Classified Ads
कोभिड-१९ अपडेट

देवी नै देवीहरुको बासस्थान रहेको बासडोल

Posted in स्थानीय, बनेपा, जीवनशैली on Nov13,2020


Source: रवीन्द्र तामाङ

बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १२ मा पर्ने प्राकृतिक, भौगोलिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक रुपमा पनि प्रसिद्ध बासडोल गाउँलाई ग्राम पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । हुन पनि बासडोल बहुधर्म रहेको गाउँ हो ।

वि.सं. २०६८ को जनगणना अनुसार यहाँ हिन्दू, बौद्ध, क्रिश्चियन, जैनलगायतका धर्मावलम्बीहरु रहेका छन् । बासडोलमा हिन्दू धर्मका गणेश, महादेव र देवी दुर्गामाताका मन्दिरहरु रहेका छन् भने बौद्ध धर्मावलम्वीहरुको गुम्बा, माने, स्तुप र बुद्ध प्रतिमाहरु रहेका छन् ।

त्यसै गरी बासडोलमा केही समय अघिसम्म क्रिश्चियनहरुको सङ्गति भवनहरु रहेका थिए भने जैन धर्मावलम्बीहरुको कुनै पनि मठमन्दिरहरु पाइएको छैन् । तापनि बासडोलका नागरिकहरुमा धार्मिक सद्भाव, सहिष्णुता र मेलमिलाप आजसम्म देख्न सकिन्छ ।

यस अङ्कमा हिन्दू धर्मको दृष्टिकोणबाट पनि ग्राम पर्यटनको लागि उपयुक्त स्थल रहेको स्थान बासडोल हो भनेर परिचय गराउने उद्देश्यले त्यहाँ शाक्त सम्प्रदायले मान्दै/पुज्दै आएका देवीथानहरुको सामान्य चर्चा गर्ने कोशिस गरिएको छ ।


१. कालीदेवी थानः

बासडोलको आनामाने गाउँमा (साविक वडा नम्बर ४ मा) कालीदेवी थान रहेको छ । दक्षिण पट्टि फर्किएको प्राकृतिक पहराको ढिस्कोमा देवीको थान रहेको छ । हाल उक्त स्थानलाई जस्तापाताको घर बनाएर राखिएको छ । देवीको थानमा काँइयो, ऐना, ध्वजा र त्रिशूलहरु चढाएको देखिन्छ ।

पातालदेवी अर्थात लाटादेवी आफ्नो दिदी कालीदेवीलाई भेट्न बिष्ट गाउँबाट आनामाने गाउँसम्म भेट गर्न बेलाबेलामा आउने गर्दछिन् भन्ने मान्यता रहेको छ । यसबाट आनामानेदेखि बिष्ट गाउँसम्म प्राकृतिक गुफा रहेको अनुमान लगाउन सकिन्छ । देवीको बलि दिएर वा नरिवल चढाएर वा सामान्य रुपमा पूजाआजा गरेमा विध्न बाधा हर्ने, मनोकामना पूर्ण हुने र बल मिल्ने विश्वास गरिन्छ ।

यी देवीको पूजा आजा गरेमा गाईबस्तु सुरक्षित हुने, कार्य सिद्ध हुने, मनोकामना पूर्ण हुने र बाघको भय नरहने विश्वास गरिन्छ । बिहीबार र शनिवार बिशेष र नवरात्रीमा भव्य रुपमा पूजा हुने यस देवी थान वरिपरिका घाँस, दाउरा काटेर प्राकृतिक दोहन गरेमा देवीले दण्ड दिन्छिन् भन्ने मान्यता समेत रहेको छ ।


२. चुनदेवी मन्दिरः

बासडोलको कुँवर गाउँमा देवीको मन्दिर रहेको छ । गन्धकूट शैलीको पश्चिमाभिमुख सानो मन्दिरमा सातवटा प्राकृतिक शिलाहरु रहेका छन् । जसमध्ये एउटा प्रमुख शिला चुनदेवीको रहेको छ । अन्य ६ वटा शिलाहरु चुनदेवीको दिदीबहिनीका हुन भनिन्छ ।

