Classified Ads
कोभिड-१९ अपडेट

बनेपा शहरमाथि नागी डाँडाको नागले काठमाडौं उपत्यकाको नाग दहको तक्षक नागको कथा सम्झाउँछ

Posted in स्थानीय, बनेपा, पनौती, जीवनशैली, घुमफिर on Oct16,2020


Source: रवीन्द्र तामाङ

चारैतिर पहाड पर्वतको बीचमा यदि तपाईले कुनै सुन्दर गाउँ, शहर र नगर बसेको देख्नु भयो भने अवश्य पनि त्यस गाउँ, नगर र शहर बस्नुभन्दा पहिले सो स्थानमा प्राकृतिक दहहरु थिए भने सम्झँदा फरक पर्दैन । यस्तै दहबाट उर्वर भूमि, त्यसपछि मानव बस्ती बसेका उदाहरणहरु प्रशस्तै रहेका छन् । यसरी मानव बसोवास शुरु भएपछि मात्रै ती दहमा बनेका गाउँ, शहर र नगरहरुमा प्रायः अनेकौं नागनागिनीका कथाहरु सुन्न पाइन्छन् ।

यस्तै उपत्यकाहरुमध्ये काभ्रेपलाञ्चोकको बासडोल गाउँ, पनौती शहर र बनेपा नगर पनि पर्दछन् । जहाँ मानव बस्ती बस्नुभन्दा पहिला साना ठूला दहहरु रहेका थिए । दहका पानी विभिन्न खोलानालाहरु भएर पनौती, सल्मीटार हुँदै बाहिरिएपछि रमणीय र मनोरम उपत्यका बनेका कुरा भूगर्भ शास्त्रीहरुले व्यक्त गर्दै आएका छन् ।


नागी डाँडाको अवस्थिति र नामकरण

यीनै बासडोल, बनेपा र पनौतीको सीमानामा नागी डाँडा उत्तरतिर शीर, मध्यमा जीउ र दक्षिणतर्फ हातखुट्टा पारेर केही सुतेको आभास हुन्छ । शक्तिशाली नागको बसोबास रहेकोले यस डाँडाको नामकरण ‘नागी’ भएको हो भन्ने स्थानीयहरुको भनाई रहेको छ ।

जसबाट पनि नागी डाँडा नागसँग सम्बन्धित डाँडा हो भन्ने प्रष्ट बुझिन्छ । साँगा भैँसेपाटी बासडोलबाट दक्षिण–पूर्व, बनेपा नगरबाट दक्षिण–पश्चिम र पनौती शहरबाट उत्तर–पश्चिमतर्फ देखिने वनजङ्गलले ढाकेको हरियाली अग्लो जुरोसहितको डाँडो हो, नागी डाँडा । जसको सामान्य चर्चा यस अङ्कमा गरिएको छ ।


नागी डाँडाको पानी पार्ने नाग

उहिले उहिले धान रोपाइँका लागि असार १५ सम्म प्राकृतिक रुपमा वर्षा हुनेछ भनेर साँगा, बनेपा, बासडोल र पनौती भेगका किसानहरु कुर्दथे । केही गरी असार १५ सम्म पनि वर्षा भएन भने अनिकाल पर्न सक्छ भनेर उनीहरु पनौतीको रक्षक बासुकी नागसँग पानी माग्न असार १६ गते विहानै आराधना गर्दै क्षमा माग्न पुग्दथे ।

यसरी क्षमा पूजा गर्दा पनि दिनभरीमा वर्षा भएन भने उपरोक्त क्षेत्रका मानिसहरु साँझपख किसानहरुको समूह नै भई कराइ–कराइ पानी माग्दै आ–आफ्ना बजारको परिक्रमा गर्दथे । यसो गरेको चारपाँच दिनसम्म पनि पानी परेन भने उनीहरु नागी डाँडामा रहेको नागसँग पानी माग्न समूह समूह बनाएर बाजागाजासहित पुग्दथे ।

नागीडाँडामा रहेकाे गौचर/चौर

अनि नागी डाँडाको थुम्कोको केही तल रहेको सीम दहमा रहेकोे छिपछिपे हिलोमा पसेर उफ्रदैँ हिले जात्रा गर्दथे । अनि सोही दहको माटो उठाई सम्पूर्ण शरीरभरी दल्दथे । अनि एक अर्कामा हिलो छ्यापाछ्याप गरी हिलाम्य हुन्थे । त्यसपछि ठूलोठूलो स्वरले ‘पानी देऊ’ भनेर नागी डाँडाका नाग र उनका पनि देव महादेवसँग पानी माग्दथे । अनि दहको हिलो बोकेर फर्कन्थे ।

