Classified Ads
कोभिड-१९ अपडेट

अनुसन्धान भन्छ: कोरोनाको स्रोत चमेरो

Posted in विविध, कोभिड-१९ अपडेट on May24,2020


Source: डा. डी.बी.कट्टेल/nagariknews.com

चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साता देखिएको सार्स–२ सँग सम्बन्धित सूक्ष्म विषाणु अहिले महामारी बनेर विश्वभर फैलिएको छ। लगभग १८ वर्षअघि सन् २००२ मा ‘सार्स’को महामारी विश्वमा देखापरेपछि वैज्ञानिकको अध्ययन कोरोना विषाणुको प्राकृतिक स्रोत खोजतर्फ मोडिएको हो। धेरै वैज्ञानिक, मानवमा घातक बनिरहेको कोरोना विषाणुको मूल प्राकृतिक स्रोत चमेरो नै हो भन्ने कुरामा सहमत छन्। बितेका २ दसकमा यसबारे धेरै अनुसन्धान भएका छन्, विशेषगरी विषाणुको मूल प्राकृतिक स्रोत र मानवसम्म आइपुग्ने कारण र कारकबारे। यो लेखमा चाहिँ विषाणुको प्राकृतिक स्रोतबारे मात्र विश्लेषण गर्न खोजिएको छ।

हालै विश्व प्रसिद्ध जर्नल ‘नेचर’मा तोमी लामको नेतृत्वमा गरिएको एक अनुसन्धान प्रवितेदन प्रकाशन भएको छ। जुन अनुसन्धान परिणामले लोपोन्मुख जीव पंगोलिन अर्थात् ‘सालक’मा पाइएको कोरोना विषाणु सार्ससँग सम्बन्धित कोरोना विषाणुको वंशसँग मिल्दोजुल्दो भएको संकेत गरेको छ। सालक अत्यन्तै संवेदनशील र चासोको स्तनधारी जीव हो। अवैध सिकार र बेचबिखनले यो जीव अहिले लोपोन्मुख अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय संस्था प्रकृति संरक्षण कोषले यो जीवलाई खतराको सूचीमा समेत समावेश गरेको छ।

चीनका विभिन्न प्रान्तबाट संकलित नमुनामा गरिएको लामको अध्ययनपछि कोरोना विषाणु संक्रमित हुने जीवको तथ्यांकमा चमेरोबाहेक अरू स्तनधारीमा यो जीव पनि परेको छ। अर्थात् सालक पनि कोरोना विषाणुको प्राकृतिक स्रोत हुन सक्छ भन्ने मान्यतालाई यो अनुसन्धानले अगाडि सारेको छ। तर यो नै पहिलो अनुसन्धान भएकाले यसैलाई पूर्ण प्रमाण मान्न सक्ने अवस्था छैन। तर कोरोना विषाणुको मूल प्राकृतिक स्रोत चमेरो नै हो भन्ने निक्र्याेल गरेका धेरै अनुसन्धान विवरण अहिले प्रकाशमा आइसकेका छन्।

चमेरो, जो स्तनधारी जीव पनि हो, जसलाई औषधीय (परम्परागत) प्रयोजन एवं मासुका लागि दक्षिण चीनका केही भूभाग र केही अन्य एसियाली राष्ट्रमा प्रयोग गर्ने चलन छ। नेपालमा पनि कुनै एक समुदायले यसलाई विशेष भोजनका रूपमा प्रयोग गर्ने गरेको सुनिन्छ। त्यस्तै अफ्रिकामा पनि चमेरो निकै सिकार गरिने जीवमा पर्छ। वैज्ञानिक साम्युल आर. दोमिङ्जको सन् २०१५ मा र बेन हुको सन् २००७ मा क्रमशः भाइरोलोजी र इमजिङ इन्पेक्सिअस् डिजिज जर्नलमा प्रकाशित २ अनुसन्धान प्रतिवेदनमा चमेरोसँग जोडिएको कोरोना विषाणुबारे गहन अध्ययन गरिएको छ। उनीहरू भन्छन्, चमेरोसँग विस्तृत उडान क्ष्यमता छ र यो विश्वको व्यापक भौगोलिक क्षेत्रमा वितरित छ। र, यो स्तनधारी जीवमध्ये दोस्रो ठूलो समूहमा पर्छ। विश्वमा गैरमानव स्तनपायीमध्ये विविध र व्यापक रूपमा वितरित ११०० भन्दा बढी प्रजातिका चमेरो पाइएका छन्। वैज्ञानिकले यसलाई कोरोना विषाणुबाहेक धेरै अन्य विषाणुको मुख्य प्राकृतिक स्रोत ठानेका छन्।

