Classified Ads
कोभिड-१९ अपडेट

काभ्रेका पत्रिकाहरुका लागि काठमाडौं चिनाउने ‘सेतु’ विष्णुदाई

Posted in स्थानीय, काभ्रेपलान्चोक, विविध, कोभिड-१९ अपडेट on Nov04,2020


Source: पलाञ्चाेक साप्ताहिक

२०७७ कात्तिक १४ गते शुक्रबार ।

सधैंझैं साढे ४ बजे नै ब्युँझो भएपनि चिसो बढेर हो कि ओछ्यान छाडि हाल्न मन थिएन । ६ बजेको थियो होला । ट्वीन्स किचेन, धुलिखेलका मित्र रमेश दाहालको फोनले बिथोल्यो–गुड मर्निङ, उठनु भयो । यहाँ मोतीरामजीको स्टाट्स आयो । पत्रकार बिष्णु दाई शब्द नै छैन । पत्याउन सकिरहेको छैन । निस्ठुरी कालले लागि छाड्यो । कोरोनासँग जुधिरहनु भएको थियो । निको पनि भैसकेको थियो तर...भनेर’

म त एकछिन अवाक् भएँ । रमेशजीलाई फोनमा कुरा फर्काउने हिम्मत पनि भएन । निःशब्द भएछु । रमेशजीकै कुरा फोनमा सुनिरहेँ, ‘यहाँ त स्टाटस् मुनि पनि धेरैले हार्दिक श्रद्धाञ्जलीहरु हालिरहेका छन् त । अर्को रामसुन्दर आचार्यले पनि स्टाटस हाले त ।’ भाउन्न नै भएर आयो । रमेशजीले असत्य कुरा गरेको त होइन ।

तैपनि आफुले पनि फेसबुक हेरेँ । अनि पत्रकार महासंघको ग्रुपमा हेरेँ अनि बल्ल पत्यार लाग्यो । रमेशजीले कोरोना संक्रमणसँग लडिरहनु भएका काभ्रेपोष्टका प्रधान सम्पादक विष्णुप्रसाद चौंलागाईंको बारेमा सोसल मिडियामा आएका स्टाटसहरुको भेरिफाईका लागि मलाई फोन गर्नु भएको थियो ।

मेरो र विष्णुदाई (उमेरले मभन्दा एक वर्ष कान्छो भए पनि हामीवीच दुबैले दुबैलाई दाई भन्ने सहमति थियो)को पछिल्लोे भेट सूचना तथा प्रसारण विभागमा भएको थियो । उहाँ पनि छोरा समीरका लागि खोलिएको कम्पनी थेम्स मिडिया प्रालिको अनलाईन थेम्सखबर डट कमका लागि एक जना संवाददाताको प्रेस पास बनाइदिन आउनु भएको थियो । म प्रेस पासका लागि त्यहाँ गएको थिएँ ।

दुबैवीच धेरै कुराकानी भयो । उहाँले सुनाउनु भयो, ‘दाई, म त आइटीमा जिरो बल्ल बल्ल फेसबुक र अरु मिडिया चलाउन थालेको छु । अब छोरा समीरलाई कम्पनी खोलिदिएको छु । विज्ञापन एजेन्सीको पनि काम हुन्छ । तपाईंको सम्पर्कमा भएका कार्यालयहरुमा भनिदिनु प¥यो । छोरा गएर बिजिनेसको कुरा गर्छ । छोरीको पनि नबिल बैंकमा राम्रो जागीर छ । अब केही दिनमै ब्रेजा गाडी किन्छु । दाई पनि सधैं कति बाइक चढ्ने, अब गाडी किन्नुस् । अब त हामीलाई बाइक गाह्रो हुन्छ नि ।’

विष्णुदाईले भएभरका योजनाहरु सुनाउनु भयो । घरिघरि विभागको प्रेस शाखाका कर्मचारीहरुलाई आफ्नो र मेरो काम पनि छिटो सकिदिन अनुरोध गर्नु हुन्थ्यो । त्यहाँका सेवाग्राहीहरुमा अधिकांश अनलाइनका पत्रकारहरु थिए । हामी खासै नचिनेका । विष्णुदाईले विभागका मान्छे र हामीलाई भनेर क्यान्टिनबाट १२ कप चिया मगाउनु भयो । मैले चिया खान्न भनेँ ।

