Classified Ads
कोभिड-१९ अपडेट

सलह: झन्डै छ दशकअघि ब्रिटेन पुर्‍याएर यसरी गरिएको थियो नेपालमा भेटिएको 'नौलो फट्याङ्ग्रो'

Posted in अन्तर्राष्ट्रिय, खेती / किसानी on Jun06,2020


Source: विष्णु पोखरेल/https://www.bbc.com/nepali/

झन्डै सात दशकअघि सिंहदरबारको पुतली बगैँचास्थित कृषि मन्त्रालयको भवनमा एउटा नयाँ शाखा स्थापना गरियो। त्यसको नाम थियो- कीट विज्ञान शाखा।

तीन कर्मचारी भर्ना गरेर सुरु गरिएको त्यस शाखालाई 'किसानहरूका बिरुवा जोगाउन सहयोग गर्ने' जिम्मेवारी तोकिएको थियो।

तर सुरुसुरुमा त्यहाँ काम गर्ने कर्मचारीहरूलाई न नेपालमा पाइने शत्रुजीवबारे पर्याप्त जानकारी थियो न त त्यसबारे आवश्यक अनुसन्धान नै भएको थियो।

"त्यस बेला नेपालमा पाइने कीराहरूबारे अनुसन्धान नै भएको थिएन," उक्त शाखा सुरु भएको पाँच वर्षपछि सहायक कीटविज्ञका रूपमा नियुक्त भएका केशवचन्द्र शर्मा (८३) भन्छन्, "त्यसैले हामीले त्यसबेला कीराहरूको अनुसन्धानलाई नै प्राथमिकता दियौँ।"

मन्त्रालयको एउटा कोठामा स्थापना भएको उक्त शाखा पछि कृषि विभागको कार्यालय मीनभवनमा राखिएपछि उतै सरेको हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ समेत रहेका डा. शर्मा सम्झिन्छन्।

शाखा स्थापना भएपछि त्यसले बोटबिरुवालाई हानि गर्ने कीराबारे अनुसन्धान सुरु गर्‍यो।

त्यसै बेलादेखि नेपालमा वैज्ञानिक अनुसन्धानका लागि कीरा सङ्कलन हुन थालेको शर्मा बताउँछन्।

"हामी काठमाण्डू र आसपासका स्थानहरूमा कीरा सङ्कलनका लागि एकखाले जाली राख्थ्यौँ। त्यसमा भेला भएका कीरा जम्मा पारेर अनुसन्धान गरिन्थ्यो," शर्माले भने।

तर त्यस बेला नेपालमा कीराका जात र प्रकार पहिचान गर्नसक्ने जनशक्ति नै थिएन। न त त्यसबारे अध्ययन-अनुसन्धान गर्ने प्रविधि र स्थल नै तोकिएको थियो।

"विदेशमा पठाएर मात्र कीराको पहिचान गर्न सकिन्थ्यो," शर्मा भन्छन्।

'नौला फट्याङ्ग्रा'

शर्माले उक्त शाखामा काम सुरु गरेको झन्डै चार वर्षपछि सन् १९६१/६२ तिर काठमाण्डूका विभिन्न स्थान र ललितपुरको गोदावरीमा केही नौला फट्याङ्ग्रा देखा परे।

कर्मचारीहरूले ती फट्याङ्ग्रा सङ्कलन गरेर ल्याए र सुकाए। तर ती कुन प्रजातिका फट्याङ्ग्रा हुन् भन्ने पहिचान गर्न सकेनन्।

अनि ती फट्याङ्ग्राका नमुना विदेश पठाएर पहिचान गर्ने निर्णय गरियो।

विदेश त पठाउने तर कहाँ? अन्योल भयो।

"मैले नै ब्रिटेन पठाऔँ भन्ने प्रस्ताव गरेँ," त्यसबेलाको घटना स्मरण गर्दै शर्माले भने।

ब्रिटेन पुर्‍याएर पहिचान

शर्मा सरकारी सेवामा प्रवेश गर्नुभन्दा अघि नै अध्ययनका लागि ब्रिटेन पुगेका थिए।

त्यहाँ उनको न्याचरल हिस्ट्री म्यूजीअम लन्डनका केही वैज्ञानिकहरूसँग चिनजान भएको थियो।

"उनीहरूले हामीलाई सम्पर्क गरेर नमुना पठाउन भनेका थिए," शर्मा भन्छन्, "त्यही चिनजानले काम गर्‍यो। हामीले सुरक्षित रूपले ती फट्याङ्ग्राका नमुना ब्रिटेन पठायौँ।"

