Classified Ads
कोभिड-१९ अपडेट

साइक्लिङ र प्याराग्लाइडिङको ‘हब’ बन्दै बिहाबर क्षेत्र

Posted in स्थानीय, पनौती, जीवनशैली on Nov20,2020


पनौती नगरपालिकाको साबिकका कुशादेवी र रयाले गाविस (हाल वडा नं १, २ र ३) लाई विहाबर क्षेत्र भनेर चिनिन्छ । यतिखेर यो क्षेत्रलाई साहसिक र रोमाञ्चक पर्यटकीय गन्तव्य बनाउनका लागि यहाँका जनप्रतिनिधिहरु र स्थानीयहरु जुटिरहनु भएको छ ।

यसै कार्यलाई अघि बढाउनका लागि यतिखेर साइक्लिङ र प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न लागिएको छ । यसमा पनौती नगरपालिकाको पर्यटन समितिका संयोजक एवं वडा नं २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले अग्रसरता लिइरहनु भएको छ ।

उहाँले भन्नु भयो, ‘काठमाडौं उपत्यकानजिकैको पर्यटकीय गन्तव्य बनाउनका लागि बिहाबरक्षेत्रमा हामीले ललितपुरको गोदावरीदेखि बिहाबरक्षेत्र हुँदै नमोबुद्धसम्म पुग्ने साइक्लिङ रुटको तयारी अन्तिम अवस्थामा पुर्याका छौं । अब लट्ठाभन्ज्याङबाट २ सय मीटरमात्रै रुट जोडिन बाँकी छ । कोभिडका कारणले ढिलो भएको थियो । अब चाँडै सो कार्य सम्पन्न गर्छौं’, अधिकारीले थप्नु भयो ।

साइक्लिङसँगै यस क्षेत्रमा नयाँ साहसिक पर्यटनका रुपमा पाराग्लाइडिङलाई प्रवद्र्धन गर्न लागिएको छ । परीक्षणका रुपमा २०७५ वैशाखमा पनौती–२ स्थित गुर्दुम डाँडाबाट पाराग्लाइडिङ उडान गरिएको थियो । त्यतिखेर गुर्दुमडाँडाबाट ७ किलोमिटर तल कुशादेवी बजारसम्म उडान भरिएको थियाे ।

त्यसलगत्तै समुन्द्री सतहबाट २४ सय मीटर उचाईमा फुल्चोकीको काखैमा रहेको गुर्दुमडाँडाबाट व्यावसायिक रुपमा पाराग्लाइडिङ गर्न सम्भव भएको निर्क्यौल निकालिएको थियो । सोही अनुसार पनौती नगरपालिकाका साथै जनप्रतिनिधिहरुले आ–आफ्नो सम्पर्कमा रहेका पाराग्लाइडिङ व्यवसायीहरुलाई बिहाबरमा व्यवसाय सुरु गर्न आमन्त्रण गर्दै आएका थिए ।

वडाध्यक्ष अधिकारी भन्नुहुन्छ, ‘बाह्य व्यवसायीहरुले एकै पटक लगानी गर्न नरुचाएको हुन सक्ने अनुमान गर्दै समिति र नगरपालिकाले स्थानीयस्तरमै पाराग्लाइडिङ व्यवसायीहरु तयार गर्ने निर्णय लियौं । सोही अनुसार हामीले पनौती वडा नं २ र ३ का पाँच जना युवालाई पाराग्लाइडिङको प्रशिक्षण लिन पठाएका छौं’, उहाँले थप्नु भयो ।

पनौती नगरपालिकाले आह्वान गरेको सूचनाअनुसार आवेदकमध्येबाट ५ जना युवाहरुलाई छनौट गरी पाराग्लाइडिङ तालिममा भाग लिनका लागि शुक्रबार बिदाई गरिएको छ । नगरप्रमुख भीम न्यौपाने र वडाध्यक्ष अधिकारीले युवाहरुलाई बिदाई गर्नु भएको हो । उहाँहरुले स्याङ्जास्थित दी बाबु एडभेन्चर्स इन्टरनेसनल स्कूल/रिसोर्टमा तालिम लिनु हुनेछ ।

नगर प्रमुख न्यौपानेले भन्नु भयो, ‘स्कूलले प्रति व्यक्ति अढाई लाख रुपैंया तालिम शुल्क लिने रहेछ । हाम्रो वडाध्यक्षको जानपहिचान भएकाले छुट गरेर १ लाख ८० हजार शुल्क लाग्ने भएको छ । यसमा नगरपालिकाले प्रति व्यक्ति ९० हजार र सहभागीले ९० हजार रुपैंया व्यहोरेर तालिम लिनेछन्’, उहाँले थप्नु भयो ।

तालिममा पनौती–२ का सञ्जय आचार्य, सन्तोष आचार्य र ध्रुव सापकोटाका साथै पनौती–३ बाट करण तामाङ, बिजय बजगाईं छनौट हुनु भएको हो । उहाँहरुले १५ दिन अवधिको तालिम दी बाबु एडभेन्चर्स इन्टरनेसनल स्कूलमा लिनु हुनेछ । सैद्धान्तिक तालिम स्कूल÷रिसोर्टमा र प्रयोगात्मक तालिम भने तालिमे डाँडाहरुमा हुनेछन् ।

तालिमबाट फर्केपछि युवाहरुलाई कम्पनी दर्तालगायत सहुलियतको ऋण उपलब्ध गराउनका लागि नगरपालिकाको पर्यटन समितिले सहयोग गरिदिने समितिका संयोजक अधिकारीले बताउनु भयो ।

हेर्नुस कुशादेवी बजार पाराग्लाइडिङबाट(नारायण दाईकाे युट्युब):

https://www.youtube.com/watch?v=AebE-8evYQ8


Tweet