Classified Ads
कोभिड-१९ अपडेट

संसारकै धनाढ्य बिल गेट्सको ‘गेट्स नोट्स’ का सात जना ‘हिरोज्’ मा नेपालबाट पनौतीकी लक्ष्मी रायमाझी

Posted in पनौती, अन्तर्राष्ट्रिय, कोभिड-१९ अपडेट on Oct15,2020


Source: बेथानचाेक साप्ताहिक

अघिल्लो महिनासम्म पनौती–५, ढलमलेकी लक्ष्मी रायमाझीलाई छरछिमेकी, आफन्त, सेवारत कार्यालय र उहाँबाट सेवा पाइरहेका सेवाग्राही र साथीसँगीले चिन्दथे । मेरी स्टोप्स इन्टरनेसनल/सुनौलो परिवार नेपालको भिजिटिङ सर्भिस प्रोभाइडर(भिएसपी) का रूपमा कार्यरत उहाँले काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरूमा सेवा दिँदै आउनु भएको छ ।

कठिन बाटाहरू पार गर्दै घण्टौंसम्मको हिँडाइपछि पुगिने संस्थाहरूमा कार्यालयले प्रदान गर्दै आएका दीर्घप्रभावी उल्ट्याउन सकिने निरोध (लार्क) समूहमध्येका आइयूसिडी र कन्ट्रासेप्टिभ इम्प्लान्ट सहित सुरक्षित गर्भपतनका सेवाहरू प्रदान गर्नमा लक्ष्मीको उल्लेख्य भूमिका रहन्थ्यो । यो क्रम कोभिड–१९ संक्रमण नेपालमा नफैलिएको अवस्थासम्म निरन्तर चलेको थियो ।

यसैवीचमा नेपालमा पनि कोभिड–१९ को संक्रमण फैलने क्रम सुरू भयो । सरकारले नागरिकहरूलाई संक्रमणबाट जोगाउन देशव्यापी रूपमा लकडाउन घोषणा गर्यो । यस महामारीको अवधिमा धेरै सरकारी स्वास्थ्य सेवा प्रदायकहरू कोभिड–१९ र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नमा मात्रै केन्द्रित भए । यसो हुँदा यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरूलाई प्राथमिकताका रूपमा पर्न छाड्यो ।

यसबाट विगतमा सेवा पाइरहेका महिलाहरू यौन तथा प्रजनन स्वास्थ्य सेवा पाउनबाट बञ्चित भए । कोरोना भाइरस संक्रमण भइहाल्ला कि भनेर महिलाहरू पनि स्वास्थ्य संस्थामा जानै डराएको अवस्था रह्यो । तर, सारा संसार कोभिड–१९ को महामारीबाट त्रसित भएर आफू बाँच्ने योजना बनाइरहेका बेला लक्ष्मी भने दैनिक लामो पैदलयात्रामा गाउँ–गाउँका स्वास्थ्य संस्थासम्म पुगेर आफ्ना सेवाग्राहीहरूले पाइरहेको सेवालाई निरन्तरता दिने काममा खटिइरहनु भयो ।

कोभिड–१९ जस्तो महामारीको विषम परिस्थितिमासमेत यौन तथा प्रजनन स्वास्थ्य सेवा आवश्यक भएका काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूलाई लक्ष्मीले नियमित सेवा प्रदान गरिरहेको कुरा उहाँ कार्यरत सुनौलो परिवार नेपालमार्फत मेरी स्टोप्स इन्टरनेसनल हुँदै संसारकै धनाढ्य बिल गेट्ससम्म पुग्यो । त्यसपछि लक्ष्मीको कामलाई बिल गेट्सको ब्लग ‘गेट्स नोट्स’ ले ‘कोभिड–१९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिहरूको कथा’ मा समेट्यो ।

यसमा लक्ष्मीबाहेक अफगानिस्तान, पाकिस्तान, भारत, दक्षिण अफ्रिका, जाम्बियालगायत देशका नागरिकहरूको नाम पनि आएको छ । हिजोसम्म काभ्रेपलाञ्चोक जिल्लामामात्रै सीमित रहेको लक्ष्मीको नाम यतिखेर सारा संसारले चिन्ने भएको छ–हिरोज्का रूपमा ।