चमेरोमा सन् २००२ मा देखापरेको ‘सार्स’ कोरोना विषाणुको मूल वंशको संकेत मिलेपछि मूल प्राकृतिक स्रोत खोजीमा अध्ययनकर्ताको ध्यान यो स्तनधारी पक्षीतर्फ केन्द्रित भएको हो। बेनको प्रणालीगत अध्ययनमा कोरोना विषाणु पाल्तु र जंगलबाट समातिएका जीवमा फेला परेन र यो परिणामले अन्य पशु नै सार्स प्रसारणमा संलग्न थिए भन्ने संकेत ग¥यो। साथै उनको अध्ययनले अन्य व्यापारिक गतिविधि र संवाहक निश्चित गरिएको बिरालो सार्सको प्राकृतिक संग्रहालय हुनै सक्दैन भन्ने कुरासमेत प्रमाणित गरेपछि कोरोना विषाणुको प्राकृतिक स्रोत चमेरो नै हो भन्ने निक्र्याेल गरियो।

बेनको अनुसन्धान भन्छ : बितेको दसकमा एसिया, युरोप, अफ्रिका र अमेरिकाका विभिन्न किसिमका चमेराका प्रजातिमा असंख्य कोरोना विषाणु भेटिएका छन्।

वैज्ञानिकले चमेरोमा रहेको विषाणुको आनुवांशिक संरचनालाई चार उपभेद (अल्फा, बिटा, गामा र डेल्टा) मा वर्गीकरण गरेका छन्। जसको पहिलो २ उपभेदको कोरोना विषाणुले स्तनधारीलाई मात्र संक्रमण गर्छ, जसले मानवमा श्वासप्रश्वासमा र जनावरमा पेटमा असर पु-याउँछ भने बाँकी २ ले चरालाई। तर कहिलेकाहीं यसबाट स्तनधारी पनि संक्रमित हुने वैज्ञानिक बताउँछन्। यस्तै विषाणु पशुमा देखिएको उदाहरण पनि छ, जसलाई हामी ‘साड्स’का रूमा बुझ्छौं। जुन विषाणु चमेरोबाट सुँगुरमा सरेको हो भन्ने वैज्ञानिकको विश्वास छ। वंश ‘ए’ बिटा कोरोना विषाणुको अपवादबाहेक केही अन्य विषाणु मुसामा पनि संग्रहित हुन सक्छ भन्ने मान्यता केही वैज्ञानिकको छ।

वैज्ञानिक प्याट्रिक उको भाइरोलोजी (२०१२), डिएगो फोर्नीको (२०१६) ट्रेन्ड्स इन माइक्रोबायोलोजी (२०१६), वेन्दोङ लीको साइन्स (२००५), चिए छुईको नेचर (२०१८) र स्याओलु थाङको माइक्रोबायोलोजी (२०२०) जर्नलमा प्रकाशित सबै अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ– मर्स, सार्स र ‘कोभिड–१९’ लगायतका कोरोना विषाणुको वंश चमेरोमै प्रचलित बिटा कोरोना विषाणुसँग सम्बन्धित छ। त्यसैले वैज्ञानिकले अनुक्रम तथ्यांकका आधारमा मानव कोरोना विषाणुलाइ जनावर मूल र सार्स र मर्सलगायतका कोरोना विषाणुलाई चमेरोजनित मानेका हुन्। यसका नजिकका कुरा युरोप, एसिया र दक्षिण अफ्रिकाका चमेरामा पनि पहिचान गरिएका छन्।

