Classified Ads
कोभिड-१९ अपडेट

जन्ती ढुङ्गाले सम्झाइदियो बेथान नारायण र बासडोलकी पञ्चकन्याको प्रेम कहानी

Posted in स्थानीय, बनेपा, बेथानचोक, जीवनशैली, घुमफिर on Oct09,2020


Source: रवीन्द्र तामाङ

सम्पदा र संस्कृतिकाबारेमा कतिपय कुरा लिखित भेटिन्छन् भनेर कतिपय कुराहरु किंवदन्तीहरुमा आधारित हुने गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा रहेका सम्पदा र संस्कृतिबारेमा खोजीनीति गर्दै जाने क्रममा अनेकौं तथ्यहरु सामुन्ने आइरहेका छन् । यसै सन्दर्भमा पछिल्ला केही महिनामा बनेपा–१२ बासडोलस्थित जन्ती ढुङ्गा घुम्न जाने र फोटो खिच्नेहरुको संख्या बढ्दो छ । यससँगै जन्ती ढुङ्गाकाबारेमा मान्छेपिच्छे फरक फरक कुराहरु आइरहेका छन् ।

राजधानीबाट आधा घण्टाको दुरीमा आफ्नो मोटरसाइकल, कार या बसमा एक घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १२ स्थित बासडोलमा पुग्न सकिन्छ । जहाँ ग्राम पर्यटनका संभावना बोकेका थुप्रै सम्पदाहरू रहेका छन् ।

जसमध्ये भौगोलिक, धार्मिक र प्राकृतिक महत्व रहेको साविक ढुङ्खर्कस्थित बेथान नारायण र बासडोलको पञ्चकन्यासँगको प्रेम प्रसङ्गको बारेमा यस अंकमा चर्चा गर्ने कोसिस गरिएको छ ।

कसरी पुग्ने जन्ती ढुङ्गा

काठमाडौ उपत्यकाबाट आउने यात्रीहरू साँगा, भँैसेपाटी, बासडोल, बुढा गणेशको मन्दिरबाट केही तल पुगेर ल्याकुन खोला पुग्दछन् । अनि उनीहरूले दुईवटा बाटो भेट्दछन्, एउटा बाटो पनौतीतर्फ लाग्ने रहेको छ भने अर्को बाटो चामखर डाँडातर्फ लाग्ने रहेको छ ।

यही चामखर जाने बाटोलाई नछोडीकन आधा घण्टा उकालो लागेपछि चामखर डाँडाको काखमा पुगिन्छ । जसको दक्षिण पट्टिको भिरालोमा उकालो उक्लदै गरेका मानिसहरू झैं लाग्ने २०/२५ वटा दर्शन ढुङ्गाहरू देख्न सकिन्छ । जसलाई जन्ती ढुङ्गा भन्दछन् ।

बेथान नारायण र पञ्चकन्याको प्रेम कहानी

आखिरमा यहाँ भेटिएका यस्ता दर्शन ढुङ्गाहरूलाई किन जन्ती ढुङ्गा भनिएछ भनेर खोजीनीति गर्दा एउटा रोचक प्रेमपरक कथा भेटियो ।

कथा अनुसार प्राचीनकालमा काभ्रेपलाञ्चोक बेथानचोक डाँडामा बसेका नारायणको नजर बासडोलको चामखर डाँडामा घुम्दै गरेकी पञ्चकन्यामा परेछ । त्यसपछि उनी पञ्चकन्यालाई भेटन एकदिन ढुङ्खर्क, पनौती हुँदै हिँडेर बासडोल आएछन् । त्यसपछि उनले पञ्चकन्यासँग प्रत्यक्ष भेट गरेछन् ।

भेटपछि पञ्चकन्याको सुन्दरताबाट नारायण झनै मोहित भएछन् । उनी यति मोहित भएछन् कि तत्कालै विवाह गरी बेहुली बनाएर बेथानचोक लैजान आतुर भएछन् ।

