Classified Ads
कोभिड-१९ अपडेट

युट्युब ट्रेण्डीङमा परेकाे भिडियाेमा गरिएका दावीमाथि तथ्यजाँच

Posted in विज्ञान / प्रविधि, कोभिड-१९ अपडेट on Apr18,2020


Source: https://southasiacheck.org/

हिमाल अनलाईन टिभी नामक यूट्युब च्यानलमा “पहिलो पटक विस्तृत खुलासा, जान्नुहोस् अदृश्य खेल, के हो वास्तविकता ?” शीर्षकमा मनोवैज्ञानिक भनी चिनाइएका नविन जोशीको अन्तर्वार्ता गत वैशाख २ गते शेयर गरिएको थियो । यो भिडियो दुई दिनसम्म नेपालमा ट्रेन्डिङ भएको थियो भने वैशाख ४ गते राती १२ बजे नेपालमा १४ नम्बरमा ट्रेन्डिङ रहेको थियो । विगत चार दिनमा यस भिडियोलाई १ लाख ३२ हजार पटक हेरिसकिएको छ ।

अन्तर्वार्तामा नविन जोशीले कोरोना भाइरससम्बन्धी थुप्रै तथ्य प्रस्तुत गरेका छन् । तर उनको बारेमा विस्तृत जानकारी उक्त भिडियोमा दिइएको छैन । उनी एक मनोवैज्ञानिक हुन् मात्र भनिएको छ । उनको फेसबुक पेजमा जनाइए अनुसार उनले त्रिभुवन विश्वविधालयबाट परामर्श मनोविज्ञानमा स्नातकोत्तर गरेका छन् । उनले फेसबुकमा शेयर गरेको उक्त भिडियोमा पनि विभिन्न व्यक्तिले प्रतिक्रिया जनाएका छन् ।

उनले प्रस्तुत गरेका दावी सही छन्/छैनन् भनी साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

पहिलो दावी:

“लगभग २५ हजारदेखि ५६ हजारसम्म मान्छे चाहिँ प्रत्येक वर्ष मरिराछन् । के ले गर्दा ? इन्फ्लुएन्जा लाइक इल्नेस (रुघाखोकीजस्ता रोग) ले गर्दा । त्यो भन्या के हो ? यो सिजनल चेन्ज (मौसमी परिवर्तन) मा यस्तो डेथ (मृत्‍यु) भैराख्छ ।”

विश्व स्वास्थ्य संगठनले १४ डिसेम्बर २०१७ मा सार्वजनिक गरेको एक रिपोर्टमा अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि), विश्व स्वास्थ्य संगठन र ग्लोबल हेल्थ पार्टनर्सका अनुसार प्रत्येक वर्ष अनुमानित ६,५०,००० मानिस श्वासप्रश्वाससम्बन्धी मौसमी रुघाखोकी अर्थात् सिजनल इन्फ्लुएन्जाबाट मर्ने गर्छन् ।

यसैगरी सिडिसिले अप्रिल ४, २०२० मा प्रकाशित गरेको साप्ताहिक प्रतिवेदन अनुसार अमेरिकामा अहिलेसम्म यो याममा इन्फ्लुएन्जाका कारण २४,००० मानिसको निधन भएको छ ।

यी तथ्याङ्कका आधारमा उनको दावी गलत छ ।

दोस्रो दावी:

“इटालीको एउटा वेबसाइट, उस्कै आफ्नै गभर्मेन्टको वेबसाइटले के भन्या छ भने, जति मान्छे मरे त्यो मान्छे मर्नेको संख्यामा ४८.५% मान्छे चाहिँ ३ वटा अरु रोगको कारणले मरे । २५.६% ले के भन्छ भने २ वटा अरु नै कारण थियो उनीहरु मर्ने । २५.१% मान्छे चाहिँ एउटा अरु कारणले मरेको हो । त्यो कारण पनि के के हुन् भन्दा हार्ट डिजीज (मुटुसम्बन्धी बिमार), क्यान्सर, सुगरसम्बन्धी (मधुमेह), हाइपरटेन्सन (उच्च रक्तचाप), निमोनिया । यो मध्ये कसैलाई २ वटा थियो, कसैलाई ३ वटा भन्दा बढी थियो भने कसैलाई एउटा थियो । तर मर्ने बेलामा उहाँको त्यो स्वाब जुन फल्स रिडिङ गर्ने पिसिआर टेस्ट किट छ त्यो टेस्ट किटमा त्यो स्वाब टेस्ट गर्दा कोरोना पनि देखियो, रुघाखोकी रहेछ भन्ने देखियो भन्ने उल्ले भन्न खोजेको हो । तर मर्नुको कारण ३ वटा अरु नै हो भनेको । ०.८% नो अदर इल्नेस (अरु कुनै बिमार छैन), साँच्चिकै यो रुघाखोकीले नै मरेको हो वा सिजनल फ्लुले मरेको संख्या चाहिँ यति छ ।”