सात दिदीबहिनीको समागम भएको एक ढिक्के प्राकृतिक शिलाको बीचमा वि.सं. २०६१ मा भरत कुँवरले पित्तलको लक्ष्मीको मूर्ति राखिदिएको कुरा भित्तामा राखिएको बोर्डबाट ज्ञात हुन्छ । कुँवर थरीहरुले नित्य पूजा गर्ने यस मन्दिरमा बिहीबारको दिन पूजा, दर्शन कार्य गरेमा देवीले धनधान्य बनाउँछिन् भन्ने मान्यता रहेको छ ।


३. चण्डेश्वरीदेवी मन्दिरः

साविक बासडोलको वडा नं. १ को ढाड गाउँमा यस मन्दिर रहेको छ । पश्चिमाभिमुख चण्डेश्वरी मन्दिर रहेको परिसरमा तीनवटा मन्दिरहरु रहेका छन् । मन्दिरभित्र प्रवेश गर्नासाथ दाहिनेतिर सानो मठमा गणेशको मूर्ति रहेको छ । देब्रेतिर पश्चिमाभिमुख तीनवटा स–साना मन्दिरहरु रहेका छन् ।

यिनै मन्दिरहरुमध्ये बीचमा प्यागोडा शैलीको एक मन्दिरमा चण्डेश्वरीको सानो ढुङ्गे मूर्ति राखिएको छ । यस मन्दिरको दाहिने पाटी पट्टि शैलीको थानमा महादेवको शिवलिङ्ग रहेको छ । चण्डेश्वरी मन्दिरको देब्रेपट्टि अर्को प्यागोडा शैलीको सानो मन्दिर रहेको छ । जसमा राधाकृष्णको मूर्ति राखिएका छन् ।

यस मन्दिरका पुरानो पुजारी बच्चुराम सत्याल थिए । उनको मृत्यु भइसकेपछि भने उनका सन्तानहरुले १५/१५ दिनको पालो गरी नित्य पूजाका अतिरिक्त विशेष पूजाआजा गर्ने गरेका छन् ।

चण्डेश्वरीको प्राचीन मन्दिरलाई हालको नयाँ स्वरुपमा निर्माण गर्ने कार्य समितिले गरेको थियो । जसमा स्थानीयबासीहरुको पनि उल्लेखनीय भूमिका रहेको थियो भनिन्छ । कसै कसैले यस मन्दिरलाई बनेपाको चण्डेश्वरीको प्रतिकृति मन्दिर पनि भन्ने गर्दछन् । प्रतिकृति मन्दिर भए पूर्वाभिमुख अर्थात् बनेपातिर फर्किएको हुनुपर्नेमा त्यसो भएको भने पाइँदैन् ।

यस मन्दिरको पूर्वमा मोटर बाटो, पश्चिममा पाटी, उत्तरमा बाटो र दक्षिणमा पोखरी रहेको छ । देवीको मन्दिर भएकोले हरेक बिहीबार यस मन्दिरमा दर्शनार्थीहरु आउँछन् भने हरेक वर्षको चण्डी पूर्णिमा र जनै पूर्णिमामा सबै गाउँलेहरु मिलेर सामूहिक रुपमा बिशेष पूजाआजा, यज्ञ र होमहोमादि गर्ने गरेका छन् ।

यसरी देवीको पूजाआजा गरेमा शक्ति प्राप्त हुने, सिद्धि प्राप्त हुने र मनोकामना समेत पूरा हुने विश्वास ढाड गाउँका केसी र उप्रेती थरीहरुमा रहेको छ ।


४. बालकुमारीदेवीको थानः

बासडोलको गोदार गाउँमा बालकुमारीदेवीको थान रहेको छ । देउरालीबाट पूर्वतर्फ नागी डाँडा जाने उकालो बाटो १५ मिनेट जति हिँडेपछि देवीको थानमा पुग्न सकिन्छ । हाडे काफल र लाँकुरीको बोटमुनि ठूलो ढुङ्गा प्रतिष्ठापन गरिएको छ ।

पूर्वाभिमुख रहेको देवीको थान वरिपरि ढुङ्गे पर्खाल लगाएको छ । यी पर्खालहरुमा त्रिशूल, घण्टा र ऐनाहरु चढाएको पाइन्छ । थानलाई सुरक्षा गर्न जस्तापाताको घर निर्माण गरेर राखिएका छ ।

देवीलाई सौभाग्यका सामग्रीहरु राता कपडा, ऐना, काइँयोहरु चढाएर पूजा गरेको पाइन्छ । देवीको उत्पत्तिको सम्बन्धमा गोदार गाउँका थापाहरुका यसो भन्दछन् ।