अनि उनी दिनहुँजसो बेथानचोक डाँडाबाट बासडोल आएर विवाहको लागि पञ्चकन्या फकाईफुलाई प्रस्ताव राख्न थालेछन् ।

तर, पञ्चकन्या भने आफू आजीवन विवाह नगरी कुमारी रहने र बुबाआमासँग बस्ने भनि प्रतिज्ञा गरेकोले कसैसँग पनि बिवाह गर्न नसक्ने जानकारी दिन थालिछिन् ।

एकदिन होइन, दुईदिन होइन्, सधैंजसो बेथानचोकबाट नारायण आई प्रस्ताव राख्ने र बासडोलकी पञ्चकन्याले प्रस्तावलाई नकार्ने क्रम महिनौंसम्म चलेछ ।

यसरी नारायणले जे जसरी भए पनि पञ्चकन्यालाई विवाह नगरि नछोड्ने लिँडे ढिपीका अगाडि पञ्चकन्या लामोसमय सम्म प्रतिज्ञामा अडिग हुन सकिनन् ।

विवाहको प्रस्तावमा आजित भएपछि पञ्चकन्याले स्वीकार गर्दै एकदिन भनिछिन्–‘ठिकै छ, ल अब म तपाईसँग विवाह गर्न राजी भएँ । तर मेरो एउटा शर्त छ है । यदि तपार्इंले मलाई विवाह गरेर लैजाने भए विवाह गर्न आउने दिनको सूचना पहिले नै दिनु पर्नेछ र जन्ती लिएर आउँदा पनि मध्यरातमा आउनु पर्नेछ । रातको प्रथम प्रहर अर्थात कुखुराको भाले बास्नु अघि नै मलाई बेहुली बनाएर लिएर जानु पर्नेछ । अन्यथा तपाईसँग मेरो विवाह हुने छैन । किनकी म कुमारी भएकीले अरू कन्याजस्तै दिनमा समाजको अगाडि विवाह गर्न सक्तिन’, उनले भनिछिन् ।

त्यसपछि नारायण हर्षले गद्गद् भएर बेथानतिर लागेछन् । यसरी नारायणलाई वचन दिएपछि आफूले आजीवन विवाह नगर्ने, कुमारी बस्छु भनी आमा बुवासामु प्रतिज्ञा गरेर कुमारी बसेकोमा आज आएर नारायणसँगको प्रेमको सामु आफ्नो प्रतिज्ञा विफल हुने भयो भनेर आत्मग्लानी गर्दै पञ्चकन्याले चिन्ता गर्दै बसिछिन् ।

जसका कारण उनी दिनप्रतिदिन दुब्लाउँदै गएको देखेपछि चुनदेवीले उनलाई सोधिछिन्–‘आजकल तिमीलाई के भएको छ हँ ? हामीलाई पनि खुलस्त भन, नत्र त ज्यानलाई राम्रो हुँदैन है? बिरामी परिएला है ।’

यसपछि पञ्चकन्याले आफू नारायणसँगको प्रेममा परेको र विवाह गर्नेसम्म कुरा भइसकेको कुरा चुनदेवीलाई बताउँदै भनिछिन् ‘म कुमारी भएकीले कुनै हालतमा पनि बिवाह गर्न चाहन्न र सक्तिन पनि । तर मैले नारायणको प्रेमजालमा परेर उहाँलाई वचन दिइ सकँे, त्यसैले मेरो विवाह भङ्ग हुने कुनै उपाय छ भने खोजी गर्नु पर्यो’ भनेर रून थालिछिन् ।