‘महिलाको राम्रो स्वास्थ्यका लागि लामो यात्रा’ शीर्षक दिएर गेट्स नोटस्मा लेखिएको छ, ‘अहिले संसारका निम्न तथा मध्यम आय भएका राष्ट्रका महिलाहरूले यौन तथा प्रजनन् स्वास्थ्य सेवाका एकै खाले समस्याहरू भोगिरहनु परेको छ । एक अनुमान अनुसार यौन तथा प्रजनन स्वास्थ्य सेवा नपाउँदा यी राष्ट्रका ४ करोड ९० लाख महिलाहरू अर्को वर्षमा नराम्ररी प्रभावित हुनेछन् । यसैका कारण डेढ करोड महिलाले अनिच्छित गर्भधारण गर्न बाध्य हुनेछन् । यद्यपि लक्ष्मी र उहाँजस्ता हजारौं सेवा प्रदायकहरू निम्न तथा मध्यम आय भएका राष्ट्रका महिलाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा समस्या नआओस भनेर यस्तो महामारीमा समेत सेवा प्रदान गरिरहनु भएको छ । लक्ष्मीले नेपालका दूरदराजका स्वास्थ्य संस्थाहरूमा पुगेर यौन तथा प्रजनन स्वास्थ्य सेवाको आवश्यकता भएका महिलाहरूलाई सेवा प्रदान गरिरहनु भएको छ । व्यक्तिगत रूपमा भेटेर सेवा दिन नसकिएका महिलाहरूलाई फोनबाट समेत सेवा दिइरहनु भएको छ’ नोट्समा उल्लेख छ ।

यो समाचारका लागि हामीले विहीबार विहान फोन गर्दा लक्ष्मी मेथिनकोट अस्पतालमा प्रजनन स्वास्थ्य सेवा दिइरहनु भएको थियो । तेमाल, मेच्छेपौवामा जन्मनु भएकी लक्ष्मीले स्कूले शिक्षा समाप्तिसँगै अनमी कोर्श गर्नु भएको हो । तेमालकै चापाखोरी स्वास्थ्य चौकीमा केही समय सेवा गरेपछि ग्रीनतारा नेपालगायतका संस्थाहरूमा काम गर्नु भएको थियो ।

सन् २०१७ को अगष्टबाट मेरी स्टोप्स इन्टरनेसनल÷सुनौलो परिवार नेपालको बनेपा शाखामा काम गर्न थाल्नु भएकी लक्ष्मी संसारका सात जनामध्ये आफू पर्न सफल भएकोमा औधी खुशी हुनुहुन्थ्यो ।

उहाँले भन्नुभयो, ‘मलाई नेपालबाट हिरोज् छनौट गरिएको भए पनि यो मेरो कार्यालय र मेरो टीमका कारण सम्भव भएको हो । कामको दौरानमा टीम बनाएरै काभ्रेका धेरै दुर्गम स्वास्थ्य संस्थाहरूमा पुगियो । त्यहाँका महिलाहरूको आवश्यकताअनुसार सेवा गरियो । यतिखेर सारा संसारले चिन्नु भनेको मैले सेवा दिने क्रममा खुशी हुनु भएका महिलाहरूकै आशीर्वाद हो । यसमा मेहनतको मूल्यांकन भएको छ । यसले मलाई अझ उत्साही बनाएको छ र काम गर्ने हौसला थपिदिएको छ’, लक्ष्मीले भन्नु भयो ।

गेट्स नोट्समा उहाँको भनाईलाई यसरी समेटिएको छ, ‘यदि मेरो प्रयत्नले, महिलाको स्वास्थ्य राम्रो हुन्छ र हाम्रा समुदायहरूमा एउटा स्वस्थ प्रभाव पर्छ भने, म आभारी हुनेछ ।’

बिल गेट्सकाे गेट नोट्समा के लेखिएकाे छः https://www.gatesnotes.com/Health/7-unsung-heroes-of-the-pandemic


Tweet