अनि आ–आफ्ना गाउँ, शहर र नगरमा रहेका देवीदेवताको मन्दिरमा रहेका मूर्तिहरुमा उक्त माटो लगाई दिन्थे । अनि पानी माग्दै आ–आफ्ना गाउँ, शहर र नगरमा पानी माग्दै परिक्रमा गर्ने गर्दथे । यसो गर्नुको मतलब देवीदेवताहरु फोहर भएको ठानेर नागी डाँडाको नागले पानी पारी दिन्छन भन्ने रहेछ ।

यसो गरिएको तीन दिनमा पानी पर्छ भन्ने धारणा उपरोक्त स्थानका किसानहरुमा थियो । तर समय बदलिएको छ, अहिले किसानहरु पानी माग्न नागी डाँडा आउने परम्परा लोप हुँदै गएको छ भन्दा फरक नपर्ने स्थानीय बुढापाकाहरुको अनुभूति रहेको छ ।


नागी डाँडाको कुष्ठरोगी नागको कथा

नागी डाँडाको हिले दहमा कुष्ठरोग लागेको एक नाग बस्दथे भन्ने मान्यता छ । त्यही भएर पानी नपरेको बखतमा पानी माग्न र हिले नाग लागेर घाउ खटिरा आएर दुःख भएमामात्र सो दहमा मानिसहरु क्षमा पूजा गर्न पुग्दथे । नत्र सो दहको वरिपरि फोहरमैला गरेमा नाग लाग्छ मानिसहरु भनेर जाँदैन थिए ।

पछिसम्म पनि बासडोलका मानिसहरु नागी डाँडामा कुष्ठरोग लागेको एउटा अशक्त नाग बस्ने गरेको कुरा भन्ने गर्दथे । टौदह र दुम्जाको नागबीच शक्ति सङ्घर्ष हुँदा घाइते भएको नाग नागी डाँडामा बसेको हो भन्ने भनाई रहेको भएपनि यस सम्बन्धी पूर्ण कथाको खोज भइरहेको छ, यद्यपि यो आलेख तयार हुँदासम्म प्राप्त गर्न सकिएको छैन ।

उपत्यकाबाहिरको दाँजोमा काठमाडौं उपत्यकाका दहहरुको अध्ययन गर्दा नाग सम्बन्धी थुप्रै कथा पाइन्छन् । जसमा तक्षक नागको वर्णन पनि पाइन्छ । जसमा बोधिसत्व महामुनी मञ्जुश्रीले काठमाडौंको नागदहको पानी चोभारको गल्छी काटेर पठाउनु भयो । यसरी पानी पठाउँदा दहका ससाना थुप्रै नागहरु बगेर उपत्यकाबाट बाहिरिए ।

तर, शक्तिशाली केही नागहरु भने बाँकी रहे । आफ्नो बासस्थान नागदहको तहसनहस गरी मानव बसोवास गराएको रिसको झोकमा काठमाडौं उपत्यकाका थुप्रै मानिसहरुलाई यीनै शक्तिशाली नागहरुले टोकेर मारिदिए । यीमध्येको एउटा नाग थिए–तक्षक नाग ।

मञ्जुश्रीले बसोबास गराएका मानिसहरुलाई विषालु दाँतले टोकीटोकी मारेको पाप तक्षक नागलाई लाग्यो । परिणामतः उनलाई महारोग लाग्यो । महारोगका कारण उनको शरीरका भागहरुमा कुष्ठरोगका अनेकौं घाउहरु भई शरीर टुक्राटुक्रा भई झर्न थाल्यो । जिउ कुहिएर दुर्गन्धमय भयो, शरीर फोहर भयो । अनि तक्षक नाग आफ्नो दुर्धन्धित र फोहरी शरीरको निवारणको लागि शारीरिक कष्ट सहेर दुःख भोग्दै यत्रतत्र घुम्दै रहे । तर, केही उपाय लागेन ।

त्यसपछि उनलाई अमोघपास लोकेश्वरको शरणमा पुगेर उपोषध व्रतमा बसेमा उनको महारोग नाश भएर जानेछ भनेर भिक्षुले उपाय सुझाए र सोही बमोजिम ब्रत बस्दा तक्षक नागले मुक्ति पाए भनिएको छ ।


