Classified Ads
कोभिड-१९ अपडेट

लिच्छविकालीन भैसेपाटी–बासडोल–पनौती पदमार्गमा रहेको बुढा गणेशको पाषाण मूर्ति रहेको मन्दिरबारेमा चर्चा

Posted in स्थानीय, बनेपा, जीवनशैली, घुमफिर on Oct20,2020


Source: रवीन्द्र तामाङ

प्राचीन भैसेपाटी–बासडोल र पनौती मार्गको प्रसङ्गः

लिच्छविकाको सुरुवातको समयमा भारत र नेपाल बिचमा आवतजावत गर्ने मुख्य बाटो विदेहको राजधानी मिथिला नै थियो र त्यहाँबाट कमला नदीको किनारैकिनार भएर नेपाल उपत्यका भित्र प्रवेश गर्नु पर्दथ्यो भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नोे पुस्तक नेपालको साँस्कृतिक परम्परा भन्ने पुस्तकमा लेख्नु भएको छ ।

यही नेपाल अर्थात तत्कालीन काठमाडौं उपत्यका (काठमाडौ, ललितपुर र भक्तपुर) बाट भारत प्रस्थान गर्दा यात्रुहरु साँगा भञ्ज्याङ, भैँसेपाटी, बासडोल, पनौती, महाभारत, सिन्धुलीको कमला नदी भएर जनकपुर (विदेह) पुग्ने गर्र्दथे । भारतबाट नेपाल फर्कँदा पनि यात्रीहरु उल्लेखित बाटोकै प्रयोग गर्दथे ।

यस बाटोको प्रयोग गर्नेहरुले नेपालबाट भारत प्रवेश गर्दा पहिलो बास र भारतबाट नेपाल प्रवेश गर्दा अन्तिम बास बासडोलमा बस्ने गर्दथे । यही लिच्छविकालिन मार्गको पहिलो कडीमा साँगा–भैसेपाटी–बासडोल–पनौती मार्ग पर्दछ ।

प्राचीन बासडोल मार्गमा रहेका गणेशका तीन ढुङ्गे मूर्तिहरुः

यही मार्गमा तीन वटा प्राचीन प्राकृतिक ढुङ्गे गणेशका मूर्तिहरु पर्दछन् । जसमा टौडोल गणेश, जमुनी गणेश र बुढा गणेश रहेका छन् ।

जसमा पहिलो प्राकृतिक ढुङ्गे गणेशको मूर्तिमा टौडोल गणेश पर्दछ । यो मूर्ति भैसेपाटी बजारको दक्षिणपट्टि उर्वर खेतको बीचमा रहेको छ ।

दोस्रो प्राकृतिक ढुङ्गे गणेशको मूर्तिमा जमुना गणेशको मूर्ति पर्दछ । यो मूर्ति बासडोलको देउराली नपुग्दै मूल बाटोमा पर्दछ ।

तेस्रो बुढा गणेशको प्राकृतिक ढुङ्गे मूर्ति बासडोलको देउरालीबाट ओरालो झर्दै गएपछि पनौती पुग्ने मार्गको करिब–करिब आधा बाटोमा पर्दछ । यस मार्गमा पर्ने तीनवटै गणेशका प्राकृतिक ढुङ्गे मूर्तिहरु हात्तीको टाउको आकारका रहेका छन् ।

पुरातत्वविद्हरुले अमूर्त ढुङ्गे मूर्तिहरु लिच्छविकालभन्दा अघि अर्थात किराँतकालिन हुन सक्ने कुरा आँकलन गरेका छन् । यि मूर्तिहरु राजामहाराजाले निर्माण गरेको नभई स्थानीय जनताहरुले पत्ता लगाएकाले यस्ता सम्पदाहरुमाथि मन्दिरहरु निर्माण नभएका हुन् ।

तापनि आस्थाका आधारमा यी गणेशका मूर्तिहरुको दर्शन र पूजनमा स्थानीयकासाथै यस मार्ग भएर हिड्ने यात्रीहरु, बटुवाहरु र तीर्थयात्रीहरुको सहभागिता रहँदै आएको पाइन्छ । आफ्नो मनोकामना पुरा होस, कार्यसिद्धि होस् र बिघ्नबाधा नपरोस् भन्ने आशाले गर्ने दर्शन र पूजन गरेको देखिन्छ ।