सार्सको प्रकोप सुरु हुनभन्दा केही वर्षअघि एसिया र अस्ट्रेलियामा २ अन्य पशुजन्य विषाणु, जस्तै : निपा र हेन्ड्रा देखापरेका थिए, यिनको प्राकृतिक स्रोत पनि चमेरोलाई नै मानियो। त्यो बेला धेरै वैज्ञानिकमा इबोला र मार्बर्ग विषाणुका लागि पनि चमेरो नै लामो समयदेखि खोजिएको संग्रहित प्राकृतिक स्रोत हुन सक्छ भन्ने मान्यता अगाडि आयो। अनुसन्धानकर्ता साम्युल दोमिङ्जको निष्कर्ष छ– चमेरोमा पाइने विषाणुले मानव मात्र होइन, अन्य जनावरमा पनि असर पु¥याएका धेरै उदाहरण छन्। वैज्ञानिकले विभिन्न प्रकारका ६० भन्दा बढी विषाणु चमेरोबाट अलग गरेका छन्। वैज्ञानिक अध्ययनबाट यो पनि प्रस्ट भएको छ कि चमेरो त्यस्तो जीव हो, जसले आफूमा पशुजन्य विषाणु कायम राख्न र सँगसँगै प्रसारित गर्नसमेत महत्वपूर्ण भूमिका खेल्छ।

चीनको गुआङ्सी र ग्वाङडोङ प्रान्तमा र अरबी प्रायद्वीपमा सार्स सम्बन्धित कोरोना विषाणुको बारम्बार संक्रमणका घटनाले यो विषाणुको मूल स्रोत चमेरो हो र सामुदायिक वातावरणमा वितरणका लागि हामी नजिकैका जीवजन्तुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने कुरा प्रस्ट पारेका छन्।

सन् २००२ पछि कोरोना विषाणुको प्राकृतिक संग्रहालय पहिचान गर्न घरपालुवा, पशुपक्षीलगायत वन्यजन्तुमा यो विषाणुको सर्वेक्षण दक्षिणपूर्व एसियामा व्यापक रूपमा गरिएको थियो। सर्वेक्षण क्रममा एसियाका चमेराका धेरै प्रजातिमा कोरोना विषाणुका विभिन्न प्रकार फेला परेका थिए। तर जंगली र पालिएका जीवमा गरिएको सर्वेक्षणले सार्सजस्तो कोरोना विषाणुको प्रसार कम देखिएका आधारमा यी पशु सार्स–कोरोना विषाणुका लागि प्राथमिक संग्रहकर्ता नभई एक माध्यमका रूपमा मात्र रहेको प्रमाणित भएको थियो।

मध्यपूर्वमा देखिएको ‘मर्स’का घटना सबैलाई पशुजन्य रोग नै मानियो र यसको प्राकृतिक स्रोत र प्रसारण माध्यमका विषयमा वैज्ञानिकबीच विभिन्न तर्क पनि भए। त्यो विषाणु मानवमा आउनुमा ऊँटसँगको सम्पर्क नै हो भन्ने आम अनुसन्धानकर्ताको राय छ। तर मर्स–कोरोना विषाणु संक्रमण अफ्रिका सँगसँगै अरब प्रायद्वीपका ऊँटमा सर्वव्यापी छ भन्ने तथ्यलाई उ र फोर्नीको अनुसन्धानले पनि स्पस्ट पार्छन्। तर पशुजन्य रोगका रूपमा मानव संक्रमणका लागि अरबी प्रायद्वीपमा मात्रै सीमित देखिन्छ। जातिवृत्तिका आधारमा हेर्ने हो भने अफ्रिकामा पाइएका विषाणु अरबी प्रायद्वीपको तुलनामा भने फरक छ। तर प्रतिजनीका हिसाबमा भने समान छन्।

वैज्ञानिक बेन हुको अनुसन्धानले भन्छ: सार्स–कोरोना विषाणुका रूपमा रहेको मर्स–कोरोना विषाणुको आरएनए साउदी अरबिया, कतार र इजिप्टबाट आएका ऊँटमा पत्ता लाग्यो र गुण सूत्र अनुक्रममा मानव मर्स–कोरोना विषाणुमा धेरै समानता देखियो। विभिन्न वैज्ञानिक प्रमाणले मध्यपूर्व, अफ्रिका र युरोप (स्पेन)का ऊँटमा मर्स–कोरोना विषाणुको संक्रमण उच्च मात्रामा भएको पुस्टि गर्छ। वैज्ञानिकले भर्खरै विषाणुका पूर्वजबारे गरिएका विश्लेषणात्मक अनुसन्धानबाट के अनुमान गरिएको छ भने लगभग ३० वर्षअघि अफ्रिकामा मर्स–कोरोना विषाणु चमेरोबाट ऊँटमा सरेको हुन सक्छ र तिनै ऊँट अरबी प्रायद्वीपमा आयात गरिएको हुनुपर्छ।