त्यसको केही महिनापश्चात् ब्रिटेनबाट ती फट्याङ्ग्राहरूको पहिचान भएको पत्र आयो। त्यसमा लेखिएको थियो- यो मरुभूमिमा पाइने एकल प्रवृत्तिको लोकस्ट (सलह) हो।

"हामीले यसरी नेपालमा पहिलो पटक सलहको आधिकारिक र वैज्ञानिक पहिचान गर्न सफल भएका थियौँ," शर्माले बीबीसीसँग भने।

शर्माको कुरालाई पुष्टि गर्नेगरी हालै सरकारले जारी गरेको "मरुभूमि सलहः पहिचान तथा व्यवस्थापन" नामक पुस्तिकामा पनि सन् १९६२ मा पहिलो पटक नेपालमा मरुभूमिको सलहको आधिकारिक पहिचान भएको उल्लेख छ।

उक्त पुस्तिकामा लेखिएको छ, "नेपालमा मरुभूमिको सलहको एकल प्रवृत्तिको वयस्क सन् १९६२ मा गोदावरी र काठमाण्डूबाट सङ्कलन गरी आधिकारिक पहिचान गरिएको थियो।"

खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद्‌ (नार्क) अन्तर्गतको कीट विज्ञान शाखाको सङ्ग्रहालयमा त्यस बेला सङ्कलन गरिएका सलहहरू अहिले पनि सुरक्षित रूपमा राखिएको शाखाका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले जानकारी दिए।

उनले भने, "यो खासमा अहिले अफ्रिकाबाट भारत आइपुगेको जस्तो ठूलो समूहमा उड्ने नभई एकल स्वभावको तर मरुभूमिकै सलह थियो। पहिचान भएकै वर्ष काभ्रेको पनौतीमा मकैबालीमा सलहको प्रकोप पनि देखिएको रहेछ।"

मानव इतिहासमा सलह

विभिन्न मिथक र किंवदन्तीहरूमा सलहको उल्लेख भएकाले मानव इतिहासमा आदिकालदेखि नै सलहको प्रकोप रहेको हुन सक्ने अध्येताहरूको धारणा छ।

सलहको प्रसङ्ग तथा सलहलाई विम्बका रूपमा प्रयोग गरिएको विभिन्न धर्मग्रन्थ तथा प्राचीन साहित्यमा पनि पाइन्छ।

अब्राहमिक धर्मका बाइबल र कुरानमा नाइल नदीबाट निस्किएका सलहको बगालका कथाहरू छन् भने पूर्वीय दर्शनको एउटा महत्त्वपूर्ण पुस्तक मानिने महाभारतमा समेत सलहलाई विम्बका रूपमा प्रयोग गरिएको भेटिन्छ।

संस्कृत भाषामा शलभ भनिने सलहबारे महाभारतको विराटपर्वमा कर्णले अर्जुनलाई आफ्नो बाणले "रुखलाई सलहले छोपे झैँ छोप्ने" बताएको उल्लेख छ।

त्यहाँ लेखिएको छ-

रुक्मपुङ्खा: सुतीक्ष्णाग्रा मुक्ता हस्तवता मया

छादयन्तु शरा: पार्थं शलभा इव पादपम् ॥

संस्कृत साहित्यका महाकवि कालिदासको रचनामा पनि सलहलाई विम्बका रूपमा प्रयोग गरिएको छ।

उनले 'कुमारसम्भवम्' र 'अभिज्ञान शाकुन्तलम्' मा पनि शलभको प्रसङ्ग उल्लेख गरेका छन्।

संस्कृत साहित्यमा नीतिवचनका रूपमा प्रचलित एउटा श्लोकमा अतिवृष्टि, अनावृष्टि, सलह, मुसा र चराको प्रकोप आदिबाट खेतीपाती बिग्रिने बताइएको छ।

अतिवृष्टिरनावृष्टिर्मूषका:शलभा: खगा:

अत्यासन्नाश्च राजान: षडेते ईतय: स्मृता:॥

पूर्वीय सभ्यतामा पौराणिक कालदेखि र पाश्चात्य सभ्यतामा बाइबल कालदेखि नै सलहको अस्तित्व देखिने प्रमाण छन्।

