स्यानिटाइजर बनाउन सिकाउँदै पनौती निवासी वैज्ञानिक

Posted in पनौती, राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Mar21,2020


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)को प्रयोगशालामा व्यस्त रहने वरिष्ठ वैज्ञानिक डा. सजनलाल श्याउलाको दैनिकीमा यतिखेर नयाँ जिम्मेवारी थपिएको छ, त्यो हो प्रयोगशालाबाहिरका समुदायलाई समेत अहिलेको जल्दोबल्दो समस्या नोबल कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ‘ह्याण्ड स्यानिटाइजर’ बनाउन सिकाउने ।

त्यही भएर नै कार्यालय समय अघि र पछि अनि बिदाका दिनमा समेत उनी कुनै न कुनै समुदायमा भेटिन थालेका छन् । त्यहाँ उनको काम भनेकै बजारमा उपलब्ध सामग्रीहरुबाट स्यानिटाइजर बनाउन सिकाउने रहेको छ । यसैवीच, पनौती नगरपालिका स्वास्थ्य शाखा र रोटरी क्लब अफ पनौतीको आग्रहमा शनिबार जन्मथलो पनौतीमा आएर श्याउलाले स्वास्थ्यकर्मी, शिक्षक र समुदायका अगुवाहरुलाई स्यानिटाइजर बनाउने तालिम दिए ।

उनी भन्छन्, ‘बजारमा विभिन्न खालका स्यानिटाइजरहरु पाइए पनि हामीले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले निर्धारण गरेको सामग्रीहरु र सूत्रमा आधारित रहेर स्थानीयस्तरमा स्यानिटाइजर बनाउन सिकाउने हो । अहिले हामीले बनाइरहेको स्यानिटाइजर इथानोलमा आधारित हो’, श्याउलाले थपे ।

पछिल्लो समय घरेलु रक्सीबाट पनि स्यानिटाइजर बनाउन सकिने चर्चा भइरहेको सन्दर्भमा उनले भने, ‘डब्लुएचओको मापदण्डअनुसार घरेलु रक्सीमा ८० प्रतिशत अल्कोहल भोलुम बाई भोलुमको मापनमा पुग्दैन । त्यसो भएकाले कि त घरेलु रक्सीलाई पुनः ‘डिस्टिलेसन’ गरेर तोकेको परिमाणमा पु¥याउनु पर्छ । अन्यथा बजारमा पाइने फर्माकोपियलस्तरको इथानोल प्रयोग गरेर स्यानिटाइजर बनाउनु पर्छ’, श्याउलाले भने ।

नास्टको प्रयोगशालामा घरेलु रक्सीलाई डिष्टिलेसन गरेर थप रसायनहरु प्रयोग गरी स्यानिटाइजर बनाइए पनि प्रयोगशालाबाहिर बनाउँदा तोकिएको मापदण्डमा नबन्ने भएकाले घरेलु रक्सीको साटो इथानल प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

उनी भन्छन्, ‘घरमा पारिएको रक्सीमा करिब ३६ प्रतिशत इथानोल मिसिएको हुन्छ । त्यो रक्सीलाई डिस्टिल गरी त्यसमा रहेको पानी निकालेर इथानोलको मात्रा ८० प्रतिशत भोलुम बाई भोलुम पु¥याउन सकिन्छ । त्यो मात्रा पुग्यो कि पुगेन भनेर अल्कोहलमीटरले मापन गर्न सकिन्छ । यसरी निकालिएको अल्कोहलमा डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार हाइड्रोजन परअक्साइड, ग्लिसिरोल र डिस्टिल वाटरको मिश्रणबाट स्यानिटाइजर बनाउन सकिन्छ’, श्याउलाले भने ।

यद्यपि नास्टले तयार पारेका र तालिम दिएर उत्पादन हुने स्यानिटाइजरहरु डब्लुएचओको मापदण्डअनुसार हुने भएकाले बजारमा पाइनेझैं वास्नादार, रंगीन र अन्य केमिकलहरु नमिसाइने उनको भनाई छ, ‘कुनै पनि स्यानिटाइजर हातमा दलिसकेपछि कम्तीमा ६ देखि ७ सेकेण्डसम्म बसिरहेमामात्रै कीटाणुहरु मर्ने भएकाले । यत्ति अवधिसम्म टिकाइ राख्नका लागि ग्लिसिरोल मिसाइएको हो । अल्कोहलले सबै कीटाणुहरु मार्ने भए पनि ‘स्पोर’ हटाउनका लागि हाइड्रोजन परअक्साइड मिश्रण गरिएको हो’, श्याउलाले भने ।

पनौती नगरपालिकाको स्वास्थ्य शाखाले तालिम लिएका स्वास्थ्यकर्मीहरुमार्फत नगरभित्रका २ वटा प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुका लागि यही विधिबाट स्यानिटाइजर उत्पादन गर्ने लक्ष्य राखेको छ । यस अघि शाखाले क्लिन सिटी प्रालिसँगको सहकार्यमा सबै स्वास्थ्य संस्थाहरुमा सर्जिकल डिस्पोजेबल मास्कहरु पु¥याइसकेको छ ।

सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रकी नर्स लक्ष्मीदेवी आचार्यले स्यानिटाइजर बनाउने तालिममा सहभागी भएर आवश्यकताअनुसार स्यानिटाइजर बनाउन सकिने भएकाले सेवा प्रदानमा सहजता हुने बताईन् ।

‘हाम्रा स्वास्थ्य संस्थाहरुमा स्यानिटाइजरलगायतका आधारभूत सामग्रीहरुको अभाव हुँदैन । यसले पनि कार्यरत स्वास्थ्यकर्मीहरुलाई संक्रमणरहित भएर ढुक्कसँग सेवा प्रदान गर्ने हौसला मिलेको छ’, शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले भने । हाललाई पनौती–७ स्थित स्वास्थ्य चौकीमा स्यानिटाइजर बनाउने र सबै स्वास्थ्य संस्थाहरुमा वितरण गर्ने स्वास्थ्य शाखाले योजना बनाएको छ ।

रोटरी क्लब अफ पनौतीका प्रेसिडेन्ट(नोमिनी) सितु संैजुका अनुसार पहिलो चरणमा २४ जना स्वास्थ्यकर्मीहरुले स्यानिटाइजर बनाउने तालिम पाएका हुन् । उनी भन्छन्, ‘नगर स्वास्थ्य शाखासँग मिलेर बढी जनसम्पर्क हुने अन्य संघसंस्थाहरुमा समेत स्यानिटाइजर बनाउने तालिम सञ्चालन गर्ने योजनामा छौं’, उनले थपे ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले निर्धारण गरेको स्यानिटाइजरको मापदण्ड

फर्मुलेसन १

इथानोल ८० प्रतिशत(भोलुम बाइ भोलुम) ग्लिसिरोल १.४५ प्रतिशत(भोलुम बाइ भोलुम) हाइड्रोजन परअक्साइड ०.१२५ प्रतिशत(भोलुम बाइ भोलुम)

फर्मुलेसन २

आइसोप्रोपाइल अल्कोहल ७५ प्रतिशत(भोलुम बाइ भोलुम) ग्लिसिरोल १.४५ प्रतिशत(भोलुम बाइ भोलुम) हाइड्रोजन परअक्साइड ०.१२५ प्रतिशत(भोलुम बाइ भोलुम)


Tweet