तस्बिर स्रोत: ब्लुमबर्गको वेब साइटको स्क्रिनसट

जोशीले भिडियोमा देखाएको विवरण ब्लुमबर्ग नामक समाचार एजेन्सीले तयार पारेको प्रतिवेदनबाट साभार गरिएको हो । त्यसमा इटाली नेशनल हेल्थ इन्स्टीच्यूटको प्रतिवेदन अनुसार बनाइएको ग्राफको विश्लेषण गरिएको छ । उनले गरेको विश्लेषण र ब्लुमबर्गको रिपोर्टमा ग्राफको तलतिर दिइएको विवरण उनले उल्लेख गरेभन्दा भिन्न छ । ब्लुमबर्गकाे विवरणमा भनिएकाे छ, “रोमस्थित इन्स्टीच्यूटले इटालीमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुने मध्ये १८% को मेडिकल रेकर्ड परीक्षण गरेको छ, जसमध्ये केवल तीन मृतक वा कुलमध्येको ०.८% मा यसअघि कुनै रोग नभएको पाइएको छ । मृतकहरूमध्ये झन्डै आधा मृतक कम्तिमा तीन अरु बिरामीले ग्रस्त थिए र एक-चौथाइ मृतक मध्ये या त एक वा दुईमा त्यसअघि रोग थियो । ७५% भन्दा बढी उच्च रक्तचाप, लगभग ३५% लाई मधुमेह र एक तिहाइ हृदय रोगले ग्रस्त थिए।”

रक्तचाप, मधुमेह, हृदय रोगबाट नै ती संक्रमितको मृत्यु भएको भन्ने तथ्य प्रस्तुत गरिएको छैन । यो रिपोर्टले मृत्यु हुनुको मुख्य कारण अरु नै हो भनेर उल्लेख गरेको छैन । यस रिपोर्टले केवल कोभिड-१९ ले मर्ने इटालियनहरुमा पहिले नै रोगहरु के कति थियो भन्ने अनुसन्धानमात्र गरेको हो । यहाँ दिइएको तथ्याङ्कलाई गलत अर्थ लगाएर जोशीले भ्रामक सूचना दिएका छन् ।

तेस्रो दावी:

“क्यारी बी मुलिस भन्ने यसको इन्भेन्टर हो । उनले यो टेस्ट किट (पिसिआर) पत्ता लाए वापत नोबेल प्राइज पाएको थियो । आजभन्दा २७ वर्ष अगाडि । त्यो टाइमदेखि डब्लुएचओले यस्लाई रिकग्नाइज (मान्यता प्रदान) गरेको थिएन । यो डाइग्नोस्टिक युजमा ल्याऊ भनेर । २७ वर्ष यो थन्केर बस्यो कसैले युज गरेन । अब अहिले चाहिँ यसलाई युज यसरी गरिराछन् ।”

जोशीको दावीको पहिलो अंश सही छ । अमेरिकी जीव रसायनविद क्यारी बि मुलिसलाई काेभिड-१ जाँच्ने पलीमरेज चेन रिएक्शन (पिसिआर) विधिकाे आविष्कार गरेकाेले सन् १९९३ मा रसायनशास्त्रका लागि नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो।

तर उनको दावीको दोस्रो अंश गलत छ । अप्रिल २९, २००३ मा प्रकाशित विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार त्यतिखेर विश्व स्वास्थ्य संगठनले पिसिआर प्रयोग गरी सार्स रोग लगाउने कोरोना भाइरसको अध्ययन गरेकाे थियाे । विश्व स्वास्थ्य संगठनले सबै राष्ट्रलाई पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने सुझाव पनि दिएको थियो ।

यसैगरी विश्व स्वास्थ्य संगठनले सन् २००७ मा इन्फ्लुएन्जाको भाइरस पत्ता लगाउन पिसिआर प्रोटोकोलमा काम गर्ने समूह गठन गरेको थियो जसले रुघाखाेकीकाे महामारीकाे निगरानी र त्यसकाे राेगथाम प्रणाालीलाई मार्गदर्शन गर्न सक्थ्यो ।

अरु पनि थुप्रै प्रयोजनका लागि पिसिआर विधिको प्रयोग भएकाले जोशीको यो दावी गलत छ ।

चौथो दावी:

“चाइनाको उहानमा चाहिँ ३१ डिसेम्बरमा यो कुराहरु भनियो कि कोरोना भन्ने भाइरस छ । यसले केही गर्छ । त्यतिखेर डब्लुएचओले हैन, केही पनि हैन । त्यो केही हुँदैन भन्यो । ६–७ दिन पछि जनवरी ८ मा चाहिँ फेरि डब्लुएचओको मिटिङ बस्यो र यसलाई एकदमै ठूलो आक्रामक तरिकाको छ । यो प्यान्डेमिक छ भन्ने किसिमको कुरो भयो ।”

विश्व स्वास्थ्य संगठनले १२ जनवरी २०२० मा प्रकाशित ‘डिजिज आउटब्रेक न्युज अपडेट’ शीर्षक रिपोर्टमा कोरोना भाइरस उहानमा बाहेक अरु कहीँ नदेखिएको र यस बारेमा थप अनुसन्धान हुँदैछ भन्नेमात्र उल्लेख गरेकाे थियाे ।

१३ जनवरी, २०२० मा थाइल्याण्डले औपचारिक रुपमा कोरोना भाइरस भेटिएको जानकारी गरायो । यसरी थाइल्याण्ड चीनपछि कोरोना भाइरसबाट संक्रमित हुने राष्ट्र बन्यो ।

११ मार्च, २०२० मा मात्रै विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई प्यान्डेमिक (विश्वव्यापी महामारी) घोषणा गरेको थियो ।

माथिका तथ्यका आधारमा जोशीको दावी गलत छ ।

पाँचौं दावी:

“आजभन्दा ९ वर्ष अगाडि, २०११ मा यूरोपियन यूनियनले डब्लुएचओलाई लुटेरा संस्था भनेर घोषणा गरेको संस्था हो ।”

यस सम्बन्धी तथ्य जाँच गर्दाखेरि त्यस्तो कुनै पनि समाचार वा रिपोर्ट फेला परेन । यति ठूलो आरोप यूरोपियन यूनियनले लगाएको भए यो एक महत्वपूर्ण घटना हुने थियो ।

तर यस तथ्यलाई खण्डन गर्न सक्ने आधार सन् २०११ मा डब्लुएचओ, यूरोपियन यूनियन र अन्य यूरोपेली देशले सामूहिक रुपमा प्रकाशित गरेको “माइग्रेसन एण्ड हेल्थ इन द यूरोपियन यूनियन” रिपोर्टमा छ । यसैगरी सन् २०१४ मा “एभ्रिथिङ यू वान्टेड टु नो अबाउट यूरोपियन यूनियन हेल्थ पोलिसिज बट् वेर अफ्रेड टु आस्क” नामक रिपोर्ट पनि प्रकाशित भएकाे थियाे जसमा याे कुरा उल्लेख छैन ।

यसैगरी सन् २०१२ को सेप्टेम्बरमा “स्वास्थ्य २०२० नयाँ यूरोपेली स्वास्थ्य नीति” रूपरेखा बनाइएको थियो जसमा यूरोपियन यूनियनका ५३ सदस्य राष्ट्रले हस्ताक्षर गरेका थिए ।

द न्युयोर्क टाइम्स र साइन्स पत्रिकाले सन् २०११ मा केही समिति एवम् विज्ञहरुले विश्व स्वास्थ्य संगठनको स्वाइन फ्लु महामारी प्रति काम कार्बाहीबारे आलोचनात्मक समाचार छापेका छन् ।

यी तथ्यलाई हेर्दा माथि जाेशीकाे दावी गलत छ ।

छैठौं दावी:

“मास्क लाउनु भयो भने तपाई बच्ने सम्भावना हुन्छ भन्नुको कुनै अर्थ छैन के । मास्कले मान्छेलाई बचाउने हैन ।”

तस्बिर साैजन्य पिक्साबे

विश्व स्वास्थ्य संगठनद्वारा २९ जनवरी, २०२० मा प्रकाशित अन्तरिम मार्गदर्शनमा निम्न कुरा उल्लेख गरिएको छ:

मेडिकल मास्क लगाउनु भनेको रोकथाम उपायहरूमध्ये एक हो । यस्ले कोभिड-१९ र अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरू फैलिनबाट रोक्न सक्छ । तर मास्कको प्रयोगले मात्र पर्याप्त सुरक्षा नहुने भएकाले अन्य उपायहरु पनि अपनाउनु पर्छ।

यसैगरी अमेरिकी सरुवा रोग निकाय सिडिसिले पनि एक रिपोर्टमा मुख छोप्ने कपडा लगाउने सल्लाह दिएको छ । मेडिकल मास्क चिकित्सकहरुलाई आवश्यक पर्ने हुनाले घरमै बनाइएका मुख छोप्ने कपडा प्रयोग गर्ने सल्लाह उसले दिएको हो ।