उहाँले कर गर्नु भयो, ‘त्यसो भए म समीरलाई बोलाउँछु अनि हामी तीनै जना कतै गएर कफी खाउँ न ।’ मैले बनेपा फर्कन हत्तार भएकाले अर्को दिन काठमाडौं आउँदा खाजा नै खुवाउनु न भनेँ । त्यसपछिका दिन मेरो काठमाडौं जाने काम नै परेन । आखिरमा त्यो नै विष्णुदाईसँगको अन्तिम भेट रहेछ ।

मेरो पहिलो भेट २०५७ सालमा उहाँले मास्टहेड रातो राखेर काभ्रेपोष्ट साप्ताहिक निकाल्न थालेको केही समयपछि भएको हो । त्यतिखेर काभ्रेटाइम्स जिल्लामै कहलिएको पत्रिका थियो । नाममा काभ्रे आएकाले उहाँले मास्टहेड रातो राखेको भन्नुहुन्थ्यो ।

पुराना पत्रकार ईश्वरी ओझालाई सम्पादक राखेर निकालिएको साप्ताहिकमा त्यतिखेरका पत्रकार हिरामणि शर्माको समन्वयमा पछि शिव दाहाल भित्रिएका हुन् । सागर कम्प्युटरमा सबै डिजाइनको काम सकेर छाप्नका लागि काठमाडौं विष्णुदाईले फाल नै लैजाने र भूगोल पार्कमा वितरकलाई दिएर काभ्रेमा पनि छापिएका पत्रिका पठाउने गर्नुहुन्थ्यो ।

उहाँको प्यान्टको पछिल्लो खल्तीमा सधैंजसो काभ्रेपोष्ट पत्रिका बेरेर राखिएका हुन्थे । कुनै कार्यक्रममा पुग्नासाथ प्रमुख अतिथि र अतिथिहरुलाई पत्रिका दिन भ्याइ हाल्नु हुन्थ्यो । उहाँलाई अरनिको यातायात समितिका तत्कालीन अध्यक्ष रमेश वैद्यले खुबै माया गर्नुहुन्थ्यो । विष्णुदाई एकाबिहानै पत्रिका बोकेरै वैद्यको घरैमा पुग्नुहुन्थ्यो । ‘काम गर्न केको लाज, आफैं हकर, आफैं रिपोर्टर, आफैं प्रधानसम्पादक कसो दाजु?’ भेटमा यस्तै सुनाउनु हुन्थ्यो ।

मलाई सम्झना भए अनुसार त्यतिखेर पत्रकारितामा विष्णुदाईलाई अभिभावकीय संरक्षण गर्ने नयाँ विकल्प साप्ताहिक काठमाडौंका सम्पादक दामोदरप्रसाद दवाडी हुनुहुन्थ्यो । काठमाडौं सरस्वतीनगर घर (कर्मथलो) भएका विष्णुदाई पत्रकारितासँगै काठमाडौं न्हयोखास्थित कृष्णमन्दिर प्राविको हेडमास्टर पनि हुनुहुन्थ्यो ।

काठमाडौंमा भएकाले होला काभ्रेपोष्टमा नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार संस्थान(तत्कालीन), नेपाल आयल निगमजस्ता निकायहरुका विज्ञापनहरु धेरै छापिन्थे । पछि उहाँले आफूमात्रै होइन काभ्रेका अधिकांश पत्रिकाहरुलाई काठमाडौंको विज्ञापन पनि ल्याइदिन थाल्नु भयो । एक हिसाबले काभ्रेका पत्रिकाहरुका लागि काठमाडौंको विज्ञापनको ‘सेतु’ विष्णुदाई बन्नुभएको थियो ।

काभ्रे पोष्ट रङ्गीन कलेवरमा पनि निकाल्नु भयो । साँच्चै भन्ने हो भने काभ्रेको पत्रकारितामा निरन्तर ‘वन म्यान आर्मी’ झैं डटिरहनु भयो । पत्रिका पनि दशैं अघिसम्म निरन्तर नै प्रकाशनमा थियो । मैले असोज २५ गतेको वर्ष २१, अंक ११ को पत्रिका फेला पारेको थिएँ । त्यसमा डाँडापारीको ब्यानर न्यूज थियो ।