प्याट्रिक उको अनुसन्धानले भन्छ : अप्रत्याशित देखापर्ने विषाणुको प्राकृतिक स्रोत वा संग्रहकर्ता र फैलाउने प्रमुख कारकमा पक्षी पनि पर्छन्। उनीहरूको एकत्रित हुने व्यवहार र लामो दूरीसम्म उडान गर्न सक्ने क्षमताका कारण उदयोन्मुख विषाणु आफैंबीच र मानवमा प्रभावकारी रूपमा फैलाउन उनीहरू आफैं जिम्मेवार बन्छन्। तर तुलनात्मक रूपमा भन्ने हो भने ज्ञात कोरोना विषाणुको संख्या पक्षीमा भन्दा चमेरोमा धेरै रहेको वैज्ञानिक मान्यता छ। चमेरोमा १० भन्दा बढी प्रकारका कोरोना विषाणु पाइएका छन्, जसमध्ये हाम्रैवरिपरि मात्रै ९ प्रकारका छन्।

बेनको अनुसन्धान भन्छ: बितेको दसकमा एसिया, युरोप, अफ्रिका र अमेरिकाका विभिन्न किसिमका चमेराका प्रजातिमा असंख्य कोरोना विषाणु भेटिएका छन्। कोरोना विषाणुअन्तर्गतका सार्स–२ सम्बन्धित विषाणु, जसले मुख्यगरी स्तनपायी प्राणीलाई संक्रमण गर्छन्, त्यसको मुख्य स्रोत नै चमेरो हो। केही अन्य वैज्ञानिकको राय छ : हालै थाहा पाइएका विषाणुजन्य १५ प्रजातिमध्ये ७ वटा चमेरोमा छन्। माथि उल्लिखित कोरोना विषाणुले वंश विकासमा मुख्य भूमिका खेल्छ। र, यही उत्परिवर्तन क्षमताका कारण उच्च प्रकोपको कारक भएकाले हिजोआज चमेरो प्रमुख अनुसन्धानको विषय बनेको हो।

तर सालक, कोरोना विषाणुको मातृ–स्रोत हुन सक्छ भन्ने वैज्ञानिक लामको भर्खरैको तथ्यलाई पनि अस्वीकार गर्न मिल्दैन। तर लोपोन्मुख जीव सालकले आफूमा विद्यमान सार्स–कोरोना विषाणु–२ सम्बन्धित विषाणु चमेरो वा अन्य पशु, जो यसका लगि प्राकृतिक स्रोत हुन सक्छ, त्यसबाट प्राप्त ग-यो वा लामो समयदेखि यही जीवमा थियो, जसबाट अन्तर–प्रजातीय सीमा पार गर्दै मानवमा प्रकोपका रूपमा आइपुग्यो भन्ने तथ्यचाहिँ अझै स्पस्ट छैन। कुन तथ्य पनि बिर्सिन मिल्दैन भने कोरोना विषाणुको दुइटै वंशको संकेत सालकमा भेटिएको छ, जुन जीवलाई दक्षिण–पूर्वी एसियाली मूलको मानिन्छ, जहाँ यो जीव रैथाने हो।

तर सालकमा विषाणुजन्य विविधताबारेको ज्ञान वैज्ञानिक जगत्मा निकै कम छ। किनकि यसमा विषाणु प्रसारणको सीमाका लागि थप अनुसन्धान हुन बाँकी नै छ। तर चीनको गुआङ्सी र ग्वाङडोङ प्रान्तमा र अरबी प्रायद्वीपमा सार्स सम्बन्धित कोरोना विषाणुको बारम्बार संक्रमणका घटनाले यो विषाणुको मूल स्रोत चमेरो हो र सामुदायिक वातावरणमा वितरणका लागि हामी नजिकैका जीवजन्तुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने कुराचाहिँ प्रस्ट पारेका छन्। तर मानवको चमेरोसँगको प्रत्यक्ष सम्पर्कबाट कोरोना विषाणु फैलिन्छ वा फैलिँदैन भन्नेबारेचाहिँ स्पष्ट विवरण प्रकाशित अनुसन्धान प्रतिवेदनमा भेटिन्न।

(सहप्राध्यापक, चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङ।)


Tweet