यसपछि चुनदेवीले बासडोलका स्थानीयहरूसँग बुझ्दा यो काम त डङ्डङे् गुफामा बस्ने बनझाँक्रीले सजिलैसँग गरिदिन सक्ने बताइ दिएपछि पञ्चकन्या र चुनदेवी दुबै जना बनझाँक्री को शरणमा पुगेर बेली बिस्तार लगाएछन् । सबै कुरा सुनेपछि बनझाँक्रीले भनेछन्, ‘कुनै चिन्ता लिनु पर्दैन, ढुक्क भएर बस्नु, आजीवन कुमारी बसेकीले तिम्रो विवाह कसै गरि पनि नारायणसँग हुन दिने छैन, त्यसको लागि तिमीले मैले भनेको दुई तीनवटा कुरा मान्नु पर्नेछ ।’

बनझाँक्रीले पञ्चकन्यालाई सुझाएका शर्तहरु यस्ता रहेछन्–‘एक तिमीले मलाई जन्ती आउने कुरा अघिल्लो दिनमा नै खबर गर्नु पर्नेछ, अर्को कुरा नारायण जन्ती लिएर आउने रातमा तिमी बेहुलीको भूषामा सजिएर आफ्नै थानमा घुम्टीसमेत ओडेर बस्नु पर्नेछ । अनि मुख्य कुरा बेहुली भएर सजिएर बसिसकेपछि कसैलाई पनि आफ्नो मुख नदेखाउनु है’ भन्ने बनझाँक्रीको शर्तहरु मान्दै चुनदेवी र पञ्चकन्या आ–आफ्नै थानमा फर्केछन् ।

उता नारायणले पनि आफ्ना घरपरिवार साथीभाईसँग सरसल्लाह गरेर पञ्चकन्यालाई म फलानो दिनको मध्यरातमा जन्ती लिएर विवाह गर्न आइपुग्नेछु भनेर खबर पठाएछन् । यता शर्तअनुसार जन्ती आउने दिनको जानकारी दिन पञ्चकन्या बनझाँक्रीकहाँ पुगिछिन् ।

त्यसपछि विवाहको दिन दिनभर बनझाँक्री आफ्नो डङ्डङे् गुफामा ढ्याङ्ग्रो बजाएर डङ्डङ्–डङ्डङ् गर्दै तन्त्रमन्त्र साधना गर्दै बसेछन् भने पञ्चकन्या बेहुलीको भूषामा सजिएर सिँगारपटार गरेर बसिछिन् । दिन पनि क्रमशः साँझ हुँदै छिप्पिएर रात हुँदै गएछ ।

उता मध्यरातमा बेथान नारायण बासडोलतर्फ पचासौं जना जन्ती लिएर महाँकाल थान, बाह्रबिसे, गेलुङ, पार्थली, देवीस्थान, खोपासी, पनौती, कुशादेवी, देउराली हुँदै चामखर फेदीको खिमडोल खोल्सोमा आइपुगेछन् ।

त्यसपछि बेहुला नारायण अघिअघि जन्तीहरू पछिपछि हुँदै उकालोको आधाआधी पुग्दै गर्दा माथि चौतारामा रहेको रातो कुखुराको भाले जोडजोडले कुखुरी काँ, कुखुरी काँ भन्दै बासेछ ।

बेहुला बनेका बेथान नारायणले भरखर मध्यरात सकिएको छ, आज के भयो कुन्नी कुखुराको भाले जोडजोडले कुखुरी काँ, कुखुरी काँ भन्दै बास्यो, ल बित्यास भयो, आफूले पञ्चकन्यालाई दिएको बाचा कबोल भङ्ग भयो, अब मेरो विवाह पञ्चकन्यासँग नहुने भयो भन्ने महसुस गरेछन् ।

अनि आफूसँग आएका पचासौं जना जन्तीहरूलाई जो जहाँ छन्, त्यही शिलाका रूपमा परिणत गराईदिएर, आफू भने लाजले अन्तरध्यान भएर बेथानमा पुगेछन् ।

