Classified Ads
कोभिड-१९ अपडेट

चेम्बरको ७० औं स्थापना दिवस मनाइयो

Posted in स्थानीय, काभ्रेपलान्चोक, अर्थ / बजार, कोभिड-१९ अपडेट on Oct13,2020


काभ्रेपलाञ्चोक चेम्बर अफ कमर्शले मङ्गलबार नेपाल चेम्बर अफ कमर्शको ७० औं वर्ष प्रवेश तथा चेम्बर दिवस–२०७७ लाई विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाएको छ ।

जिल्ला शाखाका अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार दिवसको अघिल्लो दिन पनौती नगर शाखा र बनेपा नगर शाखाको समन्वयमा विभिन्न स्थानमा शुभकामना सन्देशसहितका ब्यानरहरू टाँगिएको र चेम्बरका बारेमा व्यवसायीहरुलाई जानकारी गराइएको थियो ।

यसैगरी मंगलबार नै नेपाल चेम्बर अफ कमर्श र ७७ वटै जिल्ला शाखा अध्यक्षहरूवीच कोभिड–१९ संक्रमणले उद्योग व्यवसायमा पारेका प्रभावहरू र कोभिडपश्चात नेपालका उद्यमी व्यवसायीहरूले अपनाउनु पर्ने कदमहरूबारेमा भर्चुअल बैठक आयोजना गरिएको श्रेष्ठले जानकारी दिनु भयो ।

चेम्बर र लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको संयुक्त सहयोगमा बनेपा ब्वाइज क्लबको अभियान ‘रोगले भन्दा अघि भोकले नमरून्’ भन्ने पवित्र उद्देश्यले सुरू भएको खाना खुवाउने कार्यक्रमका निम्ति १४ हजार रूपैंयाबराबरको १० बोरा चामल प्रदान गरेको छ ।

सो क्लबको समन्वयमा बनेपा नगरपालिकाको संरक्षण र आपसको निम्ति समाजको सहकार्यमा सुरू भएको खाना खुवाउने कार्यक्रमको मंगलबार एक सयभन्दा बढी भोका नागरिकले निःशुल्क भोजन ग्रहण गरेको श्रेष्ठले जानकारी दिनु भयो ।

यस्तै, चेम्बर दिवसकै अवसरमा काभ्रेपलाञ्चोक चेम्बर अफ कमर्शले ब्लड डोनर्स एसोसियसन अफ काभ्रेपलाञ्चोकको सहकार्य तथा लायन्स क्लब अफ काठमाण्डौं टेम्पल चण्डेश्वरी र सत्यसाई अस्पताल प्रालि बनेपाको समन्वयमा कात्तिक ३ गते सोमबार अस्पताल प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।


Tweet