Classified Ads
कोभिड-१९ अपडेट

मानसागर ट्रष्टको सम्मान पनौतीका सुरेश सैंजुलाई

Posted in स्थानीय, पनौती, जीवनशैली on Nov16,2020


Source: फोटोहरुः गोपाल वैद्य र निजन राजकर्णिकार

मानसागर ट्रष्ट, पनौतीले पहिलो पटक पनौती–७ का समाजसेवी एवं हलिं नेवाः गुथी, पनौतीका अध्यक्ष सुरेश सैंजुलाई मानसागर ट्रष्ट–वर्ष व्यक्तित्व २०७७ ले सम्मान गरेको छ ।

सम्मानसहित उहाँलाई ट्रष्टले १० हजार रुपैंया नगदसमेत प्रदान गरेको हो ।

नेपाल संवत ११४१ को अवसरमा ट्रष्टले आयोजना गरेको कार्यक्रममा सोमबार पनौतीका नगर प्रमुख भीम न्यौपानेले सैंजुलाई सम्मान पत्र प्रदान गर्नु भएको हो ।

पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नगरपालिकाले आवश्यक कार्यहरुको थालनी गरिसकेको उल्लेख गर्नुहुँदै न्यौपानेले भन्नु भयो, ‘पनौती भाषा, कला र संस्कृतिमा समृद्ध रहँदै आएको छ । यीनै कार्यहरुको निरन्तरतासहित समाजमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रमले अरुलाई समेत प्रेरणा मिल्दै जाने आशा गरेको छु । हाम्रो कार्यकालमा पनौतीमा करिडोर, एकीकृत खानेपानी, बनेपा–पनौती–खोपासी सडकलाई राजमार्गमा स्तरोन्नति र निर्माण सम्पन्न हुनेछ’, उहाँले थप्नु भयो ।

सो अवसरमा सम्मानित व्यक्तित्व सैंजुले पनौतीमा आफूले सकेको योगदान गरेको उल्लेख गर्नुहुँदै पहिलो पटक आफूलाई ट्रष्टले योग्य सम्झेकोमा धन्यवादन दिनु भयो ।

कार्यक्रममा पनौती वातावरण, पर्यटन र सरसफाई (वापस) अभियन्ता राजाराम सैंजुले योमरीको उद्गमस्थल लगायत पुरातात्त्विक महत्त्वका सम्पदाहरुको संरक्षणमा युवावर्गहरुले भूमिका खेलिरहेको बताउनु भयो ।

पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पनौती शहरमा आयोजना हुने कला, संस्कृति र भाषका कार्यक्रमहरुले नगरलाई चिनाउनका लागि सहयोग हुँदै आएको बताउनु भयो ।

पनौतीका समाजसेवी, भाषासेवी तथा शिक्षा क्षेत्रका सुधारक मानसागर श्रेष्ठको स्मृतिमा परिवारले स्थापना गरेको ट्रष्टमा परिवारका सदस्यहरुले अक्षय कोष स्थापना गरेका छन् ।

पनौतीमा उल्लेख्य योगदान गर्ने नगरवासीहरुमध्ये एक जनालाई वर्षेनीयसै कोषबाट वर्ष व्यक्तित्व घोषणा र नगद प्रदान गर्ने योजना रहेको स्वर्गीय मानसागरका जेष्ठ सुपुत्र एवं फोटो पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिनु भयो ।

सम्मान कार्यक्रम ट्रष्टकी अध्यक्ष सुश्री मोहनप्यारी श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा उहाँले कार्यक्रमका प्रमुख अतिथिलगायत अतिथिहरुलाई पनौतीका दृश्यहरुको फोटो मायाको चिनो स्वरुप प्रदान गर्नु भएको थियो ।


Tweet