भैसेपाटी–बासडोल–पनौती मार्गमा हिँड्ने यात्रीहरुले आफ्नोे कार्यसिद्धि होस् भनेर दर्शन र पूजन गर्ने गरेका थिए भन्न सकिन्छ । यस अङ्कमा बासडोलको प्रसिद्ध बुढा गणेशको मन्दिरको सामान्य चर्चा गर्ने कोसिस गरिएको छ ।

बासडोलको प्रसिद्ध बुढा गणेश मन्दिर वास्तुकलाः

बुढा गणेशको मन्दिर साविकको महेन्द्रज्योति गाविस वडा नं. ५ र हालको बनेपा नगरपालिका वडा नं. १२ को गणेश स्थान भन्ने ठाउँमा रहेको छ । यस स्थानमा हाल पुनर्निर्माण गरिएको प्यागोडा शैलीका दुईवटा मन्दिरहरुमध्ये एकमा बुढा गणेश रहेका छन् ।

पश्चिमाभिमूख रहेका मन्दिरहरुको छेउमा एउटा पाटी पनि हाल निर्माण गरिएको छ । पहिलो मन्दिरभित्र हात्तीको शिरजस्तो आकृतिको ढुङ्गो रहेको छ, जसलाई स्थानीयहरु बुढा गणेश पुकार्दछन् ।

दोस्रो मन्दिरभित्र महादेवका तीनवटा शिवलिङ्ग रहेका छन् । ढोकाबाट छिर्ने बित्तिकै दायाँपट्टि मूल शिवलिङ्ग रहेको छ । अर्को शिवलिङ्ग ढोकाबाट ठिक अगाडि पट्टि अग्लो ठाउँ बनाएर राखिएको छ । जसमा श्रद्धालु भक्तजनहरुले पूजा गरेको देखिन्छ ।

त्यसै गरी मन्दिरको ढोकाको बाँयापट्टि त्यसै राखिएको अर्को शिवलिङ्ग रहेको छ । चारपाटे ढुङ्माथि रहेको यस शिवलिङ्गको अग्रभागको पादमा लिच्छवि राजा वसन्तदेवको सम्वत ४३४ को अभिलेख कुँदिएको छ ।

लिच्छवि लिपिमा लेखिएको उक्त अभिलेखमा राजा वसन्तदेवको आज्ञा सामन्तसहितको अनुमति लिई यो सुनाइयो, सामन्तको आफ्नै मान्छे दुतक नियुक्त गरियो भनेर लेखिएको छ । यही बुढा गणेश मन्दिरको महादेवको शिव लिङ्गलाई जल चढाएर पूजा गरिने भएकोले जलेश्वर महादेव भनिन्छ भने यस मन्दिरमा पञ्चकन्या देवी साक्षात रुपमा प्रकट भएर नृत्य गर्ने हुँदा पञ्चकन्याको मूर्ति पनि राखिएका छन् ।

यस स्थानमा कहिलेदेखि मठमन्दिर रहेका थिए भन्ने आधिकारिक प्रमाण भेटिदैन, तर वि.सं. १९१८ भन्दा पहिले हाल मन्दिर रहको स्थानमा श्री सुरवीर कार्कीले बनाएको एउटा पौवा थियो भन्ने शिलापत्र फेला परेको छ ।

पौवा अक्सर गरेर मन्दिर निर्माण भएपछि बन्ने हुँदा यस थितिमितिभन्दा अगावै बासडोलका धर्मावलम्बीहरुले बुढा गणेशका मन्दिर निर्माण गराएका थिए भन्न सकिन्छ ।

हाल बनेको बुढा गणेशको मन्दिर हातामा रहेको दुइ मन्दिरको बीचमा सानो कक्ष निर्माण गरेर राधाकृष्णको नयाँ प्रतिमाहरु समेत थपिएका छन् ।

बुढा गणेशको उत्पत्ति र मन्दिर निर्माणका प्रसङ्गहरुः

स्थानीयहरुले बुढा गणेशको उत्पत्तिका सन्दर्भमा भन्ने किंवदन्ती यस प्रकार रहेको छ । जसअनुसार धेरै वर्ष पहिले हाल बुढा गणेश मन्दिर रहेको स्थानमा नेवार जातिका एक किसानको धान छिट्ने खलो थियो ।

