Classified Ads
कोभिड-१९ अपडेट

विदेशबाट आउनेहरुलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेपछि मात्र परीक्षण गरिने

Posted in राष्ट्रिय / सङ्घ, कोभिड-१९ अपडेट on Jul20,2020


अब विदेशबाट हवाइ मार्गमा नेपाल भित्रिनेहरुको लागि सरकारले पाँच दिनपछि अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो । बैठक स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको थियो ।

यसअघि १४ दिन क्वारेन्टिनमा बसेपछि मात्र परीक्षण गर्ने निर्णय गरेको थियो । विदेशबाट आउनेहरुलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेपछि मात्र परीक्षण गरिनेछ ।

१४ दिनपछि गरिने र ५ दिनअघि गरिने दुवै परीक्षण प्रक्रिया प्रभावकारी नभएकोले पाँच दिनपछि परीक्षण गर्ने निधो गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए ।

योसंगै स्थलगत मार्गबाट आउनेहरु, जोखिम पेशामा संलग्न व्यक्तिहरु, स्वास्थ्यकर्मी लगायतको परीक्षण गर्ने निर्णय भएको छ । नेपालमा तथ्यांकमा कोरोना संक्रमण घटेपनि छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढिरहेको र त्यहाँबाट आवत–जावत कायम रहेकोले अहिले पनि नेपाल संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

‘संक्रमण घटेपनि हामी उच्च जोखिममै छौं’ उनले आइतबार नियमित प्रेस ब्रिफिङको क्रममा भने । यो जोखिमलाई घटाउन परीक्षण भन्दा पनि हामीले अपनाउने सावधानी बढी भरपर्दो हुने उनले बताए । ‘ हामी सधै जोखिममा छौं, मुख्य कुरा हाम्रो बानी–व्यवहारमा सुधार हुनुपर्छ, अहिले कोरोनाको जोखिम घटेजस्तो गरी नियम उल्लंघन भइरहेको देखिन्छ, यसले थप जोखिम बढाएको छ ’ उनले भने ।


Tweet