देवीको उत्पत्ति आषाढ शुक्ल पूर्णिमामा भएको हो । उहिले खेती किसान गर्ने गोदार थापा थरीका चार छोराहरु थिए । जसमध्ये जेठो लाटो थियो । जसका कारण ऊ बस्तुभाउलाई वनजङ्गलमा लगेर हेर्ने र बस्तुभाउलाई घाँस दाउरा र सोत्तर गर्ने गर्दथ्यो ।

पूर्णिमाको एक दिनअघि उसले हाल मन्दिर भएको ठाउँमा माटोको चपरी हाल्नलाई कोदालीले खन्न थाल्यो । यसरी खन्दा उसको कोदालीले ढुङ्गा ताछिन पुग्यो । यसै बखत चट्याङ पर्यो । जसको आवाज उसको दुवै कानमा परेर ऊ बेहोस भएर जमिनमा पछारियो ।

राती अबेरसम्म पनि घर नपुग्दा कतै दाजुलाई बाघले त खाएन भन्ने ठानेर उनको खोजी गर्न घर परिवारका सम्पूर्ण सदस्यहरु लागे । खोज्दाखोज्दा दाजु रक्ताम्य भएर भएर ढलेको पाए । छिमेकी बोलाएर लाटोको शरीर ओल्टाई पल्टाई हेर्दा उनको शरीरमा कतै घाउ चोट देखिएन, मात्र बेहोस भएको पाए ।

यस्तै, नजिकै रहेको ढुङ्गाबाट पनि निरन्तर रगत बगिरहेको पाए । त्यसपछि हतारहतार नागी डाँडामा बस्ने एक चामू भन्ने आत्रेय गोत्रका बगाले थापा धामीलाई बोलाई जोखना हेराउन लगाए । जोखना हेर्दा साक्षात श्री बालकुमारी माताको उत्पत्ति भएको बताए ।

त्यसपछि बेहोस भएका बिरामीलाई फुकेर र क्षमा पूजा गरिदिए । त्यसपछि बेहोस भएका लाटोसँग बुझ्ने क्रममा उसले इसाराले सबै कुरा बताइदिए ।

त्यसपछि सबै गाउँले मिली सोही ठाउँमा खनेर हेर्दा ठूलो शिलामा कोदाली परेको ठाउँठाउँमा चर्केर रगत बगेको पाए । अनि सोही शिलालाई देवी मानेर थान बनाएर पूजाआजा गर्ने प्रचलन चल्यो । देवीले सपनामा पुजारी गोदार थापा नै हुनुपर्छ र तिमीहरुले मलाई राम्रोसँग मानमनितो गर्नु तिमीहरु सबैलाई राम्रो हुन्छ भनेकोले आजसम्म गोदार थरी थापाले नै पूजाआजा गर्ने गरेको पाइन्छ ।

देवीथान अगाडी सानो कुण्ड रहेको रहेको छ । जहाँ पहिले पहिले गोदार गाउँमा बिवाह, ब्रतबन्ध हुँदा तामाको भाँडाहरु सो कुण्डबाट गाउँलेहरुलाई प्राप्त हुने गर्दथ्यो, पछिपछि फोहोर हुन थाले पछि सो पनि प्राप्त हुन छोडेको कुरा स्थानीयहरु बताउँछन् ।

त्यसै गरी देवीको शिला रहेको थान पछाडि लाँकुरी र काफलको बोट रहेको छ । जहाँ पहिला पहिला काफल फल्थ्यो । स्थानीय केटाकेटीहरुले सो काफल टिपी खाने गर्थे ।

थानसँगै रहेको सानो कुण्डमा फोहोर र जुठो हुन थालेपछि काफल पनि फल्न छोडेको स्थानीयको भनाई छ । देवीको थान रहेको ठाउँमा मन्दिर बनाउनु हुँदैन कभन्ने किंवदन्ती रहेको छ । कुनै बेला मन्दिर बनाउन लाग्दा गजुर हाल्ने बखतमा भत्किएको बताउँछन् ।

