Classified Ads
कोभिड-१९ अपडेट

लिच्छविकालीन भैँसेपाटी–बासडोल–पनौती पदमार्गमा रहेको मल्लकालीन ढुङ्गे धाराहरू

Posted in स्थानीय, बनेपा, जीवनशैली on Nov11,2020


Source: रवीन्द्र तामाङ

लिच्छविकालको सुरूवातको समयमा भारत र नेपाल बिचमा आवतजावत गर्ने मुख्य बाटो विदेहको राजधानी मिथिला नै थियो र त्यहाँबाट कमला नदिको किनारैकिनार भएर नेपाल उपत्यका भित्र प्रवेश गर्नु पर्दथ्यो भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तक नेपालको साँस्कृतिक परम्परा भन्ने पुस्तकमा लेख्नु भएको थियो ।

यही नेपाल अर्थात तत्कालीन काठमाडौं उपत्यका (काठमाडौ, ललितपुर र भक्तपुर) बाट भारत प्रस्थान गर्दा यात्रुहरू काभ्रेपलाञ्चोकको साँगा भञ्ज्याङ, भैसेपाटी, बासडोल, पनौती, नमोबुद्ध, दाप्चा, तिमाल, महाभारत पुग्दथे ।

त्यसपछि सिन्धुली जिल्लाको मरिन खोला, सिन्धुली गढी, गढी भञ्ज्याङ, सुली भञ्ज्याङ, बिती खोला, धाप चौकी, तीन पाटन, रानीचुरीको डाँडा हुँदै कमला नदी पुग्दथे । त्यसपछि चिसापानी, गोदार हुँदै धनुषा जिल्ला भएर जनकपुर पैदल पुग्ने गर्दथे ।

भारत हुँदै विदेह अर्थात् मिथिलाबाट नेपाल फर्कदा पनि यात्रीहरू उल्लेखित बाटोको प्रयोग गर्दथे । करिव सातदिनको यात्रामा यात्रीहरू नेपालको राजधानी काठमाडौ र मिथिलाको राजधानी जनकपुर पुग्दथे ।

यस बाटोको प्रयोग गर्ने यात्रीहरूले नेपालबाट भारत प्रवेश गर्दा पहिलो बास र भारतबाट नेपाल प्रवेश गर्दा अन्तिम बास बासडोलमा बस्ने गर्दथे । यही लिच्छविकालिन मार्गको पहिलो कडीमा साँगा–भैसेपाटी–बासडोल–पनौती मार्ग पर्दछ ।

प्राचीन बासडोल मार्गमा रहेका गणेशका तीन वटा धाराहरूः

यही मार्गमा तीन वटा प्राचीन ढुङ्गे धाराहरू रहेका छन् । यस अङ्कमा बासडोलको इतिहास लेखनको केन्द्रविन्दुमा रहेको देउरालीको पधेलीको धारोको सामान्य चर्चा गर्ने कोसिस गरिएको छ ।

तुरतुरे धाराः

जनगालबाट बासडोल देउरालीतर्फ आउने पुरानो पदमार्गको बीचमा एउटा ढुङ्गे धारो रहेको छ । जसलाई तुरतुरे धारो भनिन्छ । यस धाराको निर्माणमा सर्लक्क परेका मिलेका ढुङ्गाहरू भएका छन् । जसबाट यस धाराको निर्माण बनेपाका मल्ल राजाहरूले गरेका हुनसक्ने अनुमान हुन्छ । ती ढुङ्गाहरू कहाँबाट लिएर ल्याएका होलान् भनेर खोज अनुसन्धान हुनु जरूरी रहेको छ ।

यस धारामा पहिले शिलालेख रहेको कुरा पनि बासडोलका बुढापाकाहरूको भनाई रहेको छ । बनेपाबाट बासडोल हुँदै पनौती, बिहाबर, कुशादेवी हुँदै ललितपुरतर्फ लाग्ने सर्वसाधारण प्यास मेटाउनका लागि यस धाराको निर्माण भएको अनुमान सहजै गर्न सकिन्छ । मकर अर्थात् गोहीको आकृतिमा कँुदिएको कलात्मक धारामा कुनै ढुङ्गे मूर्तिहरू पाइँदैन ।

जसबाट यस धारा बासडोलको सर्वप्राचीन धारो हो भन्दा फरक पर्दैन । पुरातात्विक महत्व बोकेको यस धारा रहेको पदमार्ग हाल मानिसहरू नहिँड्ने भएकाले यसको महत्व हीन भएको छ । जसका कारण धारोका संरक्षण, संवद्र्वन र प्रवद्र्धन गर्नु जरूरी रहेको छ ।