लोकसाहित्यमा सलह

नेपालमा साहित्य र लोकसाहित्यमा पनि सलहको वर्णन भेटिन्छ।

विभिन्न क्षेत्रमा प्रचलित लोककथा र लोकगीतमा पनि सलहको प्रसङ्ग आउँछ।

नेपालका कतिपय चर्चित लोककथाहरूमा पनि सलहको वर्णन पाइन्छ नेपाल प्रज्ञा प्रतिष्ठानबाट ४५ वर्षअघि प्रकाशित तुलसी दिवसद्वारा सङ्कलित र सम्पादित "नेपाली लोककथा"मा पनि सलहको प्रसङ्ग आएका दुईवटा कथाहरू छन्।

उक्त पुस्तकमा समावेश बझाङ जिल्लाको एउटा कथा 'हौसिया गुन्ट्र्या'मा त्यसको पात्र गुन्ट्र्याले बझाङमा विसं १९८५ सालमा सलह आएपछि गीत नै बनाएको उल्लेख छ।

कथामा उल्लेख भएअनुसार सलह धपाउँदा-धपाउँदा उसले दिक्क भएर यस्तो गीत भनेको थियो-

यी सल (सलह) रन्ना, यी सल खान्ना

यी बाली तिरन्ना

पूर्व होइ आएका सल पश्चिम छिरन्ना ...

सोही पुस्तकमा समाविष्ट 'वीरबाहुका छोरा शूरबाहु' कथामा पनि वीरबाहु राजाका मन्त्रीले 'सलहझैँ आक्रमण गर्न आउँछौँ' भन्ने सन्देश दिन पद्‍मसेन राजाकहाँ एउटा बाकसमा सलह भरेर पठाएको उल्लेख छ।

त्यसको उत्तरमा पद्‍मसेनकी छोरीले सोही बाकसमा मूलाका चाना राखेर पठाई 'सलहझैँ आएका सैनिकलाई मूला काटे झैँ काट्छौँ' भन्ने सन्देश दिएको प्रसङ्ग छ।

त्यस्तै म्याग्दीमा प्रचलित एउटा सवाईमा पनि सलहको प्रकोपको वर्णन पाइएको 'बानियाँ वंशको नालीबेली' नामक पुस्तकमा पनि उल्लेख छ।

बानियाँ कान्छाले लेखेको उक्त पुस्तकमा म्याग्दीमा विसं १९८६ मा जन्मिएका जितबहादुर बानियाँले आफ्नो परिस्थिति अनुसार सवाई बनाउने गरेको उल्लेख छ।

त्यसमा दिइएको एउटा सवाई यस्तो छ-

सुन सुन जन हो म केही भन्छु

२००८ सालको सवाई कहन्छु

२९ गते असारमा लाखौँ सलह आयो

सारा अनाज उब्जिएको सबै थोक खायो।

यीबाहेक पनि कैयौँ लोककथा, लोकगीत तथा किंवदन्तीहरूमा सलहको प्रकोपबारे उल्लेख भएको पाइने जानकारहरू बताउँछन्।

नेपालमा कहिले-कहिले देखियो सलहको प्रकोप?

नेपालमा कुन-कुन मितिमा सलहको प्रकोप देखा पर्‍यो भन्ने स्पष्ट विवरण पाउन मुस्किल पर्ने जानकारहरू बताउँछन्।

अफ्रिकाबाट आएको सलह भारतसम्म आइपुगेपछि त्यसको नियन्त्रणका लागि आवश्यक काम गर्न सरकारले गठन गरेको कार्यदलका सदस्यहरूले पनि त्यसबारे खोजी गरेको बुझिएको छ।

अफ्रिकाबाट यसपालि सलह पाकिस्तान हुँदै भारतसम्म आइपुगे

तर नेपालमा सलहको प्रकोपको ऐतिहासिक विवरण पाउन निकै मुस्किल भएको उक्त कार्यदलका सदस्यहरू बताउँछन्।

इतिहासकारहरूले लेखेअनुसार भने नेपालमा बेलाबेलामा सलहको प्रकोप देखिएको पाइन्छ।

गोपालराजवंशावली अनुसार काठमाण्डू उपत्यकामा "विसं १२७७ देखि १४११ सम्म चार पटक सलहको प्रकोप देखापरेको" इतिहासकार महेशराज पन्तले लेखेका छन्।

संशोधन-मण्डलले प्रकाशित गर्ने इतिहासप्रधान पत्रिका पूर्णिमाको पूर्णाङ्क ७२ मा प्रकाशित 'द गोपालराजवंशावली सरसरी हेर्दा' शीर्षकको लेखमा पन्तले उक्त विवरण दिएका हुन्।