कथा विश्लेषण

नागी डाँडाको नागलाई कुष्ठरोग लागेको कुरा कथाको अंश एकातिर पाइन्छ भने अर्कोतिर काठमाडौंको तक्षक नागलाई पनि कुष्ठरोग लागेको कथा रहेको छ । यसबाट दुबै कथाको सम्बन्ध एक अर्कामा देखिएकोले कतै तक्षक नाग काठमाडांैबाट नागी डाँडामा आएर एकताका बसेका थिए कि भन्न सकिन्छ ।

सम्पदा संस्कृतिका अध्येता रवीन्द्र तामाङ स्थानीयहरुसँग नागीडाँडाकाे बारेमा साेधीखाेजी गर्दै

यस्तै, साँगा, बनेपा, पनौती भेगमा मानिसहरुले उनको उपासना नगरेपछि यीनै नागले खेतीको समयमा पानी पार्न रोकिदिएका थिए कि? भनेर अनुमान पनि गर्न सकिन्छ । त्यसपछि पनौतीका तान्त्रिकहरुको सहायताबाट तक्षक नाग आएर नागी डाँडामा रहेको कुरो पत्ता लागेपछि खेतीको समयमा केही गर्दा पनि वर्षा नभएमा नागी डाँडामा आएर पानी माग्ने परम्परा पनौती भेगका किसानहरुले सुरु गरेको ज्ञात हुन्छ । यो परम्परा पनौतीबासीहरुले पछिसम्म पनि गरेको पाइन्छ ।

नेपाली लोककथामा नागको भूमिका वर्षा गराउने भएको पाइन्छ । यसका साथै नाग सदैव मित्रहरुको मित्र, शत्रुहरुको शत्रुका साथै फोहरमैलाको सदैव बिरुद्ध रहेको पाइएको छ । यस आलेखमा कोरिएका सामान्य चर्चामा पनि नागी डाँडाको विषयवस्तुमध्ये पानी, फोहरमैला, कर्मको भोग, कृषि प्रथा र कृषकसँग गाँसिएको पाइएको छ ।

नागी डाँडाको अपूर्ण कथामा थप खोज अनुसन्धान हुन बाँकी नै छ । यस आलेख र प्राप्त हुने प्रतिक्रिया तथा सुझावहरुबाट सो कुराले पूर्णता पाउने अपेक्षा लेखकको रहेको छ ।


अन्तमा

नागीडाँडामा शाक्यहरुले बनाएको ढुङ्गाको स्तूपा

धार्मिक महिमा रहेको नागी डाँडा हराभरा वन जङ्गलको थाप्लोमा रहेको छ । मौसम अनुकूल रहेमा यहाँबाट उत्तरतर्फ रहेका सम्पूर्ण हिमाली श्रृङ्खलाका साथै सूर्योदय र सूर्यास्त पनि यहाँबाट प्रष्टसँग देखिनुका साथै यस डाँडाबाट पूर्वमा नाला, बनेपा, धुलिखेल, पश्चिममा साँगा, भक्तपुर, काठमाडौं उपत्यका, उत्तरमा नगरकोट र दक्षिणमा पनौती, बिहावर, फूल्चोकीसम्मका पर्वतीय श्रृङ्खलाहरु देख्न सकिन्छ ।

डाँडाका थाप्लोमा ठुलाठुला गौचर/चौरहरु रहेका छन् । जसले गर्दा पिकनिक र भेलाहरु गर्न पनि उपयुक्त थलो बनेको छ । यसका साथै केन्द्र सरकारले पटकपटक आन्तरिक विमानस्थल निर्माण गर्ने भनी सर्वेक्षण गरेको समाचारले नागी डाँडा चर्चित हुँदै आएको छ ।

काठमाडौं उपत्यकालगायत साँगा, बनेपा, पनौती भेगबाट ‘रिफ्रेसमेन्ट’ र मनोरञ्जनका लागि आउने आन्तरिक पर्यटकहरुको लागि नागी डाँडा हाइकिङ, साइक्लिङ र बाइकिङका लागि उपयुक्त स्थल रहेको छ भन्दा फरक नपर्ला !

(सम्पदा संस्कृतिका अध्येता तामाङको बासडोल नामक प्रकाशोन्मुख पुस्तकबाट साभार)

प्रतिक्रियाको लागिः rabindratamang@gmail.com

सहायक ग्रन्थः तुयुकाजी ताम्राकार, २०६८, पनौतीका प्राचीन कथाहरु । कुराकानीः बासडोल र पनौतीका बुढापाकाहरुसँग ।


काभ्रेपलाञ्चाेकबाट शुक्रबार प्रकाशित हुने बेथानचाेक साप्ताहिकबाट साभार गरिएकाे


Tweet