जन्ती ढुङ्गासँग सम्बन्धित अन्य स्थलहरू

बेथान नारायण र पञ्चकन्याको प्रेम कहानीका कारण बासडोलको चामखर डाँडाको काखमा खिमडोल खोल्साभन्दा माथि उकालोमा आज पनि नारायणका जन्तीहरू दर्शन ढुङ्गामा परिणत भएको, नारायणसँग पञ्चकन्याको विवाह नहोस् भनी बनझाँक्रीले डङ्डङ् ढ्याङ्ग्रो बजाएर साधना गरी बसेको डङ्डङे गुफा र कुँवर गाउँमा रहेको पञ्चकन्या थानमा कुमारी बेहुलीको रूपमा सजिएर घुम्टी ओडेर बसेकी पञ्चकन्याका शिला आजसम्म देख्न सकिन्छ ।

अब के गर्दा राम्रो होला?

भौगोलिक, धार्मिक र सामाजिक महत्व बोकेको तर ओझेलमा परेको जन्ती ढुङ्गाको बारेमा हालसालै सोसल मिडियाहरु युट्युब र फेसबुकबाट भएका प्रचारप्रसारका कारण हिजोआज पनौती र बासडोलका मानिसहरू मर्निङ र इभिनिङ वाक गर्न त्यहीँ पुग्ने गरेका छन् ।

सार्वजनिक बिदाका दिनमा राजधानीका तीनै सहरका मानिसहरू आफ्नो व्यस्त जीवनबाट फ्रेस हुन र मनोरञ्जनका लागि आफ्नै बाइक, गाडी र क्यूको गाडीमा समेत जन्ती ढुङ्गा भएको ठाउँमा पुग्ने गरेका छन् ।

तर जन्ती ढुङ्गा रहेको स्थानमा राम्रो खाजा खाने होटल, बस्ने पार्क स्थल र स्थानीय जानकारी दिने गाइडहरू नभएका कारण त्यहाँ पुगेका व्यक्तिहरु चामखर डाँडाको फेदीमा आफूले बोकेका खानेकुराहरू खानपीन गरी, नाचगान गरेर र मोबाइलबाट सेल्फी खिचेर फर्किरहेका देख्न सकिन्छ ।

यस्तै जन्ती ढुङ्गासँग सम्बन्धित रहेको जन्ती ढुङ्गा रहेको स्थानकै विपरित दिशाको कन्दरामा रहेको बनझाँक्री बस्ने प्राकृतिक डङ्डङे गुफाको अवलोकन र कुँवर गाउँमा रहेको पञ्चकन्या कुमारीको थानमा दर्शनभ्रमण नगरी फर्कने गरेका छन् ।

जन्ती ढुङ्गाको अवलोकनका लागि आउने जोसुकै आन्तरिक पर्यटकहरूले डङ्डङे गुफा र पञ्चकन्या कुमारीको थानसमेत अवलोकन गर्न सकुन भनेर चामखर डाँडाको काखमा रहेर यो आलेख लेखिएको हो ।

साथै बनेपा नगरपालिका, नगरपालिकाको वडा नम्बर १२ बासडोल र स्थानीयवासीहरू मिलेर जन्ती ढुङ्गा र यससँग सम्बन्धित स्थानहरूलाई कसरी आकर्षक बनाउने योजनाहरू तयार गर्न सकिन्छ र तिनलाई कसरी निर्माण गर्न सकिन्छ भनेर एउटा गुरूयोजना बनाएर अघि बढ्न सकेको खण्डमा बासडोलको जन्ती ढुङ्गा ग्राम पर्यटक स्थलको एउटा नमूना गन्तब्य बन्न सक्ने संभावना पर्याप्त रहेको छ ।

(सम्पदा संस्कृतिका अध्येता तामाङको बासडोल नामक प्रकाशोन्मुख पुस्तकबाट साभार)

प्रतिक्रियाको लागिः rabindratamang@gmail.com

फोटोः विवेक लामा https://www.facebook.com/bibek182


काभ्रेपलाञ्चाेकबाट शुक्रबार प्रकाशित हुने बेथानचाेक साप्ताहिकबाट साभार गरिएकाे


Tweet