पछि क्षमा पूजा गरेपछि पुजारीलाई सपनामा मन्दिरको चारहात भन्दा माथि गारो नउठाउनु भनेकोले गर्दा आजको दिनमा पनि भग्नावशेष रहि रहेको छ । हाल आएर त्यहा गोदार थापा, बिष्ट, खत्री, कार्की, राउत, महत, देउजा, बस्नेत, खड्कालगायत धेरै थर र गोत्रका मानिसहरु बसोबास गर्दै आएका छन् ।

उनीहरुले देवीको थानमा बडादशैंको फूलपातीका दिनमा क्षमा पूजा गर्दै आएका थिए । बडादशैंमा असुविधा भयो भनेर चैते दशैंको अष्टमीमा बाजा–गाजा गरेर क्षमा पूजा गर्न थालेका छन् । त्यहाँको गाउँ जङ्गल नजिकै भएर पनि आजसम्म बाघले कसैको जनधन पशु चौपायामा हमला भएको छैन र यो सबै बालकुमारीदेवीको कृपाले गर्दा हो भनिन्छ ।

बालकुमारीदेवीको मान मनितो गरेमा अनिकाल लाग्दैन, खडेरी पर्दैन, निसन्तान हुनु पर्दैन भन्ने मान्यता रहेको छ । यदि गाउँमा खडेरी पर्यो भने देवीको स्थानमा क्षमा पूजा र चरु हवन गरेमा पानी पर्दछ भन्ने मान्यता रहेको छ । देवी थान रहेको वरिपरि बाघ कराएको राती सुनिए पनि हालसम्म कसैको गोठमा पसेर पशुहरु हानी नोक्सानी गरेको छैन भनिन्छ ।


५. दक्षिणकालीको मन्दिरः

बासडोलको गोदार गाउँ, लप्टन डाँडामा दक्षिण कालीदेवीको सानो मन्दिर रहेको छ । स्थानीय शिवशरण थापाले दक्षिणकालीबाट ल्याएको ढुङ्गाको प्रतिस्थापन गरेर यस मन्दिर निर्माण गरेका हुन् ।

पूर्वाभिमुख गन्धकूट शैलीको यस मन्दिरभित्र दक्षिणकालीको प्रतिमूर्ति रहेको छ । हरेक शनिबार यस देवीको पूजाआजा गरेमा मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।


६.पाथीभरादेवी थानः

बासडोलको बासडोल गाउँमा पाथीभरादेवीको सानो मन्दिर रहेको छ । वि.सं. २०७७ बैसाखमा मल्पीकी लक्ष्मी केसी बस्नेतले यस मन्दिरको निर्माण गरेकी हुन् । उनले सङ्खुवासभामा रहेको पाथीभरादेवीको थानमा नपुगे पनि सपनामा देवीले दर्शन दिएर मन्दिर निर्माण गर्नू भनी आज्ञा भएकोले मन्दिर निर्माण गरेकी हुन् ।

पश्चिमाभिमुख गन्धकूट शैलीमा रहेको यस व्यक्तिगत मन्दिरमा पाथीभरादेवीको पितलको मूलमूर्ति रहेको छ । मन्दिरमा पाञ्चायनदेवीका साथमा राधा, कृष्ण र सरस्वतीदेवीको स–साना मूर्तिहरु पनि रहेका छन् । मन्दिरमा दिनहुँ नित्य पूजा गरिनुका साथै बिहीबारमा विशेष पूजाआजा गरिन्छ । देवीको पूजन, दर्शन र व्रत बसेमा धनधान्य हुनुका साथै मनोकामनाहरु पूर्ण हुने विश्वास गरिन्छ ।


७. पातालदेवी थानः

बासडोलको बिष्ट गाउँमा यस देवीस्थल रहेको छ । प्राकृतिक पहराको छाँगोमा रहेको यस थानमा तोकिएको पुजारी नभए पनि बिष्ट थरीहरुले दैनिक नित्य पूजाका साथै बिहीबार विशेष पूजाआजा र कुनै पनि चाडपर्वभन्दा अघि पूजाआजा गर्दै आएका छन् । पहरामा रहेको देवीको थानमा काँइयो, ऐना र त्रिशुल चढाएको देखिन्छ ।

यस थान रहेको ठाउँमा कुनै बेला ढुङ्गा फोर्ने क्रममा मानिसहरु लाटो/बहिरो भएको हुनाले यस देवीलाई लाटादेवी भन्ने गरेको पनि पाइन्छ । देवी थानमा एउटा प्राकृतिक दुलो रहेको छ । जसलाई पातालदेवी हिँड्ने दुलो भनिन्छ । पातालदेवी आनामानेमा रहेको कालीदेवी भेट्न जाँदा आउँदा यही दूलोको बाटो प्रयोग गर्ने गर्दछिन् भन्ने भनाइ रहेको छ ।