विष्णुदाईलाई म बेला बेलामा गाउँको समाचार लेख्नु न । कत्ति नेताको मात्रै लेख्ने गरेको भन्दै उचाल्थेँ । अनि प्रधान सम्पादकको कलम भनेर प्रथम पृष्ठमा कोशीपारीका समाचारहरु हप्तैपिच्छे छाप्नु हुन्थ्यो । ‘कोशीपारीको कान्तिपुर हो काभ्रेपोष्ट’ भन्नु हुन्थ्यो । पत्रकारिताको अविचलित र अविराम यात्रामा सधैं पाउँथेँ उहाँलाई ।

काभ्रेपोष्टलाई पनि अनलाइन बनाउनु भएको थियो । तर काभ्रे भनेपछि एउटा जिल्लाको भन्ने हुँदोरहेछ भनेर नयाँ प्रडक्ट निकालेको उहाँको भनाई रहन्थ्यो । २०७७ असोज १ गतेबाट दर्ता भएको थेम्सखबर डट कम उहाँका लागि नयाँ प्रडक्ट थियो ।

‘लक डाउन’ अगावै दर्ता भएको थेम्स मिडिया प्रालि विज्ञापन एजेन्सीको काम गर्ने र अनलाइन मिडिया सञ्चालन उद्देश्यले स्थापना भएको थियो । त्यसैको प्रवद्र्धनका लागि उहाँ लकडाउनभरि नै स्थानीय सरकार र संघ सरकारका निकायहरुमा दौडधूपमै व्यस्त रहनु भयो ।

आफुसँगै छोरा समीरलाई लगेर कहिले अन्नपूर्ण पोष्ट, कहिले कान्तिपुर, कहिले नागरिक र अन्य दैनिकको पाएसम्म सम्पादकीय टीम नपाएमा मार्केटिङ टीमसँग परिचय गराउने र फोटो खिचाउने उहाँको दैनिकी झैं बनेको थियो ।

सोसल मिडियामा शेयर भएका फोटो र स्टाटसहरु हेर्दै सोच्थेँ–‘अधिकांश पत्रकारहरुले दुखिया कर्म भन्दै आफ्ना छोराछोरीहरुलाई पत्रकारिताबाहेकका विषयहरु पढाउँथे । तर, विष्णुदाईले एउटै छोरालाई किन यही दुखिया कर्ममा जोड्नु भयो हाला भन्दै ।’

फेसबुकमा सक्रियता देखपछि मलाई आइटी केही आउँदैन भन्ने विष्णुदाईका पेजमा अल्लि बढी चाहार्न थालेँ । बडा गज्जब गज्जबका कुराहरु, उखान, असारे भाकाका दोहोरी गीत र कोशीपारीका संस्मरणहरु उल्लेख रहेछन् । त्यसमध्ये असारेमासमा रोपाँइ चल्दै गर्दाका केही लेखोटहरु ज्यादै घत लाग्ने पाएँ ।

मोडल तथा लोक दोहोरी गायिका सबिना चौंलागाईंले रोपाइँकावीचमा खिचेको सेल्फीको तारिफमा विष्णुदाईका केही लेखोटहरुः

‘असारको साहित्यलाई जति लेखे पनि पुग्दैन । धानको बीउ हातमा बोकी हेर त खुलेकी । घाम र पानी भोक र तीर्खा देखिन्छ भूलेकी ।’

‘हली दाईको हलो राम्रो, बाउसे दाईको गरा । रोपारले धान रोप्दै पारे हराभरा । हाम्री आमा रूमालैमा खाजा पारी पोको । देख्दै मिठो सेल, अचार खाउँला पु¥याई धोको ।’

‘हली नि आए, बाउसे नि आए, हल गोरु कराए, हातको बीउ, म कस्लाई दिउँ, रोपारै हराए । आँप खानु काँचो, ख्याल हैन साँचो, रोपार हराए ।

‘कृषि र प्रबिधि अब सँगसँगै । हातमा असारमा रोपिने धानको मुठ्ठा, अनि सेल्फी । कति मिलेको ? अब को नयाँ पुस्ता कृषिसँगै प्रविधिमा पनि अघि बढ्ने हो ।’

लेख्दालेख्दै सम्झेँ, राजाको शाही शासनकालमा जिल्लाबाट पत्रिका प्रकाशन गर्न बन्देजझैं थियो । त्यति नै बेला विष्णुदाईले पनि गोरखा दक्षिणबाहु पदक(श्रेणी भुलेँ) पाउनु भयो । राजाको निरंकुशताविरुद्ध सबै लागेका बेलामा उहाँले पाएको पदकबारेमा खुबै आलोचना भएको थियो ।

