Classified Ads
कोभिड-१९ अपडेट

अभिभावक र शिक्षकलाई राहत बाँड्ने बनेपाको स्कूल

Posted in स्थानीय, बनेपा, रोजगारी, कोभिड-१९ अपडेट on Oct13,2020


कोभिड–१९ संक्रमण फैलन त्रासले चैतदेखि नेपालका सामुदायिक र संस्थागत दुबै खाले विद्यालयहरु बन्द रहेका छन् । करीब ७ महिना लामो विद्यालय बन्दकै कारण विद्यार्थीहरुले प्रत्यक्ष शिक्षण सिकाईमा भाग लिन पाएनन् ।

संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुले पारिश्रमिकसमेत पाउन नसकेको अवस्था छ । यी सबै कुराको भरथेग गर्दै आएका अभिभावकहरु झन ठूलो मर्कामा परेका छन्, किनकी कतिपयको जागीर गुमेको छ भने कतिपयले अनौपचारिक क्षेत्रमा पाइरहेको काम समेत बन्द भएको छ ।

यस्तोमा आफु र बालबच्चालाई के खुवाउँ भन्ने चिन्तामा रहेका आफ्ना अभिभावक र शिक्षकहरुलाई बनेपाको संस्थागत विद्यालय इशा मेमोरियल स्कूलले खाद्यान्नसहितको राहत सामग्रीहरु वितरण गरेको छ ।

‘कोभिड–१९ रिलिफ प्याकेज फर प्यारेन्ट्स एण्ड टिचर्स’ अन्तर्गत यसरी राहत सामाग्री वितरण गरेको हो । पहिलो चरणमा सोमबार १० जना कर्मचारी र २७ जना अविभावकलाई राहत वितरण गरिएको स्कूलले जनाएको छ ।

वितरित राहतमा १ बोरा चामल, २ प्याकेट नुन, २ केजी दाल, १ लिटर तेल र १ केजी चिनी रहेको छ । यस्तै ९ जना सुत्केरी अभिभावकलाई ब्ल्याङ्केट एक÷एक थानसमेत उपलब्ध गराइएको छ ।

‘विद्यालय र अविभावक एउटै परिवार जस्तै भएकाले दुःख परेका बेला सकेको सहयोग गर्नु आवश्यक ठानेर राहत कार्यक्रमलाई अगाडि ल्याएका हौं’, स्कूलका प्रबन्ध निर्देशक नारायण जोशीले भन्नु भयो ।

स्कूलकी अध्यक्ष सूर्यप्रभा शाक्यले भन्नुभयो, ‘कोभिड–१९ ले सबै क्षेत्रलाई आक्रान्त पारेको छ । यसमा शिक्षक र अभिभावकहरु झनै मर्कामा हुनहुन्छ । त्यही भएर यो राहत कार्यक्रम अन्तर्गत दोस्रो चरणमा समेत राहत सामाग्री वितरण गर्ने योजना बनाएका छौं’, उहाँले भन्नु भयो ।


Tweet