यसबाट त्यस क्षेत्रमा प्राकृतिक गुफा/ओडार रहेको हुन सक्छ भनेर भन्न सकिन्छ । उत्तरतर्फको पहराका ढुङ्गामा रहेकी यी देवीको पूजन, दर्शन र व्रत बसेमा गाईवस्तु राम्रो हुने, कार्यसिद्ध हुने, मनोकामना पूर्ण हुने र देवी दाहिने हुने र बाघको भय नरहने विश्वास विश्वास गरिन्छ ।

हरेक दिन नित्य, बिहीबार र शनिवार विशेष र नवरात्रीमा भव्य रुपमा पूजा हुने यस देवी थान वरिपरिका घाँस, दाउरा काटेर प्राकृतिक दोहन गरेमा देवीले दण्ड दिन्छिन् भन्ने मान्यता समेत रहेको छ ।


८.पलाञ्चोकदेवी थानः

बासडोलको उत्तरतर्फको डाँडामा पलाञ्चोकदेवीको थान रहेको छ । ठूलो गाउँ र विष्ट गाउँको सीमानामा रहेको यस थान रहेको स्थानमा लाँकुरी र चाँपका रुखहरु रहेका छन् । जसको फेदमा पलाञ्चोकदेवीको प्रतिष्ठापन स्वरुप दर्शन ढुङ्गा ठड्याएर राखिएको छ । जहाँ हरेक वर्षको वैशाख पूर्णिमा भव्य पूजा हुन्थ्यो ।

यस थानमा वि.सं. २०४८ अघि तामाङ झाँक्रीहरुले पूजा गर्दा ढ्याङ्ग्रो ठटाएर पलाञ्चोक भगवतीको मन्दिरतर्फ फर्केर मन्त्रोउच्चारण गरेर नाच्दै उफ्रदैँ बलि दिएर पूजा गर्ने गर्दथे । जो बडो रोचक हुने गर्दथ्यो ।

पछि यस पूजा वैशाख पूर्णिमा अर्थात् भगवान् बुद्धको जन्मदिनमा पर्ने भएकोले उनीहरुले मान्न छोडेकोले हाल यस थानमा सुनसान आएको हो भनिन्छ । लिच्छवि राजा मानदेवले काभ्रेको पलाञ्चोक डाँडामा शक्तिशाली भगवतीको मन्दिर स्थापित गरेका छन् । जसलाई पलाञ्चोक भगवती भनिन्छ । यस थानलाई पलाञ्चोकदेवीको प्रतिष्ठापन थान मानिन्छ ।

देवीको थानको नाममा आठ आना सार्वजनिक जग्गा रहेको कुरा बासडोलवासीहरु बताउँछन् । साँगा, भैसीपाटी, बनेपा र धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिने यस थानको नाममा रहेको जग्गाको सदुपयोग गरेर स्थानीयहरुले देवीको मन्दिर बनाउनु आवश्यक देखिन्छ ।


९.रक्तमालादेवी थानः

बासडोलको बिष्ट गाउँमा यस देवस्थल रहेको छ । प्राकृतिक पहराको छाँगोमा रहेको यस मन्दिरमा तोकिएको पुजारी नभए पनि विष्ट थरीहरुले दैनिक नित्य पूजाका साथै बिहीबार विशेष पूजाआजा र कुनै पनि चाडपर्वभन्दा अघि पूजाआजा गर्दै आएका छन् । मन्दिरको पहरामा रहेको देवीको थानको पूर्वपट्टि तीन वटा रुखहरु रहेका छन् । जसमा नागजस्तो आकृतिको च्याउ फल्ने गरेको स्थानीय बताउँछन् ।

पहरामा देवीलाई खुसी पार्न ऐना, त्रिशूल र कपडाका ध्वजाहरु चढाएको देख्न सकिन्छ । पहिले पहिले गाउँमा भोजभत्तेर हुँदा यस देवीको थानमा आएर पुकार गरेमा देवीको थानमा रहेको झाँक्रीले भाँडाकुँडाहरु उपलब्ध गराउने गरेको किंवदन्ती रहेको छ । पछि कुनै व्यक्तिले भाँडाकुँडाहरु जुठो नै ल्याएको भाँडाकुँडा दिने काम गर्न देवीले छोडेकी हुन भन्ने समेत मान्यता रहेको छ ।