ऐतिहासिक ढुङ्गेधाराः

बासडोलको देउरालीमा ऐतिहासिक ढुङ्गेधारा रहेको छ । बनेपाका राजा रण मल्लले निर्माण गरेको भनिने यस धाराले मल्लकालीन ऐतिहासिक महत्व बोकेको छ । यस ढुङ्गेधारा मुनि एउटा यक्षले घुँडा टेकेर बसेको प्रतिमा रहेको छ । यहाँ शिलालेख भने पाइँदैन् भनेका छन् (योगेशराज,२०७६) ।

तर, स्थानीयहरूका अनुसार यहाँ पहिले एउटा शिलालेख पनि थियो । इतिहासकार योगेशराजले ढुङ्गेधारामा रहेको यक्षको प्रतिमाको लक्षण हेर्दा साँखुमा रहेको वि.सं. १२२५ को यक्ष जोडीसँग तुलना गर्न सकिन्छ भनेर उल्लेख छन् (पासुका,२०७६) ।

यसबाट ढुङ्गेधारा मल्लकालपूर्व अर्थात् लिच्छविकालको उत्तरार्धतिर निर्माण भएको हुन सक्ने समेत देखिन्छ भन्नु भएको छ । यक्ष–यक्षिणीलाई अनार्यहरूले देवीदेवताहरूको रूपमा मानमनितो गरेको देखिन्छ (मुकेश मल्ल, कलामा देवी–देवता, नागरिक, १ कात्तिक, २०७७) । यसका आधारमा कतै यो धारा किराँतकालीन त होइन् भन्न सकिने ठाउँ पनि छ ।

मल्ल, शाह, राणा र पञ्चायतकालको प्रारम्भसम्म यस धारोले बासडोलबासीको मात्र होइन, बासडोल भएर ओहोरदोहोर गर्ने थुप्रै यात्रीहरूको प्यास मेटाउने काम गरेको थियो । स्थानीय कहावत अनुसार यस घारालाई पँधेलिको धारा पनि भनिन्छ ।

भक्तपुर राज्यका कुनै एक मल्ल राजा साँगा, भैसेपाटी, बासडोल हुँदै पनौती, ढुङ्खर्क जाने क्रममा देउराली आइपुगेपछि प्यास लागेर यहाँको पानी खाएछन् । यहाँको पानी अत्यन्त मीठो भएकोले यहाँ तुरून्त र आजै धारा बनाउनु भनेर भाइभारदारहरूलाई आदेश दिएछन् ।

जसका कारण भाइभारदारहरूले रातारात बास बसेर भक्तपुरदेखि कालीगढ ल्याएर ढङ्गा काटेर राजा फर्केर आउनुअघि नै धारा बनाएका भनिन्छ । बासडोलका सरोकारवाला र स्थानीय निकायको बेवास्ताका कारण यस धारा एकातिर जीर्ण भएको छ भने अर्कोतिर झारपातले पुरिएको अवस्थामा रहेको छ ।

साविकको खनजोत नभएको जग्गामा रहेको ऐतिहासिक ढुङ्गेधारामा डोजर लगाउने क्रममा बडाबडा ढुङ्गा र माटोले पुरिएको अवस्थामा रहेको थियो । हालैमात्र बासडोलका केही युवाहरूले सरसफाई गरेर हेर्न लायकसम्म बनाएका छन् ।

यही कात्तिक १६ गते यस आलेखको प्रकाशोन्मुख कृति बासडोलका लागि फोटो खिच्नका लागि लेखक, प्रकाशक श्रीकृष्ण लामा र सहयोगी दिनेश तामाङले यस धारा सरसफाई गरी फोटो खिचेका थियौं । यसै धाराको माथि रहेको पाटी र पौवा भने पाताल भइसकेका छन् (गाविस भिरेसा, २०६१) ।

ऐतिहासिक लिच्छविका साथै मल्लकाल राजाहरू धर्मकर्ममा लाग्ने, मन्दिर, पाटीपौवाहरूको निर्माण र जीर्णोद्धारमा अभिरूची राख्ने गरेको पाइँदा देउरालीको पँधेलिको ढुङ्गेधाराको निर्माण कुनै न कुनै राजाहरू मध्ये कसैले गरेको हुनसक्ने कुरामा विवाद छैन । तर ऐतिहासिक प्रमाण नपाइएकोले यसै भन्न सकिन्न ।

बासडोलमा लिच्छवि राजा शिवदेवको गोठ रहेको भन्ने कहावत समेत पाइदा रण मल्लले बनाएको भनिने माथि उल्लेखित धारा कतै लिच्छवि राजा शिवदेव प्रथमले त बनाएका थिएनन् भन्न सकिन्छ ।

