Classified Ads
कोभिड-१९ अपडेट

बनेपाका मनकारी घरबेटी–लम्बोदर कायस्थ

Posted in स्थानीय, बनेपा, अर्थ / बजार, कोभिड-१९ अपडेट on Jun10,2020


मध्यपहाडको व्यापारिक शहर बनेपामा फरक खालका सुविधाहरु भएको कमर्शियल भवनका रुपमा लम्बोदर कायस्थको स्वामित्वमा रहेको चारदोबाटो नजिकैको ‘बनेपा कमर्शियल’ लाई लिइन्छ ।

हुन पनि बनेपामै पहिलो पटक एटीएम लाउन्ज, व्यवस्थित पसल कवलहरु र पहिलो पटक इलेक्ट्रोनिक डिस्प्ले बोर्डमार्फत विज्ञापनहरु प्रदर्शन हुने व्यवस्था मिलाइएको भवनका रुपमा ‘बनेपा कमर्शियल’ लाई चिनिन्छ ।

यो फरक खालको अभ्यासमा लम्बोदरलाई उहाँका छोरा सगुन कायस्थले साथ दिइरहनु भएको छ । अनि उहाँहरुको यो भव्य ‘बनेपा कमर्शियल’ मा विभिन्न खालका पसलहरु सञ्चालन गर्दै आएका व्यवसायीहरुले घरबेटीलाई बहाल र खर्चबर्च धानेर परिवारको पालन गर्दै आइरहेका छन् ।

सबै व्यवसायीहरु आ–आफ्ना दैनिकीमा व्यस्त थिए, प्राइम लोकेशन भएकाले ग्राहकहरुको आकर्षणसमेत बढ्दो थियो । तर यही वीचमा नोबल कोरोना भाइरस(कोभिड–१९) ले नेपाललाई पनि आक्रान्त पार्न थाल्यो ।

सरकारले कोभिड–१९ सँग जुध्ने एउटै उपायका रुपमा लक डाउन निष्कर्ष निकाल्दै सबैलाई घरमै बस्न आदेश दिएपछि यही ‘बनेपा कमर्शियल’ लाई कर्मथलो बनाएर बसेका सबै व्यवसायीहरुको पनि कमाईमा लक डाउन लाग्यो, घरबहाल, स्टाफ तलब, बैंक ब्याजको मीटर भने लूज डाउन नै रह्यो अर्थात मीटर बढी रह्यो ।

त्यही उठेको घर बहालबाट ‘बनेपा कमर्शियल’ बनाउँदाको बैंक ऋणको किस्ता र ब्याजका साथै घर चलाउने खर्च धान्दैै आउनु भएका घरबेटी लम्बोदरको हालत पनि बहालमा बस्नेहरुको भन्दा कम्ती भएन । यो पटक सकिएला, अर्को पटक सकिएला भन्दाभन्दै लक डाउन आठौं चरणसम्म लम्बियो ।

किशोरावस्थादेखि कम्युनिष्ट विचारधारा बोकेर हिँड्नु भएका अनि पछिल्लो कालखण्डमा शिक्षासेवीका रुपमा चिनिनु भएका लम्बोदरलाई आफ्नै परिवारझैं बहालमा बसेका व्यवसायीहरुलाई लक डाउनले आम्दानीको बाटो बन्द भएको पीडाले सधैंभरि मन पोलिरह्यो । यसो हुनुमा उहाँलाई घरबेटी भन्दा पनि ‘बा’ भनेर बहालमा बसेका व्यवसायीहरुले सम्बोधन गर्दा सामीप्यता पाउँथे, अभिभावकत्व पाउँथे ।

‘जस्तो बाबु, उस्तै छोरा’ भनेझंै छोरा सगुनले पनि लम्बोदरलाई ‘बनेपा कमर्शियल’मा रहेका आफ्ना परिवार रुपी व्यवसायीहरुको पीडा बुझ्ने काममा मद्दत गर्नु भयो । किनकी सगुनले लामो समय ‘इमर्जेन्सी रेस्क्यू’ का काममा बटुल्नु भएका अनुभवहरुले शरीर बिरामी भएकाहरुको उद्धारझैं व्यवसाय नै बिरामी हुँदाको पीडालाई उहाँले पनि बोध गर्नु भयो ।

त्यही भएर नै बाबु लम्बोदर र छोरा सगुनले ‘बनेपा कमर्शियल’ लाई कर्मथलो बनाइरहेका व्यवसायीहरुको पीडामा मह्लम लगाउने निधो गर्नु भयो । त्यो थियो, चैत्र देखि असारसम्म ४ महिना अवधिमा तिर्नु पर्ने घरबहालमा ५० प्रतिशत छुट गरिदिने ।


Tweet