मास्क लगाउनाले केही हदसम्म कोभिड-१९ को संक्रमण फैलिनबाट रोकिन्छ भन्ने यस क्षेत्रका विज्ञ संस्था विश्व स्वास्थ्य संगठन र सिडिसिले जनाएको हुनाले उनको दावी गलत छ ।

सातौं दावी:

“आजभन्दा एक सय वर्ष अगाडि पनि, त्यतिखेर एचवानएनवान आथ्यो, स्पेनिस फ्लु । त्यसमा त दश करोड मान्छेको मृत्यु भएको थियो ।”

सिडिसिले प्रकाशित गरेको “१९१८ प्यान्डेमिक (एचवानएनवान भाइरस)” शीर्षक रिपोर्टका अनुसार स्पेनिस फ्लु सन् १९१८-१९८९ मा फैलिएको थियो । यसले अनुमानित पाँच करोड मानिसको ज्यान लिएको थियो ।

स्पेनिस फ्लुका कारण दश करोड मान्छे मरेका थिए भन्नु गलत हो ।

आठौं दावी:

“स्वाइन फ्लु, बर्ड फ्लु भनेको चाहिँ यति माथि छ कि त्यसको मार्ने सम्भावना भनेको चाहिँ १०० जनालाई लाग्दा ९ जना मर्ने नै सम्भावना हुन्छ । कन्फर्म (निश्चित) नै हुन्छ । अनि यो कोरोना भाइरस जुन अहिले यो यिनीहरुले भनेका छन्, यसले मार्ने सम्भावना भनेको जम्मा जम्मी ०.१% हो ।”

अमेरिकाबाट प्रकाशित द न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनको एक लेखका अनुसार कोभिड-१९ बाट हुने समग्र मृत्युदर ०.५% भन्दा कम रहेको छ तर विभिन्न अनुसन्धानबाट भिन्नाभिन्नै दर (०.०००४-१.४७%) देखिएकाले वास्तविक दर निर्धारण गर्न गाह्रो छ ।

लाक्षणिक बिरामीको अनुमानित मृत्युदर अमेरिकामा ०.०४८% छ भने बेलायतमा ०.०२६% ।

त्यसैगरी प्लोस वान नामक जर्नलमा प्रकाशित एक लेखका अनुसार अन्वेषकहरूले एच१एन१ (स्वाइन फ्लु) बाट हुने मृत्यु दर ०.०१% दखि ०.०८% सम्म हुनसक्ने जनाएका छन् ।

यसैगरी समाचार संस्था राेयटर्सको जनवरी १३, २०१३ मा प्रकाशित रिपोर्टका अनुसार एक अन्तर्राष्ट्रिय अनुसन्धान समूहले स्वाइन फ्लुको मृत्यु दर मात्र ०.०२ प्रतिशत भएको उल्लेख गरेको छ।

यसरी हेर्दा स्वाइन फ्लुको मृत्युदरमा विश्वव्यापी एकरुपता नभएतापनि जोशीले दावी गरे अनुसार यसबाट हुने मृत्युको दर ९ प्रतिशत नरहेको यी माथिका अनुसन्धानले देखाउँछ ।

यसैगरी बर्ड फ्लुको संक्रमित मृत्युदर विश्व स्वास्थ्य संगठनका अनुसार ६०% रहेको छ । सिडिसिद्वारा प्रकाशित एक रिपोर्ट अनुसार बर्ड फ्लुको संक्रमण मानिसमा विरलै भएतापनि संक्रमितकाे मृत्युदर ६०% रहेको उल्लेख गरिएको छ । यस तथ्यका आधारमा जोशीले दावी गरेभन्दा बर्ड फ्लु संक्रमित मृत्युदर उच्च रहेकोले उनको यो दावी पनि गलत भएको पुष्टि हुन्छ ।

विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेकाे सिचुएसन रिपोर्ट-४६ अनुसार कोभिड-१९ को सही मृत्युदर पूर्ण रूपमा बुझ्नका लागि केही समय लाग्नेछ । अहिलेसम्मको तथ्याङ्कले पहिचान भएका संक्रमित मध्येको मृत्युदरको अनुपात ३-४% बीचमा छ भन्ने संकेत गर्दछ । मौसमी रुघाखोकीको मृत्युदर सामान्यतया ०.१% भन्दा तल छ, कोभिड-१९ को हैन ।

यी तथ्याङ्कले जोशीको यो दावी पनि गलत रहेको पुष्टि गर्दछ

(southasiacheck.org बाट लिइएको यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ )


Tweet