Classified Ads
कोभिड-१९ अपडेट

अस्पतालको नाममा जग्गा नभएका स्थानीय तहलाई राहत

Posted in राष्ट्रिय / सङ्घ on Nov20,2020


सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ संसोधन गर्दै यस्तो निर्णय भएको बताउनु भयो ।

मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, 'अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो।'

सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ को दफा १२ को उपदफा (३) लाई संशोधन गर्दै ‘स्थानीय तह अन्तर्गत स्थापना हुने ५ देखि १५ शैयाको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’ भन्ने प्रतिवन्धात्मक वाक्यांश थप गरिएको जानकारी दिनु भयो ।

मन्त्रालयले स्थानीय सरकारसँगको साझेदारीमा अस्पताल भवन बनाउनका लागि मुलुकभरका ३ सय ९६ वटा स्थानीय तहमा बन्ने भवनको मंसिर १५ गते एकै दिन शिलान्यास गर्ने निर्णय पनि गरेको छ । अस्पतालका भवन पूर्वाधारको निर्माण तथा डिजाइनमा नेपाल राष्ट्रिय भवन संहिता, २०६० अनिवार्य पालना भएको हुनु पर्ने मन्त्रालयबाट जारी स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसारको भवन संहितासमेत पालना हुने गरी भवन बनाउनका लागि न्यूनतम ९ रोपनी जग्गा हुनैपर्ने अनिवार्य गरिएको छ । तर, कतिपय स्थानीय तहमा रहेका साविकका स्वास्थ्य चौकीहरु थोरै जग्गामा सञ्चालन हुँदै आएका थिए ।


काभ्रे जिल्लामा ५ वटा स्वास्थ्य चौकी अस्पताल बन्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आार्थिक वर्षमा काभ्रेपलाञ्चोक जिल्लाका ५ वटा स्थानीय तहका स्वास्थ्य चौकीहरुलाई प्राथमिक अस्पतालमा स्तारोन्नतिसहित भवन निर्माण गरिदिने भएको छ ।

यीनमा धुलिखेल नगरपालिकास्थित काभ्रे स्वास्थ्य चौकी, खानीखोलास्थित तालढुङ्गा स्वास्थ्य चौकी, भुम्लुस्थित भुम्लुटार स्वास्थ्य चौकी, महाभारतस्थित घर्तीछाप स्वास्थ्य चौकी र रोशीस्थित खहरेपाँगु स्वास्थ्य चौकी रहेका छन् ।


Tweet