उनी लेख्छन्, ''... नेपाल संवत् ३४० (विसं १२७७) भाद्रशुक्लअष्टमीदेखि नेपाल संवत् ४७५ (विसं १४११) कार्तिकशुक्लप्रतिपदाभित्र पूरा एक सय चौँतीस वर्षभित्र चार पटक यहाँ सलहको आक्रमण भएको कुराको टिपोट गर्दा त्यो वंशावली लेख्नेले 'तव व्कलवोस वव' भनी लेखेको देखिएको छ।"

नेवारी भाषामा लेखिएको उक्त वाक्यांशलाई धनवज्र वज्राचार्यले 'ठूलो पानी पर्‍यो' भनी अशुद्ध उल्था गरेको र त्यसैका आधारमा वज्राचार्य र कमलप्रकाश मल्लको 'द गोपालराजवंशावली'मा पनि ठूलो पानीको रूपमा अर्थ्याइएको पन्तले लेखेका छन्।

तर 'द गोपालराजवंशावली' भन्दा पछि प्रकाशित भएको र कमलप्रकाश मल्ल नै प्रधान सम्पादक रहेको 'अ डिक्सनरी अफ क्लासिकल नेवारी'मा भने उक्त वंशावलीमा वर्णित सो कुरालाई सलहकै रूपमा व्याख्या गरिएको छ।

त्यसमा "संवत् ३४० (विसं १२७७) भाद्रशुक्लअष्टमीमा ठूलो सङ्ख्यामा सलहहरू आएको र चार दिनसम्म घरबाट बाहिर निस्कन नसक्ने अवस्था आएको" उल्लेख छ।

त्यसपछि पनि विभिन्न लेखोटहरूमा सलह आएको प्रसङ्ग पाइने इतिहासकारहरूको भनाइ छ।

उनीहरूका अनुसार मल्लकालमा पनि सलह आएको प्रसङ्ग कतिपय ऐतिहासिक कागजपत्र र साहित्यमा पाइएको छ।

सय वर्षयता सलह

विगत १०० वर्षमा पनि नेपालमा कैयौँ पटक सलह आएको विवरणहरू विभिन्न व्यक्तिहरूले लेखेका छन्। हाल जीवित रहेका कतिपय व्यक्तिहरूले पनि सलहको प्रकोपको अनुभव सुनाएका छन्।

सरदार भीमबहादुर पाँडेले 'त्यस बखतको नेपाल'मा पहाडतिर एकाध वर्ष बिराएर सलह आउने गरेको लेखेका छन्।

उनी लेख्छन्, "...आकाशै छोप्नेगरी सलहको बथान आउँदथ्यो, बाहुनक्षेत्रीले सलह खाँदैनथे तर अरु जातले भकारीभरि सलह थुपार्दथे- पछि भुटेर खानलाई।"

सलह आएको साल अनिकाल पर्ने जगजगी हुँदा गाउँगाउँमा धर्मभकारीको व्यवस्था गरिएको हुने पनि उनले उल्लेख गरेका छन्।

सोही पुस्तकमा उनले दिएको 'फुट नोट'मा भने हरेक ६० वर्षमा नेपालमा सलहको महामारी आउने गरेको र विसं १९८५ सालमा पनि सलहको ठूलो प्रकोप परेको उल्लेख छ।

त्यसबेलाको सलहको प्रकोपबारे स्मरण गर्दै हाल एक सय वर्ष भएका संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, "सलह यसरी आयो कि दिउँसै घाम लागिरहेका बेला हररर आयो र बादल लागेजस्तो भयो। जहाँ बस्यो त्यहाँ बाली सबै सखाप पार्‍यो। पछि त्यसलाई पोलेर मानिसहरूले खाए पनि।"

त्यसपछि विसं २००८ साल र २०११/१२ सालमा पनि सलहको प्रकोप परेको कतिपयले बताउने गरेका छन्।

म्याग्दीका जीतबहादुर बाँनियाले रचना गरेको सवाईमा भने विसं २००८ सालमा सलह आएको उल्लेख छ।

सन् २००६ सालमा जन्मिएका धानबालीविज्ञ भोलामानसिंह बस्नेतका अनुसार उनी १०/१२ सालको हुँदा पनि काठमाण्डूमा सलह आएको थियो।

उनले भने, "त्यसबेला मैले गौशाला चोकतिर सलह फ्राई गरेर बेच्न राखेको देखेको झल्झली याद छ। साथीभाइसँग मिलेर मैले पनि किनेर सलह खाएको छु।"

विसं २०४५/४६ सालतिर पनि अहिलेकै जस्तो अवस्था आएको नास्टका प्राज्ञ रहेका केशवचन्द्र शर्मा सम्झन्छन्।

त्यस बेला नार्कको कीटविज्ञान शाखाको प्रमुख रहेका उनले भने, "त्यसबेला राजा वीरेन्द्रले नै हामीलाई दैनिक अप्डेट गराउनु भन्ने आदेश भएको थियो। हामीले गरायौँ पनि तर भारतसम्म आएको सलह नेपाल आइपुगेन।"

कृषिविज्ञहरूका अनुसार करिब दुई दशकअघि पनि नेपालका केही जिल्लामा सलहको प्रकोप देखिएको थियो। तर त्यसबेला ठूलो क्षति नभएको बताइन्छ।

यसपालि नेपाल आइपुग्ला त सलह?