प्रत्येक वर्ष उनले धान चुटने झार्ने गर्दथे । जहिले पनि उनले अनुमान गरेको भन्दा धेरै बढी धान जम्मा हुने हुने गर्दथ्यो । जसका कारण नेवार किसान अच्चममा पर्दथे । फेरी उसै गरी अर्को साल पनि धान छिट्ने गर्दा धान छिट्नु भन्दा धेरै नै बढी धान जम्मा हुने गर्दथ्यो । यसपछि नेवार किसानहरु सबै चकित भए ।

अनि त्यस ठाउँमा कोदालीले उत्खनन गरेर हेर्ने निर्णय गरे । उत्खनन गर्दा त्यहाँ भगवान् गणेशको ठूलो जाज्वल्यमान् ढुङ्गे अमूर्त मूर्ति भेटियो । यसरी उत्खनन गर्ने क्रममा कोदालीले लागेर गणेशको मूर्ति ताछियो । ताछिएको ठाउँबाट रगत बग्न थाल्यो । यसरी रगत बगेपछि क्षमा पूजा गरियो । यस पछि तत्कालै अस्थाई सानो मन्दिर बनाई पूजाआजा गर्न थालिएको कथन भेटिन्छ ।

आज पनि बुढा गणेशको ढुङ्गे मूर्ति ताछिएको देख्न सकिन्छ । यसकारण केही स्थानीयहरु प्राकृतिक रुपमा प्राप्त गणेशको मूर्ति ठुलो र फैलिएको हुँदा यसलाई बुढा गणेश भनि नामकरण गरिएको हो भन्दछन् ।

अर्काथरीहरु भगवान् महादेव र पार्वतीको सन्तान गणेशभन्दा पनि पहिला बासडोलमा उत्पत्ति भएका कारण बुढा गणेश भनिएको हो भन्दछन् ।

मन्दिरको नामकरण जे जसरी नभए पनि यस मन्दिरको महिमा बढाउने अर्को स्थानीय आख्यान रहेको छ । जस अनुसार यस मन्दिर रहेको स्थानमा भण्डारी थर भएका एक व्यक्ति काठमाडौंबाट फर्कने क्रममा आइपुग्दा मध्यरातजस्तो भएछ ।

जहाँ उनले परैबाट पञ्चकन्याहरुबाट गणेश भगवान्को पूजाआजा गर्दै नाचगान गरिरहेको देखेछन् । यसरी साक्षात पञ्चकन्याहरुसमेतले पूजा र र नाचगान गरेको देखेपछि उनलाई पक्कै पनि यहाँका गणेश साक्षात भगवान् हुन् भन्ने लागेछ । त्यसपछि घोडाबाट उत्रेर उनले ‘हे गणेश भगवान् ! मेरो मुद्दा छ, मुद्दाबाट मैले सफाई पाएँ भने आफ्नोे गच्छेअनुसार मन्दिर बनाउँला’ भनी भाकल गरेछन् । नभन्दै उनले पछि मुद्दाबाट सफाई पाए र जसका कारण मन्दिर भनेर बनाएका थिए भन्ने भनाई पाइन्छ ।

उक्त बुढा गणेश मन्दिर वि.सं. २०४५ सालमा जीर्ण भई भत्किन गएपछि स्थानीय जनश्रम र दानबाट उक्त मन्दिरको पुनःनिर्माण भएको थियो । यससँगै उत्तरतर्फ घनश्याम थापाले शिव मन्दिर बनाउनु भएको थियो ।

यस मन्दिर पनि जीर्ण भएपछि वि.सं. २०६९ सालमा घनश्याम थापाको संयोजकत्वमा गठित बासडोल बुढा गणेश मन्दिर संरक्षण तथा व्यवस्थापन समिति नामक संस्था स्थापना भई सो समितिले वि.सं. २०७२ साउन महिनामा बुढा गणेश मन्दिरलाई हालको स्वरुप दिएर पुनर्निर्माण गरेका हुन् भनी स्मारिकामा उल्लेख गरिएको छ ।

मन्दिर कै स्मारिका अनुसार वि.सं. १९९५ सालभन्दा अगाडिदेखि नै सोही स्थानमा पाटी, पौवा, धर्मशाला रहेका थिए । जहाँ पनौती हुँदै काठमाडौं आवतजावत गर्ने पैदल यात्रीहरुको विश्रामस्थलसमेत रहेको उक्त पाटीमा साधुसन्तहरु बस्ने गर्दथे । वि.सं. २०२३÷२४ सालतिर यस धर्मशालामा बस्नु हुने साधुसन्तहरुको सोही स्थानमा नै मृत्युवरण भयो ।

