Classified Ads
कोभिड-१९ अपडेट

नेपालमै बनेकाे कोरोनाको औषधिको क्लिनिकल ट्रायल शुरु हुँदै

Posted in विज्ञान / प्रविधि, कोभिड-१९ अपडेट on Oct27,2020


देउराली जनता फर्मास्यूटिकल्सले नेपालमै उत्पादन गरेको फाभिरपिराभिर ‘फाभिर–२००’ औषधिको कोरोनाभाइरस संक्रमितको उपचारका लागि तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु गर्न प्रक्रिया अगाडि बढाएको थियो। परिषद् अन्तर्गत नै अहिले काठमाडौंको ग्रान्डी अस्पतालबाट क्लिनिकल ट्रायल शुरु भएको हो। 

ग्रान्डी अस्पतालले कम्तीमा ३०० बिरामीमाथि फाभिरपिराभिरको क्लिनिकल ट्रायल गर्ने योजना बनाएको छ। तर, बिरामीको अनुमतिमा मात्र उक्त ट्रायल गरिने अस्पतालले जनाएको छ।

नेपाली औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्यूटिकल्सले औषधि व्यवस्था विभागको अनुमतिमा विभिन्न मुलुकमा कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको फाभिरपिराभिरको करीब ६ महीना अघि नै उत्पादन गरिसकेको थियो।

उक्त औषधिको ग्रान्डी र शिक्षण अस्पताल बाहेक काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल र बाँसबारीस्थित गंगालाल अस्पतालबाट पनि क्लिनिकल ट्रायल हुँदैछ। परिषद्ले यी चार अस्पतालबाट क्लिनिकल ट्रायल शुरु गर्न यसअघि नै आवश्यक औषधि पठाइसकेको छ।

यो औषधि कोरोनाको सामान्य लक्षण र लक्षण नै नदेखिएका कोरोना संक्रमितलाई उनीहरुको अनुमति र चिकित्सकको निगरानीमा क्लिनिकल ट्रायल गरिने परिषद्ले जनाएको छ। 

फाभिरपिराभिर कोरोना संक्रमितलाई दिइने एन्टीभाइरल औषधि हो। विश्वका १५ वटा मुलुकमा कोरोना संक्रमित बिरामीलाई विभिन्न अनुसन्धान तथा ट्रायलका क्रममा यो औषधि प्रयोग भइरहेको छ। फाभिरपिराभिर सन् २०१४ देखि जापानबाट भाइरल इन्फ्लुएन्जाका बिरामीलाई प्रयोग गर्न शुरु भएको थियो।

एन्टीभाइरल यो औषधिले शरीरमा कोरोनाको भाइरल लोड घटाई भाइरसको वृद्धिविकास रोकेर छिटै निको हुन सहयोग गर्ने औषधि उत्पादक कम्पनीको दाबी छ।

फाभिरपिराभिरले कोरोनाका सामान्य र मध्यम अवस्थाका बिरामी छिटो निको भएको विश्वव्यापी तथ्यांकले उत्पादक कम्पनी देउराली जनताका सीईओ हरिभक्त शर्माले बताउनु भयो ।

यो औषधि लक्षण देखिएका सामान्य र मध्यम स्वास्थ्य जोखिम अवस्थाका बिरामीलाई तत्काल चलाउन पाए सिकिस्त भएर अस्पताल भर्ना हुनु नपर्ने चिकित्सकहरु बताउँछन्। 

देउराली जनताका अनुसार, यो औषधिको पूरा डोजलाई करीब रु. १२ हजार पर्छ। तर, अहिले क्लिनिकल ट्रायलका क्रममा सहभागी हुने कोरोना संक्रमितले औषधि निःशुल्क पाउने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।


Tweet