लिच्छवि राजा शिवदेवका ज्वाँई अंशुवर्मा खोपासीका भएकाले उनी अति मनपर्ने ज्वाँइराजा महासामन्त अंशुबर्माको घरमा जाने क्रममा यस धाराको निर्माण भएको पनि हुन सक्दछ । बासडोलको बुढा गणेश मन्दिरमा लिच्छवि राजा वसन्तदेवको शिलालेख समेत केही वर्ष अघि भेटिएकोले यसतर्फ भने थप अध्ययन अनुसन्धान गर्नुपर्ने देखिएको छ ।


घट्टे गाउँको ढुङ्गेधाराः

बासडोलबाट देउरालीको घट्टगाउँ हुँदै पनौती जाने पदमार्गको बाटो मुनी तेस्रो ढुङ्गे धारा रहेको छ । बासडोलमा रहेको तीनवटा ढुङ्गे धाराहरूको बनोट हेर्दा मल्लकालमा नै बनेको प्रष्ट हुन्छ । मानव सभ्यताको विकासको क्रम हेर्दा सुरूमा मानव वस्तीहरू पानीको उपलव्धताका कारण नदी किनारमा रहेका पाइन्छन् ।

त्यसपछि कुनै घटनाका कारणले हो वा जनसङ्ख्या बृद्धिले गर्दा मानिसहरू नयाँ गन्तव्यको खोजीमा पर्वततिर समेत लागेको पाइन्छ । यसरी पर्वततिर लागेका मानिसहरूले पानीढलो भएको पानीको स्रोत भएको पर्वत खोज्ने गरेका थिए ।

यस्ता पानीढलोबाट निस्किएका पानीहरूबाट उनीहरूले जीवन निर्वाह र कृषि कार्य गर्न सहज हुने भएकाले यस्ता स्थान खोजेको पाइन्छ । ढुङ्गेधाराहरू निर्माण गर्दा पनि प्रायः बाटोसँगै सटाएर वा बाटोभन्दा केही गहिरो भागमा बनाइएको पाइन्छ ।

यसै क्रममा विभिन्न कारणले बासडोल आइपुगेका मानवहरूका साथै प्राचीन साँगा–बासडोल–पनौती हुँदै विदेह/मिथिला राज्य भएर भारत यात्रा गर्ने जो कोहीलाई पानीको प्यास मेटाउन यक्ष मल्लकालका साँहिला छोरा रण मल्लले बासडोलमा राज्य एक रात बसेर निर्माण गरेको भनिने माथि उल्लेखित देउरालीको ढुङ्गे धारो निर्माण भएको देखिन्छ ।

बाँकी अन्य धाराहरू पनि तिनै ताका बनेका हुन सक्छन् भनेर अनुमान गर्न सकिन्छ । तर तीनको बारेमा कुनै गाथा भेटिदैनन । तर स्थानीय बासडोल र बासडोलका स्थानीय निकायहरूको बेवास्थाले गर्दा ती ऐतिहासिक धाराहरू महाजीर्ण मात्र नभइ अब लोप हुने स्थितिमा पुगिसकेका छन् ।

गाउँ विकास समितिबाट बनेपा नगरपालिकाको वडामा रूपान्तरण हुन पुगेको बासडोल सहरीकरण हुने क्रममा छ । यसैले पनि यहाँ स्थानीय तहले एकातिर बाटाघाटा निर्माण गर्ने भनेर डोजर चलाउने, अर्कोतिर मानवले जमिन बढाउन जमिन हडप्ने निउँमा सार्वजनिक महत्वका सम्पदाहरू अतिक्रमण भइरहेका छन् ।

आफुले बनाउन नसके पनि आफ्ना पुर्खाले निर्माण गरेका पुरातात्विक महत्व बोकेका बासडोलका तीनै वटै कलात्मक ढुङ्गेधाराको पुनर्निर्माण, संरक्षण र व्यवस्थापन गर्न बासडोलका स्थानीय तह (वडा) लाग्नु पर्ने देखिन्छ । यति काम हुन नसकेमा बासडोलको प्राचीन पदमार्गमा रहेका मल्लकालीन ऐतिहासिकमात्र नभई बासडोलको नामकरणसँग जोडिएको सबै ढुङ्गेधाराहरू एकादेशका कथा हुन पुग्ने छन् भन्दा फरक नपर्ला ।

(सम्पदा संस्कृतिका अध्येता तामाङको बासडोल नामक प्रकाशोन्मुख पुस्तकबाट साभार)

प्रतिक्रियाको लागिः rabindratamang@gmail.com

काभ्रेपलाञ्चोकबाट शुक्रबार प्रकाशित हुने पलाञ्चोक साप्ताहिकबाट साभार गरिएकोः



Tweet