त्यसपछि उनीहरुलाई गणेश पाटीको नाममा रहेको ०–१३–२ आना जग्गामा नै समाधिस्थ गरिएको थियो भनेर उल्लेख गरिएको छ । बिस्तारै बिस्तारै ती पाटी, पौवा र धर्मशाला जीर्ण भएर गएपछि पुनर्निर्माण हुन नसकी तिनका अस्तित्व आज पाताल भईसकेका छन् ।

पुरातात्विक र ऐतिहासिक महत्व रहेको यस मन्दिरको प्राचीन स्वरुपमा निर्माण गर्न वृहत् गुरु योजना बनाएर अघि बढनु पर्ने देखिएको छ ।

अन्तमाः

हाल बनेपा नगरपालिका अन्तर्गत वडा नम्बर १२ बासडोलको बुढा गणेश मन्दिर रहेको स्थानमा पञ्चकन्याहरुले स्तुति, पूजन र नृत्य गरेको पाइएबाट बुढा गणेशको उत्पत्ति पौराणिक कालमा नै भएको आँकलन गर्न सकिन्छ ।

सानोसानो प्राकृतिक दहको रुपमा रहेको बासडोल उपत्यकाको पानी बगेर गएपछि सुरु भएको मानव बासोबास र उनीहरुले जीविकोपार्जनका लागि खेती किसानीको क्रममा बुढा गणेशको प्राकृतिक ढुङ्गे मूर्ति फेला पारेको कुरा जनश्रुति पाइन्छ ।

लिच्छविकालदेखि नेपालबाट भारत झर्ने र भारतबाट नेपाल उक्लने प्राचीन भैसेपाटी–बासडोल–पनौती मार्ग प्रयोग गर्ने यात्रुहरुको सुरु र अन्तिम बसोबास स्थलमा रहेको बुढा गणेशको मन्दिर निर्माण, जिणोद्धार र नवनिर्माण भएको पाइन्छ ।

लिच्छवि राजा बसन्तदेवको संवत ४३४ को शिलालेख बुढा गणेशको मन्दिर हातामा रहेको जलेश्वर महादेवको पादपीठमा पाइनुले पनि भैसेपाटी–बासडोल–पनौती मार्ग तत्कालीन अवस्थामा गुल्जार थियो भन्न सकिन्छ ।

यसै क्रममा मन्दिर हातामा रहेका पाटी, पौवा, धर्मशालासमेत रहेका ऐतिहासिक प्रमाणहरुले यस मार्गमा हिड्ने बटुवा, तीर्थयात्री, भरिया, कर्मचारी र व्यापारीलाई दिनमा विश्राम, प्यास लाग्दा पानी र रात बिताउन आवासको व्यवस्थाहरु धर्म र कीर्ति आर्जनका लागि गरेको देखिँदा यस प्राचीन मार्गको महत्व लिच्छविकालदेखि पञ्चायतकालसम्म अधिक थियो भन्न सकिन्छ ।

तर, नेपाल तत्कालीन सोभियत संघको दौत्य सम्बन्धका कारण खोपासीमा बन्न लागेको पनौती जलविद्युत आयोजनाको निर्माणका लागि सामग्रीहरुको ढुवानीका निम्ति बि.सं. २०२१ ताकासम्ममा बनेपाबाट पनौती मार्ग खुलाई दिएपछि भैसेपाटी–बासडोल–पनौती मार्ग ओझेल मात्र पर्न गएन । बिदेह अर्थात जनकपुर भएर नेपालबाट भारत झर्ने र र भारतबाट नेपाल उक्लने यात्रीहरुले दर्शन गर्ने काभ्रेपलाञ्चोकको पहिलो र अन्तिम दर्शन गर्ने प्रसिद्ध गणेश मन्दिर ओझेल पर्न गएको हो भन्दा फरक पर्दैन ।

(सम्पदा संस्कृतिका अध्येता तामाङको बासडोल नामक प्रकाशोन्मुख पुस्तकबाट साभार)


प्रतिक्रियाको लागिःrabindratamang@gmail.com

सहयोगी ग्रन्थः बासडोल बुढा गणेश मन्दिर स्मारिका, २०७३ तथा बासडोलका बुढापाकाहरुसँगको कुराकानी ।


काभ्रेपलाञ्चोकबाट बुधबार प्रकाशित हुने पलाञ्चोक साप्ताहिकबाट साभार गरिएको


Tweet