यस्तै, नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लाग्नु भएका विष्णुदाई गणतन्त्र आएको केही वर्षपछि हालका प्रधानमन्त्री केपी ओलीबाटै टीका लगाएर अर्धाङ्गिनीसँगै तत्कालीन नेकपा एमालेमा छिर्नु भयो । उहाँको खुबै आलोचना भयो । यद्यपि आफ्नो धर्म अर्थात् पत्रकारितालाई निरन्तर कायम राख्नु भयो ।

काभ्रे पोष्टमा हिजो काँग्रेसकाबारेमा लेखिएका समाचारले बढावा पाउँथे, पछिल्लो समय तत्कालीन नेकपा एमाले र नेकपाकाबारेमा लेखिएका समाचारहरुले प्रमुख स्थान पाउन थाले । राजनीतिक समाचारका हिसाबले मैले पाएको फरक त्यति हो । अरु नियमित समाचारहरुमा केही फेरबदल भएन । बरु यस्ता समाचारमा बिगतभन्दा निखार आउन थालेको अनुभूति रहेको छ ।

देहान्त हुनुअघि विष्णुदाईले आफ्नो फेसबुक पेजमा दुई वटा कुरा धेरै मार्मिक लेख्नु भएको रहेछ । २९ सेप्टेम्बरमा नेपाली काँग्रेसका नेता शङ्बुद्ध लामा र आफ्नै सम्पादक ईश्वरी ओझासँगै आफू पनि कोशीपारीको एउटा कार्यक्रममा सयपत्रीमालामा सजिएको संयुक्त फोटो राखेर–‘काभ्रे पोष्ट साप्ताहिक चलाएर जिन्दगीमा मैले कमाएको सम्पत्ति यही हो । अरु सबै तपसिलका कुरा हुन् । संस्थापक सम्पादक ईश्वरी ओझालाई पनि धेरै सम्झन्छु’, लेख्नु भएको रहेछ ।

त्यसकै भोलिपल्ट उहाँले जिन्दगीका बारेमा अर्को स्टाटस लेख्नु भएको रहेछ, शायद आफू पनि जीवनको उत्तराद्र्धतिर आइपुगेको आभाष भएर पो हो कि?–‘जीवनको ‘आरम्भ’ आफू रोएर हुन्छ र जीवनको ‘अन्त्य’ अरु रोएर हुन्छ, त्यसकारण यो ‘आरम्भ’ र ‘अन्त्य’ बीचको जीवनलाई भरपुर हाँस्यले भरीदिनुस । बस यही जिन्दगी हो ।’ साँच्चै अब जिएकाहरुले पनि सोच्ने हो कि?

शोकको यस घडीमा लेख्न हुने थियो या थिएन । तर, लेख्न बाध्य भएँ । विष्णुदाई एउटा महत्वाकांक्षा बोकेर (या आश्वासन?) पाएर नेकपा एमालेमा छिर्नु भएको थियो । त्यो कुरा त्यतिखेरको प्रपञ्च मिलाउनेहरुलाई नै थाहा होला । मलाई उहाँका सहृदयीहरुले सुनाएका कुरा–‘सधैंभरि नै नेकपाका नेतृत्वसँग मेरो स्थान कहाँ भनेर सोध्नु हुन्थ्यो । यो प्रश्न स्वाभाविक पनि हो किनकी छाडेको पार्टीको तीव्र आलोच्य पात्र भएर पनि उहाँ सहेरै बस्नु भयो ।’

विष्णुदाई, अब कोही कसैले तपाईंलाई स्थान दिए पनि यो समाचार न त तपाईंले लेख्न पाउनु हुन्छ, न त पढ्न र सुन्न नै । तपाईंले कैलाश पर्वत र श्लेष्मान्तक वनसँगै बाग्मती नदीकिनारको देवपत्तनक्षेत्रमा अवस्थित पशुपतिनाथ अर्थात् पारसनाथ ज्योतिर्लिङ्ग पञ्चमुखी भगवानको सामुन्ने पार्थीव शरीरलाई भष्म गराउने आर्यघाटजस्तो ‘महत्तम स्थान’ पाउनु भयो । अब यहाँभन्दा बढी लेख्ने हिम्मत नै भएन विष्णुदाई । अलविदा !

  • मधुसुधन गुरागाईं

Tweet