अफ्रिकाबाट निस्किएर भारतसम्म आइपुगेको सलहको बथान "तत्काल नेपालमा नआउने" निष्कर्ष सरकारले गठन गरेको प्राविधिक कार्यदलले निकालेको छ।

करोडौँको समूहमा हुने र प्रतिदिन १५० किलोमिटरसम्म उड्नसक्ने भनिएको सलह नेपालमा पनि प्रवेश गर्न सक्ने भन्दै सरकारले त्यसको अध्ययनका लागि उक्त कार्यदल बनाएको थियो।

कार्यदलको संयोजक तथा प्लान्ट क्वारन्टीन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले सलहबारे अध्ययन गरी नेपालले गर्नुपर्ने कार्यहरूबारे प्रारम्भिक खाका तयार पारेर कृषि मन्त्रालयलाई बुझाइएको जानकारी दिए।

उनले भने, "हामीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) केन्द्रीय कार्यालयसँग समन्वयमा काम गरिरहेका छौँ। उनीहरूले सलहलाई ट्र्याक गर्ने काम गरिरहेका छन्। एफएओले भारतबाट नेपालतर्फ यसपालि सलह पस्ने सम्भावना कम देखिएको जनाएको छ।"

"एक त यो भारतको राजस्थान क्षेत्रमा नै तितरबितर भएको छ अर्को चाहिँ हावाको गति अनुसार हिड्ने भएकाले अब नेपालमा मनसुन सुरु हुन लागेको र हावा पश्चिमतिर बहन थालेकाले यहाँ आउने सम्भावना कम छ।"

उनले सोही अनुसारको प्रतिवेदन उक्त कार्यदलले बुझाएको जानकारी दिए।

उनले भने, "तर आगामी दिनमा सलह आउन सक्ने भएकाले नियन्त्रणका लागि आवश्यक पर्ने बजेट, संयन्त्र, उपकरण तथा सामग्रीहरूको विवरण समेटिएको अर्को खाका भने तयार पार्ने चरणमा रहेका छौँ।"

सलहले प्रजनन गरेका स्थानमा तिनको सङ्ख्या बढ्ने र बालीनाली था रूखबिरुवा सखाप पारिदिने विज्ञहरू बताउँछन् सलहबारे अध्ययन गरेका कतिपय कीटविज्ञहरू पनि अहिले भारत र पाकिस्तान दुवैले सलह नियन्त्रणका लागि विषादीहरू प्रयोग गरिरहेकाले नेपालसम्म आइपुग्ने सम्भावना कम रहेको बताउँछन्।

त्यस्तै मनसुन सुरु भएर लगातार ठूलो वर्षा भए पनि त्यसले नेपाल आउने सम्भावना घटाउने उनीहरूको तर्क छ।

कीटविज्ञ समुद्रलाल जोशी भन्छन्, "अफ्रिकाबाट आउने सलहहरू कि अरब सागर पार गरेर इरान-पाकिस्तान-भारत हुँदै नेपाल आइपुग्छन् वा सीधै प्रशान्त महासागर कटेर पाकिस्तान वा भारतमा प्रवेश गरेर नेपाल आइपुग्छन्।"

उनले एफएओले नेपालको तराईसम्म आउन सक्ने प्रक्षेपण गरेको भए पनि यसपालि नेपालसम्म आउने सम्भावना कम रहेको देखिएको बताए।

उनले भने, "यसपाली भारतमै तितरबितर हुने सम्भावना रहेकाले सलह फेरि अफ्रिका फर्किन सक्ने देखिएको छ। नेपालसम्म आइपुग्ने सम्भावना कम रहेको एफएओको भनाइ छ।"

तर सलह हावाको गतिअनुसार हिड्ने भएकाले अब मनसुनको हावा कता जान्छ र त्यो कति शक्तिशाली हुनसक्छ भन्नेले निर्क्योल गर्ने विज्ञहरू बताउँछन्।


Tweet