Classified Ads
कोभिड-१९ अपडेट

नमोबुद्धका सबै वडामा भेटघाट चौतारी

Posted in स्थानीय, नमोबुद्ध on Nov14,2020


Source: बिनोद न्याैपाने

गाउँघरतिरका चौतारीहरु हराउँदै गइरहेका बेला नमोबुद्ध नगरपालिकाले अभियानकै रुपमा चौतारीहरुलाई स्थानीय सहभागिता पुनर्निर्माण गर्दै आएको छ ।

सोही क्रममा वडा नं २, आचार्य गाउँका स्थानीय युवाको सक्रियतामा ठुलीपोखरीमा झन्डै ३ लाख रुपैयाँको लागतमा चौतारी निर्माण गरेका छन् ।

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले सो चौतारीको उद्घाटन गर्नुहुँदै युवाहरूको सक्रियताबाट पोखरी, चौतारी संरक्षण लगायतका काम भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नु भयो, ‘नगरपालिकाले सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाइरहेको छ । स्थानीय युवाको कामले त्यसलाई अघि बढाउन टेवा पुगेको छ । त्यसैले नगरको समग्र विकासमा युवा पंक्तिसँग सहकार्य गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ’, शर्माले थप्नु भयो ।

कार्यक्रममा नमोबुद्ध–२ का वडा अध्यक्ष सन्जीव ढकालले चौतारी, पोखरी लगायत पुरातात्त्विक, धार्मिक महत्वका स्थानहरुको संरक्षणमा वडाले आवश्यक सहयोग गर्दै जाने नीति लिएको जानकारी गराउनु भयो ।

ठुली पोखरी संरक्षण उपभोक्ता समितिले आठ दिनको अवधिमै चौतारी निर्माण सम्पन्न गरेको हो । समितिका अध्यक्ष सन्जोग गौतमले भन्नु भयो, ‘युवालाई विकास निर्माणको काम दिँदा समयमै काम सकिने र पारदर्शी हुने उदाहरण यस चौतारी निर्माण कार्यले पुष्टि गरेको छ । त्यस्ेले पनि स्थानीय युवाको सक्रियता महत्त्वपूर्ण रहेको छ’, उहाँले थप्नु भयो ।

ठुली पोखरी संरक्षण उपभोक्ता समितिका संरक्षक उद्धवप्रसाद न्यौपानेले युवाहरूले गरेका यस्ता कार्यमा वडा र नगरले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य कृष्णचन्द्र आचार्य, नेकपा जिल्ला कमिटी सदस्य एवं नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, नमोबुद्ध ७ का वडा अध्यक्ष धर्मसिं तामाङ, वडा नं १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, समाजसेवी रामहरि आचार्य लगायतको उपस्थिति थियो । कार्यक्रमकै अवसरमा मौलिक खैजडी भजनसमेत प्रस्तुत गरिएको थियो ।


Tweet