Classified Ads
कोभिड-१९ अपडेट

काभ्रे जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु

Posted in स्थानीय, काभ्रेपलान्चोक, राष्ट्रिय / सङ्घ, खेती / किसानी on Nov11,2020


Source: पलाञ्चाेक साप्ताहिक

काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक व्यावसायिक सयपत्री फूल खेती सुरु भएको छ । नालाका कृषक राधाकृष्ण श्रेष्ठले साढे ७ रोपनीमा सयपत्री फूलका तीन प्रजातिका खेतीबाट व्यवासायिकताको थालनी गर्नु भएको हो ।

विशेष गरी तिहारलगायत अन्य कार्यहरुमा प्रयोग हुने सयपत्री फूलका गुच्छा र मालाका लागि नेपाली पुष्प व्यवसायीहरु भारतीय फूलमा भर पर्दै आएका थिए । श्रेष्ठले ‘रिस्क’ मोलेरै यत्ति धेरै क्षेत्रफलमा सयपत्री रोप्नु भएको हो ।

‘नेपालमा सयपत्री फूलको राम्रो सम्भावना देखेरै पहिलो पटक व्यावसायिक रुपमा खेती गरेको हुँ । फूलको बीउ र प्रविधिका लागि कर्मा समूहले सहयोग गरेपछि कर्मा–५५५ अरेन्ज, सन अरेन्ज र कर्मा–१ अरेन्ज जातका सयपत्री लगाएको छु । सबै क्षेत्रफलमा गरी ९ हजार बोट रोपेको हुँ’, श्रेष्ठले जानकारी दिनु भयो ।

नालास्थित कर्मा अनुसन्धान र विकास फार्मका प्रबन्धक उत्सव पाण्डेले सो फार्मलाई प्राविधिक परामर्श र सहयोग गर्नु भएको थियो । उहाँका अनुसार यी सयपत्रीको बीउबाट फूल उत्पादन हुँदासम्म ८५ देखि ९४ दिन भएकाले किसानले सयपत्रीको माग हुने समयलाई ध्यानमा राखेर तीन महिनामै आम्दानी लिन सक्ने जानकारी दिनु भयो ।

कर्मा–५५५ अरेन्ज, कर्मा–६६६ अरेन्ज र कर्मा–१ अरेन्ज जातको सयपत्री फूलको बीउ कर्मा समूहले विकास गरेको र १५ वर्षको निरन्तर परीक्षणपछि व्यावसायिक रुपमा खेती गराएको हो ।

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका पुष्प किसान, पुष्प व्यवसायी र एग्रोभेट व्यवसायी गरी ५० जनालाई सयपत्री फूलको बीउ, प्रविधि र उत्पादनको अवस्थाबारेमा जानकारी दिनका लागि समूहले सोमबार नालामा ‘फिल्ड डे’ को आयोजना गरेको हो ।

सो अवसरमा सहभागीहरुले श्रेष्ठको फार्म तथा कर्मा समूहको अनुसनधान र विकास केन्द्रको अवलोकन गरी अन्तरक्रियामा सहभागी भएका थिए ।

सो अवसरमा नेपालकै पुराना पुष्प व्यवसायी राजुबिक्रम शाहीले सयपत्री फूलको इतिहास जानकारी गराउँदै भन्नुभयो, ‘नेपालमा पहिलो पटक कलकत्ताबाट सयपत्री फूलका ५ सय विरुवा ल्याएर मैले नै त्यसलाई ५ हजारसम्म पु¥याउन सकेको थिएँ । त्यतिखेर हामीले नै पशुपति मन्दिरका माला विक्रेताहरुलाई सयपत्री मालाल दिन्थ्यौं । यतिखेर राम्रो बीउ र प्रविधि नहुँदा हामीले सयपत्री उत्पादन गर्न सकेका थिएनौं । अब कर्मा समूहको सहयोगमा फेरि त्यो काम अघि बढ्न थालेको छ’, उहाँले थप्नु भयो ।

फ्लोरिकल्चर एसोसियसन अफ नेपाल(फ्यान) काभ्रेका अध्यक्ष बिरेन्द्रबहादुर श्रेष्ठले संघमा आवद्ध पुष्प किसानहरुले काठमाडौंको माग अनुसार बढी मात्रामा कट्फ्लावरहरुको खेती गर्दै आएको भए पनि सयपत्रीको खासै खेती नगरेको जानकारी दिनु भयो, ‘बीउ र प्रविधिको सहयोग उपलब्ध भएमा संघका सदस्यहरुलाई सयपत्री खेतीमा समेत सहभागी बनाउन सकिन्छ’, उहाँले भन्नु भयो ।

कार्यक्रममा कर्मा समूहका प्रबन्ध निर्देशक सुरेश गुरुङ्गले नेपालका सबै खालका किसानहरुको प्रमुख चुनौती भनेकै भारतीय किसानसँग प्रतिस्पर्धा गर्न नसक्नु रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘भारतमा सरकारले अनुदान दिएर कृषि उत्पादनहरुको लागतमा कमी ल्याइरहेको छ । यसमा फूल पनि पर्छ । नेपालमा फूललगायत सबै खालका कृषि उत्पादनहरुको लागतमा कमी नहुँदासम्म भारतीय कृषि उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न सकिन्न । फूलको बीउ प्रमुख हो, तर त्यससँगै माटो, सूक्ष्म खाद्यतत्व, सिँचाई र व्यवस्थापनपक्षमा सुधार गर्न नसक्दासम्म उत्पादन लागत घट्दैन । त्यही भएर कर्मा समूहले कृषकहरुलाई आवश्यक सबै सामग्रीका साथै प्राविधिक सेवा उपलब्ध गराउँदै आएको छ’, उहाँले थप्नु भयो ।

कर्मा समूहले नेपालमा चार प्रजातिका सयपत्री फूलको बीउहरु प्रवद्र्धन गरिरहेको समूहको अनुसन्धान विकासका प्रमुख डा. सुदिप श्रेष्ठले जानकारी दिनुभयो । यीनमा कर्मा–५५५ अरेन्ज, सन अरेन्ज, कर्मा–१ अरेन्ज र कर्मा–६६६ अरेन्ज रहेका छन् । यी फूलका बीउ उमार्न र फुलाउनका लागि अन्य कटफ्लवारहरुलाई झैं ग्रीन हाउस आवश्यक नपर्ने भएकाले खुल्ला खेतमा परीक्षण भएको उहाँको भनाई छ ।

‘हामीले विकास गरेका सयपत्रीमा रोग नलाग्ने, बाहिर रोप्न मिल्ने, बोटको उचाई कम हुने हुँदा ‘पट फ्लावर’का रुपमा गमलामा पनि रोप्न मिल्ने, एउटा बोटबाट साढे ३ सयदेखि ४ सय थुङ्गा फूल उत्पादन हुने र छिटो नओइलाउने गुण रहेको छ । यसले पक्कै पनि कृषक र पुष्प विक्रेताहरुको मन जित्नेमा आशावादी छौं,’ उहाँले थप्नु भयो ।



Tweet