बिष्ट थरी क्षेत्री गाउँमा रहेकोले देवीलाई उनीहरुले इष्टदेवीको रुपमा आस्थाका साथ पूजाआजा गर्ने गरेका छन् । प्राकृतिक स्थलमा उत्पति भएकोले होला यस देवीको मन्दिर निर्माण गर्नु परेको छैन । देवीथानको वरिपरि रहेका बोट बिरुवा, रुखआदि काट्नु परेमा बक्साएर मात्र काट्नु पर्ने मान्यता रहेको छ । नत्र जीउमा घाउ, खटिरा र डाबरहरु आउने गर्दछ भन्ने उनीहरुको मान्यता रहेको छ । बडादशंैको नवरात्रीमा बोका बलि दिने प्रचलन छ । देवीको पूजन, दर्शन र ब्रत बसेमा कायै सिद्ध हुने, मनोकामना पूर्ण हुने र देवी दाहिना भएर विजय हुने विश्वास गरिन्छ ।


१०. वनदेवी थानः

बासडोलको कार्की गाउँमा भीमसेनथानको दक्षिणपूर्र्वी दिशामा वनदेवीको थान रहेको छ । थानमा उत्तरपश्चिम दिशा फर्काएर पाँचवटा ढुङ्गाका शिलाहरु राखिएका छन् ।

देवीथानमा गाउँलेहरुका अतिरिक्त बाटो हिँडेका यात्रुहरुले समेत ढोग्ने गर्दछन् । देवीको दर्शनपूजन गरेमा हिंस्रक जनावरहरुबाट सुरक्षित होइन्छ भन्ने स्थानीयको मान्यता रहेको छ ।


११. सेतीदेवी थानः

बासडोलको बिष्ट गाउँमा यस देवी थान रहेको छ । थचक्क बसेको गाईको आकारको प्राकृतिक ढुङ्गोलाई सेतीदेवी भनिन्छ । वि.सं. २०६७/६८ तिर यस ढुङ्गोलाई छोपेर बिष्ट खलकहरुले सानो मन्दिर बनाएका छन् ।

पूर्वाभिुख निर्मित यस मन्दिरकी सेतीदेवीका दिदीबहिनीहरुमा कालीदेवी र पातालदेवी हुन भनिन्छ । सेतीदेवी आफ्नी दिदी पातालदेवीलाई भेटेर, बिष्ट गाउँमा रहेको आफ्नो थानमा रहेको गुफाबाट आनामानेमा रहेकी जेठीदिदी कालीदेवीलाई भेट्न जानेआउने गर्दछिन् भन्ने गरिन्छ ।

यस थानमा तोकिएको पुजारी नभए पनि विष्ट थरीहरुले गाईको दुध चढाएर पूजाआजा गर्ने प्रचलन छ । थानमा बिष्टथरी खलकमध्ये कोही न कोहीले दैनिक नित्य पूजाका साथै बिहीबार र शनिबार विशेष पूजाआजाका साथै बडादशंैको नवरात्रिमा बलि र पूजाआजा गर्ने गर्दछन्


१२. संसारीदेवीमाईः

बासडोलको अधिकांश गाउँमा संसारीदेवीमाईको थान रहेको छ । लाँकुरीको रुखमुनी चार/पाँचवटा ढुङ्गाहरु ठड्याएर राखिएको देखिन्छ । असारमसान्तभित्र पूजा गरिन्छ । पाठीको बलि दिएर पूजा गर्ने गर्दछन् ।

देवीको पूजा गरेमा बालबालिकाहरुलाई शितला रोग, झाडापखाला र देशानमसान लाग्दैन भन्ने मान्यता रहेको छ ।

(सम्पदा संस्कृतिका अध्येता तामाङको बासडोल नामक प्रकाशोन्मुख पुस्तकबाट साभार)

प्रतिक्रियाको लागिः rabindratamang@gmail.com


काभ्रेपलाञ्चाेकबाट शुक्रबार प्रकाशित हुने बेथानचाेक साप्ताहिकबाट साभार गरिएकाे


Tweet