Classified Ads
कोभिड-१९ अपडेट

नयाँ नक्सासम्बन्धी स‌ंविधान संशोधन विधेयक संघीय संसदबाट स्वीकृत

Posted in राष्ट्रिय / सङ्घ, अन्तर्राष्ट्रिय on Jun09,2020


प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

निशान छापमा रहेको नक्सालाई अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको हो। सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन। बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो। स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ।

सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताइन्।

उनले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गरिन्। उनले भनिन्, “हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ।”


Tweet